खेलाडीलाई विष्णु पौडेलको आश्वासनः निःशुल्क स्वास्थ्य विमा र निर्वाहभत्ताको व्यवस्था गर्छौं – Nepal Press

खेलाडीलाई विष्णु पौडेलको आश्वासनः निःशुल्क स्वास्थ्य विमा र निर्वाहभत्ताको व्यवस्था गर्छौं

रुपन्देही । पूर्व खेलकुद तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खेलाडीलाई निःशुल्क स्वास्थ्य विमा र अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने प्रतिवद्धता जनाएका छन् ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीले शनिबार बुटवलमा आयोजना गरेको खेलाडी प्रशिक्षक तथा खेलप्रेमीहरूको भेलामा बोल्दै पौडेलले देशका लागि खेलेर नाम उचो बनाउने खेलाडीहरुलाई सम्मानित तरिकाले बाच्ने आधार बनाउने बताए । ‘

ऊर्जाशील जीवन खेलेरै बिताउन सकून् । त्यसका लागि खेलकुद पूर्वाधार निर्माण, प्रशिक्षण र वर्षभर प्रतियोगिता आयोजना गर्ने वातावरण बनाउने छौं,’ उनले भने, ‘रोग लाग्दा उपचार गर्न निःशुल्क स्वास्थ्य विमा, जीवन विमा र अशक्त तथा बुढ्यौली उमेरमा निर्वाह भत्ताको व्यवस्था गर्नेछौं ।’

पूर्वमन्त्री पौडेलले खेलाडी राष्ट्रका गहना भएको बताउँदै खेलाडीलाई वर्तमान र भविष्यमा जीउनेबारे चिन्ता लिन नपर्ने अवस्था सिर्जना गर्नुपर्ने बताए । खेल स्वास्थ्य, अनुशासन, मनोरन्जन र प्रतिस्पर्धात्मक ज्ञानका लागि आवश्यक रहेको बताउँदै उनले सबैका लागि खेल गतिविधि गरिनुपर्ने बताए ।

एमाले उपाध्यक्षसमेत रहेका पौडेलले आफू खेलकुद मन्त्री खेलको विकासका लागि बन्दा दशरथ रंगशाला, टिटी रंगशालालगायतको स्तरोन्नतिमा गरेको काम उनले सम्झिए । अर्थमन्त्री हुँदा प्रदेशस्तरीय खेलमैदान, एक प्रदेश एक रंगशाला निर्माण, हाइअटिच्युट खेलको प्रशिक्षण र सुरुवात, शान्तिका लागि दौड, खेल पूर्वाधारको स्तरोन्नति लगायतको काम गरेको उनले बताए ।

‘खेल मैदान, खेल पूर्वाधार र प्रशिक्षण अभावमा खेलाडीहरुले गतिविधि गर्न नपाउने अवस्था हुनुह“ुदैन’ उनले भने, ‘अब खेललाई पर्यटन, स्वास्थ्य, संस्कृति, अनुशासन, शान्ति र सद्भावलाई जोडेर विकास गर्ने योजना छ ।’

रुपन्देहीको क्षेत्रनम्बर २ बाट प्रतिनिधि सभाका उमेदवारसमेत रहेका पौडेलले खेल प्रतिस्पर्धाबाट दलहरुले स्वच्छ राजनीतिक प्रतिस्पर्धा सिक्नुपर्ने र स्वार्थ एवं अस्वस्थ प्रतिस्पर्धा हटाउन खेलका विधि र तरिकाहरुलाई जस्तै स्वच्छ विधि अवलम्बन गर्नुपर्ने बताए । खेल स्वास्थ्य, अनुशासन, मनोरन्जन र प्रतिस्पर्धात्मक ज्ञानका लागि आवश्यक रहेको बताउँदै उनले अब सबैका लागि खेल गतिविधि गरिनुपर्ने बताए । राज्यका खेल सम्बद्ध संगठनले गर्न नसकेको काम मदन भण्डारी स्पोट्र्स एकेडेमीले गरेको समेत पौडेलले बताए ।

लुम्बिनी प्रदेशका पूर्वमन्त्री लिला गिरीले आफू मन्त्री हुँंदा एक पालिका एक खेलमैदान, उजिरसिंह रंगशाला, सिद्धेश्वरी खेलमैदानलगायतमा लगानी गरेको बताए । रुपन्देहीको क्षेत्र नम्बर २ को १ बाट प्रदेशसभाका एमाले उम्मेदवारसमेत रहेका उनले अब खेलको पूर्वाधार विकास, निरन्तर प्रतियोगिता र खेलाडीलाई प्रोत्साहन गर्ने काम गर्ने बताए ।

आफूले अझै खेल र खेलाडीले देख्न सक्नेगरी प्रदेशमा काम गरेर खेलाडीमार्फत देशलाई विश्वमा देशलाई चिनाउन आफू पछि नपर्ने प्रतिवद्धता उनले जनाए ।

लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा रुपन्देही २ (२) का उम्मेदवार भोजप्रसाद श्रेष्ठले स्वास्थ्य र खेलको क्षेत्रमा देखिनेगरी काम गर्ने बताए । खेलाडीको सम्मान हुनु भनेको देशको सम्मान हुनुरहेको बताउँदै खेललाई विभिन्न विधासंग जोडेर विकास गर्ने र खेलाडीलाई सहजरुपमा जिउने आधार तयार गर्ने प्रतिवद्धता जनाए ।

राप्रपा प्रदेश अध्यक्ष तथा समानुपातिक उम्मेदवार प्रदीप उदयले खेलाडीको व्यवसायिकता र सम्मानित जीवनको लागि दल र तिनका नेताहरुले सोँच्नुपर्ने बताए । जीवन खेलकुद र देशको इज्जतमा सुम्पेका खेलाडीलाई अशक्त र बुढ्यौलीमा जीउने आधार तयार गर्न आफू लागिपर्ने उनले जनाए ।

मदन भण्डारी स्पोटर्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले खेलाडी र खेलकुदको क्षेत्रमा उम्मेदवारबाट प्रतिवद्धता लिन कार्यक्रम आयोजना गरेको बताए । एमाले सरकारका पालामा देशभर खेलकुद गतिविधि र पूर्वाधार निर्माणमा देखिनेगरी काम गरेकाले अब खेलाडीको सुरक्षा र सम्मानका लागि काम गर्न प्रतिवद्ध बनाउन लागेको बताए ।

कार्यक्रममा क्रिकेटका अन्तर्राष्ट्रिय खेलाडी शक्ति गौचनले देशका लागि खेल्ने खेलाडीलाई सुरक्षित र सम्मानित भएर बाँच्ने वातावरण बनाउने काम गर्न आग्रह गरे । एकेडेमीका सचिव डा. शक्ति बस्नेतले खेल र स्वास्थ्य दुवै क्षेत्रमा राजनीतिक दलहरुले काम गर्न आवश्यक रहेको बताए । एकेडेमीका केन्द्रीय सदस्य डा. प्रकाश पौडेलले खेलाडीहरुका लागि छुट्टै अस्पतालको व्यवस्था गरिदिन माग गरे । अन्तर्राष्ट्रिय पूर्वखेलाडी तथा प्रशिक्षक तुलबहादुर थापाले खेलाडीले आफ्नो जीवन कसरी चलाउने भन्ने चिन्ता नमानी खेल्ने वातावरण बनाइदिन माग गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर