उम्मेदवारसँग अविश्वस्त मुसहर : भन्छन्- वाचा पूरा गर्दैनन्, सबै ठग्नमात्रै आउँछन् (भिडिओ) – Nepal Press
मतदातामाझ नेपाल प्रेस

उम्मेदवारसँग अविश्वस्त मुसहर : भन्छन्- वाचा पूरा गर्दैनन्, सबै ठग्नमात्रै आउँछन् (भिडिओ)

गोलबजार (सिरहा) । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै गाउँठाउँमा चाडपर्व आएजस्तै भएको छ । चिसो बढ्दैछ, चुनावी माहोल तात्दैछ । साँझ-बिहान फुर्सदका वेला मानिसहरु चुनावी चर्चा परिचर्चामा व्यस्त देखिन्छन् । सिरहाको गोलबजार नगरपालिकाको सडक छेउका घरका भित्ताहरु र बिजुली पोलहरु पार्टीको चुनावी प्रचार सामग्रीले रंगिएका छन् ।

सिरहा क्षेत्र नम्बर ३ मा पर्ने गोलबजारबाट करिब ३ किलोमिटर दूरीमा पर्छ मुसहर बस्ती । बुधबार त्यहाँ पुग्दा बस्ती नजिकै एमाले उम्मेदवार लीलानाथ श्रेष्ठको चुनावी सभाको तयारी चलिरहेको थियो । तर, उक्त बस्तीका मानिसहरु बेखबर थिए । यहाँ लीलानाथसँगै सत्ता गठबन्धनबाट माओवादी केन्द्रका विश्वनाथ साह चुनावी मैदानमा छन् ।

स्थानीय ४० वर्षीय शम्भु सदा घरकै अगाडि घाटमा थकाइ मार्दै थिए । उनी रुख काट्ने काम गर्छन् । त्यसबाटै हुने आम्दानीले उनी परिवार पाल्छन् । मंसिर ४ मा चुनाव हुँदैछ भन्ने उनलाई थाहा छ । तर, मत कुन उम्मेदवारलाई दिने ? उनले निर्णय गरिसकेका छैनन् ।

‘यहाँ खानेपानीको समस्या छ । एउटै धारामा ६० परिवार निर्भर छौं । कहिलेकाहीं घण्टौं पालो कुर्नुपर्छ । बल्ल पानी पाइन्छ’, शम्भु भन्छन्, ‘नेताहरु भोट माग्न आउँदा बोरिङ जडान गरिदिने जस्ता लोभलालच देखाउँछन् । तर, जितेर गएपछि फर्केर कहिल्यै आउँदैनन् ।’

२०७४ सालमा वाम गठबन्धनलाई भोट दिएको उनले बताए । ‘त्यति वेला पनि नेताहरुले खानेपानीको समस्या समाधान गर्ने र पोखरी पनि खनाइदिने भनेका थिए । गल्लीगल्लीमा सडक बनाइदिने सपना देखाएका थिए । तर, चुनाव सकेपछि नेताहरु कहिल्यै आएनन्’, उनले थपे, ‘विगतमा ठगिएकाले अहिले नेताहरुमाथि विश्वास नै लागिरहेको छैन ।’

जुनसुकै पार्टीका उम्मेदवार किन नहोस्, उनीहरु चुनावमा दलित बस्तीका मतदातालाई अनेक लोभलालच दिन्छन् । अझ केही उम्मेदवारले चुनावको अन्तिम दिन मासु र दारु दिएर उनीहरुको मत किन्छन् । शम्भु मासु र दारु खुवाउनेलाई नै भोट दिने गरेको स्वीकार्छन् ।

‘एक दिन मासु र दारु दिन्छन् । त्यसमै सब बिकिहाल्छन्’, मुस्कुराउँदै उनले भने, ‘चुनावको एक/दुई दिन बाँकी रहँदा खुवाउँछ ।’

उनका अनुसार दारु र मासु घरमा पठाइँदैन । उम्मेदवारसँग जुलुसमा गएपछि दिइन्छ ।

अर्का स्थानीय बिसे सदा पनि खानेपानीकै ठूलो समस्या झेलिरहेको बताउँछन् । उनले भने, ‘घर छैन । जसोतसो बसिहाल्छु । तर, पानीविना कसरी जिउन सक्छु र ? यहाँ खानेपानीकै चरम संकट छ ।’

विगतमा नेताहरुले बोरिङ दिन्छु भनेको तर अहिलेसम्म नदिएको उनले पनि गुनासो गरे । यो पटक भोट माग्न आउने नेताहरुसँग पाहुना घर र खानेपानीको समस्या समाधान गर्न बोरिङ माग्ने उनले सोचेका छन् ।

तर, विगतमा ठगिएकाले यसपटक पनि समस्या समाधान गरिदिनेमा उनी विश्वस्त छैनन् ।

बिसे जस्तै नेतामाथि सुर्जी सदालाई पनि विश्वास लाग्दैन । उनी गृहिणी हुन् । उनी भन्छिन्, ‘नेताहरू आउँछन् । भोट दिनुहोला भन्नुहुन्छ । तर, जसलाई मन लाग्छ उसैलाई दिन्छु । अरु के गर्नु त ? हामी गरिबलाई कसैले केही दिँदैनन् । मन नलागे भोट नै नदिन सक्छु ।’

त्यस्तै सीता सदाले पनि २०७४ को चुनावमा नेताहरुबाट ठगिएको गुनासो गरिन् । उनले भनिन्, ‘अब नेताहरु आएपछि भोट नै नदिने भन्छु । वाचा केही पूरा गर्दैनन्, सबै ठग्नमात्रै आउँछन् ।’

यो बस्तीमा एसएलसी उत्तीर्ण कोही छैनन् । अहिले पनि धेरैले छोराछोरीलाई पढाएका छैनन् । सरकारको विद्यालय भर्ना अभियान पनि यहाँ पुगेको छैन । यद्यपि सीताले आफ्ना दुई छोरा र दुई छोरीलाई पढाएकी छन् ।

उनी भन्छिन्, ‘छोराछोरीलाई धेरै त पढाउन सक्दिनँ । तर, काम चलाउन जति सक्छु, त्यति पढाउँछु ।’

निजी विद्यालयमा छोराछोरी पढाउने हैसियत सीतासँग छैन । उनका श्रीमान ज्याला मजदुरी गर्छन् । त्योमात्र आम्दानीको स्रोत हो ।
तर, सामुदायिक विद्यालयमा राम्रो पढाइ नहुने उनको गुनासो छ । नेताहरुसँग पनि विद्यालय सुधार्न भनिरहेको तर उहाँहरुबाट सम्बोधन नभएको उनले बताइन् ।

बस्तीकै असर्फी सदा आँखा देख्दैनन् । करिब १० वर्षअगाडि श्रीमतीको निधनपछि उनी एक्लै छन् । उनको एकमात्र छोरीको बिहे भइसकेको छ । ६५ वर्षीय असर्फी फुसको छाप्रोमा बस्छन् । छाप्रो बस्न लायक छैन । मुनि पानी जम्छ । त्यसैले उनले घरभित्रै मचान बनाएका छन् ।

‘घर बनाइदिन्छु भनेर लेखेर लगेका थिए । तर, खै अहिलेसम्म बनाइदिएको छैन ?’, उनले गुनासो गरे ।

चुनावका बेला उम्मेदवारहरुले दारु र मासु पनि खुवाउँछन् होइन भन्ने जिज्ञासामा उनले भने, ‘हो हो । दिन्छ । अहिले उम्मेदवारले रिर्हसल गर्दैछन् । अहिले खुवाउने हो कि जितेर थाहा छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर