निर्वाचन कर्मचारी छनोटमा मनपरी- बाल विकासका कर्मचारी सहायक मतदान अधिकृत ! – Nepal Press

निर्वाचन कर्मचारी छनोटमा मनपरी- बाल विकासका कर्मचारी सहायक मतदान अधिकृत !

सिन्धुपाल्चोक । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गराउन खटिने कर्मचारी छनोटमा जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकले मनपरी गरेको छ ।

मनपरी कर्मचारी छनोट गरेर खटाउँदा निर्वाचन शान्तिपूर्ण सम्पन्न हुनेमा आशंका बढेको छ । ‘अमुक’ राजनीतिक दलको प्रचारमा खुलेआम हिँड्ने शिक्षक र कर्मचारीसमेत निर्वाचन गराउन खटिएपछि राजनीतिक दलहरुले विरोध गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकले संघ, प्रदेश र स्थानीय तहका कर्मचारीसहित सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई निर्वाचनमा खटाएको छ । कार्यालयले शिक्षक छनोटमा मनपरी गरेको नेपाल शिक्षक महासंघ सिन्धुपाल्चोकका अध्यक्ष कुमार खतिवडाले आरोप लगाए ।

‘शिक्षक छनोट एकदमै हचुवामा मनपरी गरिएको छ, हामीले धेरै चरणमा मुख्य निर्वाचन अधिकृतलाई समेत जानकारी गराएका थियौं । तर, हाम्रो कुरा सुनुवाइ नै भएन’, खतिवडाले भने, ‘स्थायी शिक्षकहरुलाई नै निर्वाचनमा खटाइएको छैन । बरु भनसुनका आधारमा राहत शिक्षक, बाल विकासका शिक्षकहरुलाई समेत निर्वाचनमा खटाइएको छ ।’

उनका अनुसार आधारभूत तहका राहत शिक्षकहरुलाई निर्वाचनमा खटाइएको छ । तर, निमावि, मावि तहका राहत शिक्षकहरुलाई भने निर्वाचनमा खटाइएको छैन । कतिपय मतदान केन्द्रमा त बाल विकासमा कार्यरत शिक्षकहरुलाई समेत सहायक मतदान अधिकृत बनाएर पठाइएको छ ।

गाउँपालिकाका अस्थायी कार्यालय सहायकहरुलाई सहायक निर्वाचन अधिकृत बनाउँदा निमावि स्थायी शिक्षकहरुलाई निर्वाचनको कर्मचारीमात्रै बनाइएको छ ।

शिक्षकहरुको पेशागत संघ-संगठनमा क्रियाशील शिक्षकहरुलाई निर्वाचनमा खटाउन पाइँदैन । तर, पालिकास्तरमा पेशागत संघ-संगठनमा बसेका शिक्षकहरुलाई भने निर्वाचनमा खटाइएको छ । निर्वाचन कार्यालयमा चिनजान भएका, राजनीतिक दलहरुले सिफारिस गरेका कर्मचारी र शिक्षकहरुलाई सुगम स्थानको मतदान केन्द्रमा खटाइएको एक शिक्षकले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकका प्रमुख विकास रिजालले भने स्थानीय सरकारले समयमै कर्मचारी र शिक्षक विवरण नपठाउँदा समस्या भएको भन्दै सबै दोष स्थानीय सरकारलाई थोपरे ।

‘हामीले धेरै अगाडि नै सबै स्थानीय सरकारलाई विवरणका लागि अनुरोध गरेका थियौं । तर, सबै स्थानीय सरकारले अपूरो विवरण दिएकाले केही समस्या भयो’, उनले भने, ‘हामीले कात्तिक २ गते नै सबै कर्मचारी र शिक्षकहरुको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाएका थियौं । स्थानीय सरकारले अटेर गरेपछि कात्तिक १६ गतेमात्रै सबै विवरण स्थानीय सरकारबाट आयो ।’

पछि पठाएको विवरण हाल्न नसक्ने भएकाले अब तलमाथि नहुने उनको भनाइ छ । जिल्लाका १२ स्थानीय तहबाट करिब २७ सय शिक्षकहरुको विवरण प्राप्त भएकोमा ६० प्रतिशत शिक्षकहरुलाई मात्रै निर्वाचनमा खटाइएको छ ।

स्थानीय निर्वाचनताका पनि कर्मचारी छनोटमा निर्वाचन कार्यालयले मनपरी गरेको गुनासो सुनिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर