अभागी इटाली : युरोकप उपाधिसँगै ३७ खेलको अपराजित यात्राले खुलेन विश्वकपको ढोका – Nepal Press
विश्वकप फुटबल

अभागी इटाली : युरोकप उपाधिसँगै ३७ खेलको अपराजित यात्राले खुलेन विश्वकपको ढोका

रोम । नहार्नु भनेको जित्नु होइन । यदि जित्नु हुन्थ्यो भने इटालीले कतारमा तीन सातापछि सुरु हुने विश्वकपका लागि अहिले तयारी गरिरहेको हुन्थ्यो ।

विश्वकपको युरोपेली छनोटअन्तर्गत समूहगत चरणमा इटालीले एक खेल पनि हारेन । पाँच टोली रहेको समूहमा चार जीत र चार बराबरीको नतिजा निकालेको इटाली उपविजेतामा सीमित भयो र विश्वकप यात्रा तय गर्न प्ले अफ खेल्नुपर्ने भयो । प्ले अफको सेमिफाइनलमा इटालीको प्रतिस्पर्धा थियो, नर्दन मेसेडोनियासँग ।

नर्दन मेसेडोनियाले पहिलो ठूलो प्रतियोगिताका रुपमा गत वर्ष युरोकप खेलेको थियो । त्यसैले इटालीलाई सेमिफाइनल सहज हुने अनुमान स्वाभाविक थियो । तर, गत मार्च २४ तारिखमा घरेलु रंगशालामा उत्रिएको इटालीलाई नर्दन मेसेडोनियाले स्तब्ध बनायो ।

दोस्रो हाफको इन्जुरी समयमा अलेक्जान्डर त्राकोभ्स्कीले गोल गर्दै नर्दन मेसेडोनियालाई प्ले अफ फाइनलमा पुर्‍याए । यो नतिजाले इटाली लगातार दोस्रोपटक विश्वकप बाहिर रहने पक्का भयो । चारपटकको विश्वकप विजेता इटाली सन् २०१८ को विश्वकपमा पनि छनोट हुन सकेको थिएन । त्यति वेला इटाली ६० वर्षपछि पहिलो पटक विश्वकप बाहिर रहेको थियो । विश्वकपमा इटालीको पछिल्लो यात्रा एकाएक थिएन । सन् २००६ को विश्वकप जितेको इटाली सन् २०१० र २०१४ को संस्करणमा समूहगत चरणबाटै बाहिरिएको थियो ।

तर, यसपटक विश्वकप छनोटमा इटालीको असफलता अस्वाभाविक जत्तिकै छ । स्वीट्जरल्यान्ड, नर्दन आयरल्यान्ड, बुल्गेरिया र लिथुआनिया रहेको समूहमा इटाली ८ खेलमा ४ जीत र ४ बराबरीसहित १६ अंक जोडेर दोस्रो बन्यो । शीर्षस्थानमा रहेको स्वीट्जरल्यान्डको ५ जीत र तीन बराबरीसहित १८ अंक रह्यो । इटालीले अन्तिम दुईसहित पछिल्ला पाँचमध्ये ४ खेल बराबरी खेलेको थियो । यसको मतलब इटालीले सुरुका तीन खेल लगातार जितेको थियो ।

प्रशिक्षक म्यानसिनीले फेरेको इटाली

सन् २०१८ को विश्वकपमा इटाली छनोट नभएपछि नयाँ प्रशिक्षकका रुपमा रोबर्टो म्यानसिनी भित्रिएका थिए । म्यानचेस्टर सिटीलाई पहिलोपटक इङ्लिस प्रिमियर लिग उपाधि जिताएका म्यानसिनीले बिग्रिएको इटाली फुटबल सपार्ने अपेक्षा गरिएको थियो । सन् २०१८ को सेप्टेम्बरमा पोर्चुगलसँग पराजित इटाली त्यसपछि तीन वर्षभन्दा बढी समय सिनियर अन्तर्राष्ट्रिय फुटबलमा अपराजित रह्यो ।

सन् २०२१ को युरोकप प्रि-क्वार्टरफाइनलमा अस्ट्रियालाई हराएपछि इटालीले त्यसअघि ३० खेलको अपराजित यात्राको राष्ट्रिय कीर्तिमान तोड्यो । इटाली सन् १९३० को दशकमा लगातार ३० खेलसम्म अपराजित थियो । इटालीले क्वार्टरफाइनलमा बेल्जियम र सेमिफाइनलमा स्पेनलाई हराएर युरोकपको फाइनल यात्रा तय गरेको थियो । फाइनलमा इङ्ल्यान्डलाई टाइब्रेकरमा पराजित गर्दै इटाली सन् २०२१ को जुलाई ११ मा युरोकप विजेता बनेको थियो ।

लगत्तै विश्वकप छनोटको लिथुआनियाविरुद्धको खेलमा १-१ गोलको बराबरी खेल्दै इटालीले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा लगातार सर्वाधिक खेल नहार्ने टोलीका रुपमा स्पेनको ३५ खेलको कीर्तिमान बराबरी गरेको थियो । सन् २०२१ को सेप्टेम्बर ५ तारिखमा स्वीट्जरल्यान्डसँग गोलरहित बराबरी खेलेपछि इटाली सिनियर अन्तर्राष्ट्रिय फुटबलमा लगातार सर्वाधिक खेल नहार्ने टोली बन्यो । त्यसपछि पनि इटालीले लिथुआनियालाई ५-० गोलले हराएर उक्त यात्रा फराकिलो बनाएको थियो ।

सन् २०२१ को अक्टोबर ६ तारिखमा स्पेनसँग भएको यूईएफए नेसन्स लिग भिडन्तले भने इटालीको विश्व कीर्तिमानी यात्रामा पूर्णविराम लगायो । त्यस खेलको पहिलो हाफमै इटाली १० खेलाडीमा सिमित भएको थियो भने स्पेनका फेरान टोरेसले दुई गोल गरेका थिए । त्यही खेलपछि इटाली विश्वकपको युरोपेली छनोटअन्तर्गत समूहगत चरणका आफ्ना अन्तिम दुई खेलमा बराबरीमा रोकियो, प्ले अफमा नर्दन मेसेडोनियासँग निराश बन्यो ।

विश्वकपमा इटाली गौरवशाली इतिहास बोकेको टोली हो । विश्वकपको इतिहासमा इटाली उपाधि रक्षा गर्ने पहिलो टोली हो । उसले सन् १९३४ मा घरेलु मैदान र चार वर्षपछि फ्रान्समा विश्वकप जितेको थियो । इटालीपछि ब्राजिलले मात्र उपाधि रक्षा गरेको छ । ब्राजिलले सन् १९५८ मा स्वीडेन र सन् १९६२ मा चिलीमा विश्वकप जितेको थियो । त्यसयता कुनै पनि साविक विजेताले उपाधि रक्षा गर्न सकेका छैनन् । विश्वकपका पछिल्ला तीन साविक विजेता समूहगत चरणबाटै बाहिरिरहेका छन् ।

सन् १९८२ र २००६ मा पनि विश्वकप जितेको इटाली विश्वकप इतिहासमा दोस्रो सर्वाधिक सफल टोली हो । ब्राजिलले सर्वाधिक पाँचपटक तथा इटाली र जर्मनीले समान ४-४ पटक विश्वकप जितेका छन् । इटाली सन् १९७० र सन् १९९४ मा पनि फाइनल पुगेको थियो । तर, ती दुवै अवसरमा ब्राजिल उपाधि जित्न बाधक बनेको थियो । इटाली दुईपटकको युरो कप विजेता पनि हो । पहिलोपटक सन् १९६८ मा युरोपियन च्याम्पियन बनेको इटाली त्यसपछि सन् २००० र २०१२ मा फाइनल पुगे पनि उपविजेतामै सीमित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर