नेकपा एसप्रति गोकर्ण विष्टको प्रक्षेपणः चुनावपछि नेकपा एसको खुद्रा पसल बन्द हुन्छ, राजनीतिक भविष्य सकिन्छ – Nepal Press

नेकपा एसप्रति गोकर्ण विष्टको प्रक्षेपणः चुनावपछि नेकपा एसको खुद्रा पसल बन्द हुन्छ, राजनीतिक भविष्य सकिन्छ

रुपन्देही । नेकपा एमालेका सचिव गोकर्ण विष्टले आगामी निर्वाचनपछि नेकपा एकीकृत समाजवादीको राजनीतिक भविष्य सकिने ठोकुवा गरेका छन् ।

‘त्यो पार्टी राष्ट्रियताको सवालमा स्खलित भएर नागरिकता विधेयकलगायत मुद्दामा उदार पूँजीवादी कांग्रेससँग साँठगाँठ गर्न पुग्यो, सरकारमा केही थान मन्त्री बनाउन, केही नियुक्तिमा आफ्ना मान्छे राख्न र चुनावअघि गठबन्धन गरेर आफ्नो सीट सुरक्षित बनाउन पार्टी विभाजन गरेको प्रस्ट भयो’, नेता विष्टले भने ।

शुक्रबार बुटवलमा पत्रकारसँग कुराकानी गर्दै उनले पार्टी विभाजनका समयमा नेता-कार्यकर्तालाई दिइएको विद्रोहका भ्रम सबै यो बीचको समयमा मेटिइसकेको बताए ।

‘हिजो जुन भ्रम फैलाइएको थियो त्यसको सबै भण्डाफोर भइसकेको छ, नेतृत्वको गलत निर्णय बुझेर नै धेरै साथीहरु फर्किनुभएको छ, केही फर्कने क्रममा हुनुहुन्छ’, उनले भने, ‘केही बाध्यताले अल्झिनुभएको छ । तर, आगामी निर्वाचनपछि पार्टी विभाजनको सबै औचित्य सकिनेछ र नेकपा एसको राजनीतिक भविष्य नै सकिनेछ ।’

नेकपा एस नामक पार्टीको खुद्रा पसल चुनावपछि पूर्ण रूपमा बन्द हुने उनले दाबी गरे । गुल्मी २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका विष्टले नेपाली कांग्रेस र माओवादीले मैदान खाली गरेपछि नेकपा एमालेको बलियो प्रतिस्पर्धी कोही नभएको बताए ।

‘कांग्रेस माओवादीले मैदान खाली गरेको अवस्था छ । अहिलेका प्रतिस्पर्धी अरुको सहारामा लड्नुपरेको छ । सांसद हुँदा १० हजार बजेट कही हालेको प्रमाण छैन । हामीले अगाडि बढाएका आयोजनालाई देखाएर चुनाव प्रचार गरिँदैछ’, नेता विष्टले भने, ‘सांसद हुँदा ५ वर्षसम्म जिल्लामा नफर्किनेसँग तुलना नगरिदिनुहोला ।’

स्थानीय तहमा ५६७ मत ल्याएको पार्टीसँग एमालेको कुनै प्रतिस्पर्धा नहुने उनको भनाइ थियो । नेता विष्टले प्रतिस्पर्धी रामकुमारी झाँक्रीतर्फ इंगित गर्दै प्रतिस्पर्धाको चर्चामा आएका उम्मेदवार चुनाव जित्न नभई पर्यटन प्रवर्द्धन गर्न गाउँ डुलेको टिप्पणी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर