रुपन्देही-४ मा प्रभावशाली चार नेताको प्रतिस्पर्धा, कसले मार्ला बाजी ? – Nepal Press

रुपन्देही-४ मा प्रभावशाली चार नेताको प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

रुपन्देही । रुपन्देहीको दक्षिणी क्षेत्रमा रहेको क्षेत्र नं ४ बाट आगामी प्रतिनिधिसभा सदस्यका लागि ४ प्रभावशाली नेताहरु मैदानमा छन् । दुई ठूला गठबन्धनसँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्ला सातौं पटक निर्वाचन लड्दैछन् । २०४८ सालदेखि निरन्तर उम्मेदवार बन्दै आएका पूर्वमन्त्री शुक्ला यसअघि कांग्रेसका प्रमोद यादवसँग पराजित भएका थिए ।

यसअघि राजपाबाट चुनाव लडेका शुक्लालाई कांग्रेसमा नवप्रवेशी यादवले पराजित गरेका थिए । स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा पहिलो पार्टी नै लोसपा रहेको छ । यसकारण पनि यहाँको दावेदारी उसले नछाडेपछि कांग्रेससँग तालमेल हुन नसकेको हो ।

अन्य क्षेत्रमा सत्तारुढ दलको लोसपासँग गठबन्धन भएपनि यहाँ भने लोसपाको एकल उम्मेदवारी छ । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका यादवलाई सत्तारुढ दल माओवादी, नेकपा एस, जनमोर्चाको समर्थन छ तर स्थानीय तहको निर्वाचनमा ती दलहरुको जनमत कम रहेको छ ।

नेकपा एमाले, राप्रपा र जसपाबीचको तालमेलबाट यहाँ जसपाका युवा नेता ओमप्रकाश यादव (गुन्जारी) उम्मेदवार छन् । ओमप्रकाश एमालेबाट जसपा प्रवेश गरेर उम्मेदवार बनेका हुन् । २०७४ सालमा एमालेबाट उम्मेदवार हुँदा उनी तेस्रो बनेका थिए । यादवले स्थानीय, युवा र तीन दलको समर्थन भएकाले आफू बलियो भएको दाबी गर्छन् ।

पछिल्लो पटक मधेशमा प्रभाव विस्तार गरिरहेको सिके राउत नेतृत्वको जनमत पार्टीबाट भोपेन्द्र यादव प्रतिनिधिसभामा उम्मेदवार छन् । जनमत पनि यो क्षेत्रमा एक्लै प्रतिस्पर्धामा रहेको छ । दलगत प्रभावभन्दा पनि यहाँ उम्मेदवारको व्यक्तिगत प्रभाव बढी भएकाले जित्दै आएको स्थानीयहरुको विश्लेषण छ । रुपन्देहीको मर्चवारमा पर्ने यो क्षेत्रमा अहिले ४ पक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।

गत चुनावमा विजयी प्रमोद यादवले ३१ हजार ७१८ र शुक्लाले २० हजार ४१६ मत प्राप्त गरेका थिए भने प्रदेशसभा (१) मा कांग्रेसका अष्टभुजा पाठक ९ हजार ६४ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका अजरत अलीले ४ हजार ६३६ मत पाएकी थिइन् ।

प्रदेशसभा (२) मा कांग्रेसका बसीउद्दिन खाँ १२ हजार ११३ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी राजपाकै श्रीनिवास यादवले ३ हजार १२० मत प्राप्त गरेका छन् । कांग्रेसबाट ३ जना यसअघि जितेका उम्मेदवार मैदानमा छन् ।
कांग्रेसबाट प्रदेश सभाका उम्मेदवार तथा लुम्बिनी प्रदेशमा युवा तथा खेलकुद मन्त्री बसीउद्दिन खाँले मर्चवार क्षेत्रमा कांग्रेससँग कसैले प्रतिस्पर्धा हुन नसक्ने दाबी गर्छन् । ‘हामी ३ जना यसअघिको निर्वाचनमा भारी मतान्तरले निर्वाचित भएका थियौं,’ खाँले भने, ‘मर्चवारको मुहार फेर्ने गरी हामीले काम गरेका छौं । जनताको सुखदुःखमा हामी सधैं भेटिइरहन्छौं । त्यसैले आउँदो चुनावमा पनि हामीलाई जनताको साथ र सहानुभूति हुन्छ ।’

सत्ता गठबन्धन मर्चवार छोटी भन्सार सञ्चालनको पहल, प्राविधिक शिक्षा, सिँचाइ सुविधा विस्तार, रिङरोड निर्माण नदी कटान लगायत समस्या समाधान गर्ने मुद्दा लिएर चुनावी मैदानमा छ ।

जसपा नेता तथा उम्मेदवार ओमप्रकाश यादवले आफ्नो जितका लागि कुनै समस्या नभएके तर प्रतिस्पर्धामा लोसपा र कांग्रेसका उम्मेदवार रहेको बताए । ‘जसपा, एमाले र राप्रपाको पालिका चुनावमा आएको मत पूर्ण कार्यान्वन भए हामी सजिलै जित्छौं तर अन्तिममा धेरै चलखेल हुनसक्छ, म यहाँको स्थानीय उम्मेदवार हुँ सबैको दुःखसुखमा पुगेको छु अरु उम्मेदवारहरु कोही आगन्तुक छन् कोही यहाँ घर भएपनि बाहिर बसेर चुनावमा आउनेवाला छन्’ उनले भने । जसपा, राप्रपा र एमाले गठबन्धनबाट प्रदेशतर्फ ४ (१) मा एमालेका सुनिल गिरी र ४(२) मा जसपाका अवतार यादव उम्मेदवार छन् ।

लोसपा क्षेत्रीय अध्यक्ष गणेश पालले यसपटक रूपन्देही–४ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवै लोसपाले जित्ने दाबी गर्छन् । लोसपाबाट प्रदेशतर्फ ४(१) तर्फ कनैया बानिया र ४(२) तर्फ मोहनलाल यादव उम्मेदवार छन् । जनमत पार्टीबाट प्रदेश सभातर्फ ४(१) मा जितेन्द्रनाथ शुक्ला र ४(२) मा अर्जुन जैसवाल उम्मेदवार छन् ।

स्थानीय तहको मतभार आधार

वैशाखमा भएको पालिका निर्वाचनमा रूपन्देही–४ मा लोसपा १६ हजार २२६, कांग्रेस १५ हजार ६२७, जनमत ७ हजार ७३४, एमाले ७ हजार ६०५, जसपा ७ हजार ४९७, राप्रपा ५ हजार ६९९, माओवादी ३ हजार ८०२ र नेकपा एकीकृत समाजवादीले १ हजार १६३ मत पाएका थिए ।

यो क्षेत्रमा कोटियामाई गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका–२, १२ र १३, मायादेवी गाउँपालिका–२, ३, ४, ५ र ६, समरीमाई गाउँपालिका र सियारी गाउँपालिका–५ र ६ पर्छन् । मर्चवारको चुनावमा कम्युनिष्टहरूको प्रभाव खासै देखिँदैन । तर पछिल्लो समय नेकपा एमालेमा यो क्षेत्रमा प्रवेश गर्नेहरुले पार्टीको संगठन बलियो भएको र मधेसमा एमालेको प्रभाव बढेको बताउँछन् सो क्षेत्रका चुनावी कमाण्डर देवराज पोखरेल । मर्चवार क्षेत्रलाई समेट्ने रूपन्देही–४ मा १ लाख १० हजार ६५९ मतदाता रहेका छन् । त्यसमध्ये गत ५ वर्षमा २० हजार ८२४ जना थपिएका हुन् ।

यस्तो छ मर्चवारको चुनावी इतिहास

मर्चवारमा २०४८ सालको आमचुनावमा नेपाल सद्भावना पार्टीका श्यामसुन्दर गुप्ता विजयी भएका थिए । ३ वर्षपछि २०५१ सालमा शुक्ला विजयी भएका थिए । उनी त्यसबेला राप्रपाबाट चुनाव लडेका थिए । ५ वर्षपछि २०५६ सालमा सद्भावनाका यज्ञजित शाहले मर्चवारको प्रतिनिधित्व गरे । मधेश विद्रोहपछि २०६४ सालको संविधानसभा निर्वाचनमा मधेशी जनअधिकार फोरमका ओमप्रकाश यादव विजयी बने । २०७० सालको संविधान सभाको दोस्रो चुनावमा १९ वर्षअघि चुनाव जितेका शुक्ला विजयी बने । यसपटक उनी तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बाट जितेका थिए । संविधान निर्माणपछि २०७४ सालको संसदीय चुनावमा नेपाली कांग्रेसका प्रमोद यादव विजयी बनेका थिए ।

के भन्छन् स्थानीय ?

त्यस क्षेत्रका नेताहरूले मर्चवार राज्यबाट विकासमा सधैं पछाडि पारिएको आरोप लगाउँदै आएपनि स्थानीयहरु भने यहाँबाट जितेका नेताहरुको पनि कमजोरी रहेको बताउन थालेका छन् । ‘यहाँ धेरै नेताहरु चुनावका बेला मात्रै आउने गर्छन्, चुनावपछि फर्कने, स्थानीयका समस्याहरु सुन्ने बानी नै छैन,’ स्थानीय विपिन यादवले गुनासो गरे ।

भारतसँग सीमा जोडिएको, कृषिमा निर्भर रहेको र अधिकांश तराई मूलका नागरिकको बसाई रहेकाले पनि यहाँ पूर्वाधार विकाससँगै अन्य धेरै काम हुन सकेको छैन । तर नेताहरु आफ्नो स्वार्थमा मात्रै ध्यान दिन्छन्– यादवले भने ।

कोटहीमाई गाउँपालिकाका वडा नं ६ सुधा मिश्राले चुनावको बेला मात्र गाउँ आउनेलाई यसपटक भोट नदिने बताइन् । ‘अब हामीले धेरै कुरा बुझ्नथालेका छौं, चुनावकोबेला गाउँ आउनेलाई अब जनताले पत्ताउने छैनन्, हामीले पाएका दुःखमा साथ नदिनेलाई किन माया गर्ने ? यहाँको बाटो, छैन, किसानलाई कुनै सुविधा छैन, उपचारका लागि भैरहवा जानुपर्छ, बच्चा पढाउन बाहिरै पठाउनुपर्छ, यस्तो नेतालाई गाली गर्न पनि गाउँमा नबस्नेलाई नपाइने रहेछ’, उनले भनिन् ।

रूपन्देहीको सदरमुकाम भैरहवा र २२ किलोमिटर मात्रै दक्षिणपश्चिममा रहेको मर्चवार क्षेत्रको विकासलाई हेर्ने हो भने असन्तुलित र असमान देखिन्छ । समुन्नत मानिएको रूपन्देहीमा रहेर पनि मर्चवारमा सडक, बिजुली, विद्यालय, स्वास्थ्य संस्था, खानेपानी, सिँचाइ जस्ता विकासका पूर्वाधारहरू छैनन् तर यस क्षेत्रबाट निर्वाचित हुने सांसदले प्रभावकारी काम गरेको स्थानीयको मात्रै गुनासो छैन बाहिरबाट सो क्षेत्रमा जानेहरुले पनि बताउन थालेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर