आर्थिक क्रान्ति गर्न गोरखा उपयुक्त ठानेको छु : प्रचण्ड – Nepal Press

आर्थिक क्रान्ति गर्न गोरखा उपयुक्त ठानेको छु : प्रचण्ड

गोरखा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले राजनीतिक अवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएकोले आर्थिक क्रान्ति सम्पन्न गर्न गोरखा आएको बताएका छन् ।

बिहीबार जिल्लाको अजिरकोट गाउँपालिका वडा नम्बर १ स्थित याच्चोकमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक परिवर्तनको तयारी गोरखाको भूगोलबाट गरेको बताए ।

उनले भने, ‘राजनीतिक परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन, जनतालाई समृद्ध बनाउन र देशमा आर्थिक क्रान्ति गर्न गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा आएको हुँ ।’

उनले विद्युतको राष्ट्रिय प्रसारण लाइन ल्याउन आफूले पहल गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारी वृद्धि गर्ने, गाउँमा जडिबुटी उद्योग स्थापना गर्ने, हिमाली पर्वतीय पर्यटकीय क्षेत्रको विकास गर्ने र समृद्धिको सन्देश गोरखाबाट देश र विश्वभरी दिने बताए ।

निर्वाचनबाट चुनिएर समग्र गोरखाको विकास निर्माणलाई पूर्णता दिने भन्दै उनले भने, ‘मैले यसअघि जितेको चितवनमा ६११ किमि बाटो कालोपत्रे भएको छ। म हिडेको धुलेबाटोहरु मेरै कार्यकालमा कालोपत्रे गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

राजनीतिक क्रान्तिका लागि गोरखा जसरी उर्वर भूमि बन्यो त्यसरी नै समृद्धिको नयाँ क्रान्तिका लागि गोरखा उपयुक्त रहेको आफ्नो ठम्याइ छ ।

आर्थिक क्रान्तिको यात्रामा सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए ।

प्रतिक्रिया

One thought on “आर्थिक क्रान्ति गर्न गोरखा उपयुक्त ठानेको छु : प्रचण्ड

  1. ए बल्ल थाहा भयो ! अहिलेसम्म नेपालमा आर्थिक क्रान्ति किन नभएको भनेको त यिनले गोरखाबाट चुनाव नलडेर पो रहेछ । यस्ता चटकेको पनि अझै पछि लागिरहने ? ५२ सालदेखि यो देशमा अस्थिरता निम्त्याएर भारतको चाकडी गर्ने यस्तालाई अबको चुनावमा भोटबाटै देखाईदेउ गोर्खाली हो जनताको तागत के हो भनेर ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर