कसले रोक्ला अर्जेन्टिनाको गतिलाई ! – Nepal Press
विश्वकप फुटबल

कसले रोक्ला अर्जेन्टिनाको गतिलाई !

दोहा । ४० महिना भइसक्यो, अर्जेन्टिनाले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा एउटा पनि खेल हारेको छैन । यसबीचमा ८/१० वा १५/२० हैन, ३५ खेल खेलिसकेको छ । सन् २०१९ को जुलाई ३ तारिखमा भएको कोपा अमेरिका सेमिफाइनलमा ब्राजिलसँग २-० गोलले पराजित भएयता अर्जेन्टिनाले एक खेल पनि हारेको छैन । यसबीचमा १० खेल बराबरी खेलेको छ । एक खेल टाइब्रेकरमा जितेको थियो ।

अबका तीन खेल पनि नहारे अर्जेन्टिना सिनियर अन्तर्राष्ट्रियमा लगातार सर्वाधिक खेल नहार्ने विश्व कीर्तिमान बनाउन सफल हुनेछ । त्यो अवस्थामा इटालीको नाममा एक वर्षअघि बनेको कीर्तिमान तोडिनेछ । इटालीले लगातार ३७ खेलसम्म नहारेर विश्व कीर्तिमान बनाएको थियो ।

सन् २०२१ को अक्टोबर ६ तारिखमा भएको यूईएफए नेसन्स लिगको खेलमा स्पेनले इटालीको उक्त कीर्तिमान यात्रामा रोक लगाएको थियो । त्यसअघि इटालीले नै स्पेनको नाममा रहेको ३५ खेलको कीर्तिमान तोडेको हो ।

स्पेनसँग पराजय व्यहोरेयता युरो कप र कोपा अमेरिका विजेताबीच भएको भिडन्तमा इटालीले अर्जेन्टिनासँग ३-० गोलको हार व्यहोरेको थियो । अर्जेन्टिनाले गत वर्ष नै ब्राजिललाई फाइनलमा हराएर सिनियर अन्तर्राष्ट्रिय फुटबलमा २९ वर्षपछि पहिलो उपाधि जित्न सफल भएको थियो ।

४० महिनामा को-को सँग खेल्यो ?

अर्जेन्टिनाले पछिल्लो अपराजित यात्रामा दुईवटा उपाधि जितेको छ, कोपा अमेरिका र फाइनलिसिमा । यो यात्रामा अर्जेन्टिनाले अधिकांश खेल दक्षिण अमेरिकी टोलीसँग खेलेको छ ।

दक्षिण अमेरिकीबाहेकका टोलीसँग खेलेका खेलमा इटालीबाहेक मेक्सिकोलाई ४-० र जर्मनीसँग २-२ गोलको बराबरी खेलेको थियो । यस्तै जमैकालाई ३-०, होन्डुरसलाई ३-० र इस्टुनियालाई ५-० गोलले पराजित गरेको थियो । दक्षिण अमेरिकी टोलीमध्ये उरुग्वेलाई तीनपटक तथा ब्राजिल र चिलीलाई दुईदुई पटक हराएको छ । कोलम्बिया पनि दुईपटक पराजित भएको छ ।

अर्जेन्टिनाले पछिल्ला लगातार चार खेल जितेको छ । ८ खेलमा एउटामात्र बराबरी खेलेको छ । पछिल्ला २१ खेलमा तीनपटक बराबरीमा रोकिएको छ । अर्जेन्टिनाले एक सातापछि कतारमा सुरु हुने २२औं विश्वकपको समूहगत चरणमा साउदी अरब, मेक्सिको र पोल्यान्डसँग खेल्नेछ ।

त्यसअघि मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा कात्तिक ३० गते यूएईसँग खेल्नेछ । यूएईसँग हार नव्यहोरेको अवस्थामा अर्जेन्टिनाको कीर्तिमानी यात्रा विश्वकपसम्म लम्बिनेछ ।

अर्जेन्टिनाले विश्वकपको समूहगत चरणमा पहिलो खेल साउदी अरब, दोस्रो खेल मेक्सिको र तेस्रो खेल पोल्यान्डसँग खेल्दैछ । सिनियर अन्तर्राष्ट्रिय फुटबलमा यूएई र अर्जेन्टिनाबीच हालसम्म प्रतिस्पर्धा भएको छैन । यूएईले खेलेका पछिल्ला ७ खेलमा ५ हार, एक जीत र एक बराबरीको नतिजा निकालेको छ । साउदी अरबसँग भएका दुईवटा भिडन्तमा अर्जेन्टिनाले एक जीत र एक बराबरीको नतिजा निकालेको छ ।

यस्तै मेक्सिकोसँग भएका पछिल्ला चार खेलमा तीन जीत र एक बराबरीको नतिजा निकालेको छ ।

पोल्यान्डको भने गौरवशाली इतिहास छ । अर्जेन्टिनासँग भएका हालसम्मका तीन भिडन्तमा दुई जीत र एक हारको नतिजा निकालेको छ । अन्तिमपटक सन् २०११ मा भएको प्रतिस्पर्धामा पोल्यान्ड २-१ गोलले विजयी भएको थियो ।

अर्जेन्टिना विश्वकपमा ८ वर्षपछि फाइनल र ३८ वर्षपछि उपाधि जित्ने प्रयासमा छ । अर्जेन्टिनाले सन् १९८६ मा पश्चिम जर्मनीलाई हराएर अन्तिमपटक विश्वकप जितेको थियो । सन् त्यसयता सन् १९९० र २०१४ को संस्करणमा फाइनल पुगे पनि उपाधि जित्न सकेको थिएन ।

पर्खालजस्ता गोलरक्षक मार्टिनेज, उच्च लयमा मेस्सी

अर्जेन्टिनाले ३५ खेलको अपराजित यात्रामा आधाभन्दा कम खेल संख्यामा गोल व्यहोरेको छ । अर्जेन्टिनाले १४ खेलमा गोल व्यहोरेको थियो भने व्यहोरेको गोलको संख्या १६ छ । अर्जेन्टिनाले पछिल्ला चार खेलमा एक गोल पनि व्यहोरेको छैन भने यी खेलमा १४ गोल गरेको छ । गोलरक्षक एमिलियानो मार्टिनेज शानदार लयमा देखिन्छन् ।

उनकै उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले गत वर्ष कोपा अमेरिकाको उपाधि जितेको थियो । सन् २०२१ मा मात्र सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेव्यु गरेका मार्टिनेजले अर्जेन्टिनाको सिनियर राष्ट्रिय टोलीबाट १८ खेल खेलेका छन् । अग्रपंक्तिमा लियोनल मेस्सी र लौतारो मार्टिनेज उच्च लयमा छन् ।

सिनियर अन्तर्राष्ट्रिय फुटबलमा मेस्सीले १६४ खेल खेल्दै ९० गोल गरेका छन् भने मार्टिनेजले ४० खेलमा २१ गोल गरेका छन् । मेस्सीले अर्जेन्टिनाका पछिल्ला तीन खेलमा ९ गोल गरेका छन् । मध्यक्रमका रोड्रिगो डी पल र एन्जेल डी मारिया पनि अर्जेन्टिनाका महत्वपूर्ण सदस्य रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर