अख्तियारकाे मुद्दा बाेकेर रामकुमारी झाँक्रीकाे प्रचारमा गुल्मीका शेषकान्त – Nepal Press

अख्तियारकाे मुद्दा बाेकेर रामकुमारी झाँक्रीकाे प्रचारमा गुल्मीका शेषकान्त

माधव नेपालले भने- एमालेले संरक्षण नगरेकाले हाम्रोमा आउनुभयो

रुपन्देही । अख्तियारको कारबाही सूचीमा परेपछि तनाबमा रहेका नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य शेषकान्त गौतम केही दिनअघि एमालेका उम्मेदार रहेका गोकर्ण विष्टलाई सहयोग नगरी सत्ता गठबन्धनको उम्मेदार रहेकी नेकपा एसकी सचिव रामकुमारी झाँक्रीलाई सहयोग गर्ने घोषणा गरे ।

अख्तियारले कारबाही गर्ने भएपछि सत्ता गठबन्धनको साथ लागेको रहस्य खुलेको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले नेता गौतमको एमालेमा संरक्षण नभएकैले आफ्नो पार्टीमा आएको बताएका छन् ।

एमाले सत्तामा रहँदा निरन्तर लाभको पदमा रहेका गुल्मीका गौतमले पत्रकार सम्मेलन गरेर ‘म एमालेमै छु तर रामकुमारी झाँक्रीलाई जिताउन सघाउँछु’ भनेपनि अध्यक्ष नेपालले पार्टीमा आएको बताए । ‘एमाले सुधार्न गौतमले खोज्नुभएको थियो तर के संभव हुन्थ्यो र अब सकिएन भनेर हामीसँग आउनुभयो’ नेता नेपालले भने ।

उनको यो घोषणासँगै गौतम एमाले छोडनुको मुख्यकारण अख्तियारको कारबाहीबाट उम्कने योजनाका साथ भएको एमाले कार्यकर्ताहरुले बताएका छन् ।

अख्तियारले अदालतमा मुद्दा दायर गरेपछि सत्ताको शरण खोजिरहनु भएको थियो भने एमाले गुल्मीले स्थानीय तहको निर्वाचनको बेला पार्टीका उम्मेदवार हराउन लागेको भन्दै कारबाहीको लागि सिफारिस गरेकोले एमालेकाविरुद्ध लाग्नु भएको हो ‘ एमाले गुल्मीका एक नेताले भने ।

बिगतमा बामदेव गौतम एमालेको तर्फबाट नेतृत्व गरेर सरकारमा जाँदा राष्ट्रिय अनुसन्धान विभाग तथा गृहमन्त्रालय मातहतको लागूऔषध नियन्त्रणको प्रमुखसमेत रहेका गौतम पछिल्लो पटक ओली नेतृत्वको सरकार बनेपछि कफी विकास बोर्डको कार्यकारी निर्देशक थिए ।

गौतम चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक रहेका बेला अधिकारको दुरुपयोग गरी कर्मचारी नियुक्तिमा बदनियतपूर्ण कार्य गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले अदालतमा मुद्दा दायर गरेसँगै तनावमा रहेका गौतम एमाले नेताहरुसँग आफूलाई जोगाउन निरन्तर आग्रह गर्दै आएकोमा एमाले नेताहरुले अख्तियारको बिषयमा हात नहाल्ने बताएपछि एमालेसँग असन्तुष्ट थिए ।

गौतमकाविरुद्ध गएको जेठ २६ गते आफै पदपूर्ति समितिको संयोजक भई पदको दुरुपयोग गरी योग्यता नपुगेको व्यक्तिलाई कर्मचारी नियुक्ति गरेको भन्दै मुद्दा दायर गरिएको थियो ।

अख्तियारले गौतमले कर्मचारी नियुक्तिमा आर्थिक लाभ लिई योग्यता नपुगेको व्यक्तिको फारम स्वीकृत गर्ने र योग्यता नपुगेका व्यक्तिहरुको तथ्यलाई लुकाईछिपाई बदनियतपूर्ण कार्य गरेको भन्दै गौतमकाविरुद्ध अभियोग पत्र दायर गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर