विश्वकपमा साविक विजेताको दुर्दशा : लयमा फ्रान्सेली खेलाडी तर छैन ढुक्क – Nepal Press
विश्वकप फुटबल

विश्वकपमा साविक विजेताको दुर्दशा : लयमा फ्रान्सेली खेलाडी तर छैन ढुक्क

काठमाडौं । साविक विजेता टोली स्वाभाविक रुपमा उपाधि दावेदार मानिन्छ । साविक विजेताका लागि उपाधि स्वयं रक्षा गर्नु उसको प्रतिष्ठा र शानको विषय हुन्छ । तर, आगामी महिना सुरु हुने विश्वकपको साविक विजेता फ्रान्सको इतिहास त्यस्तै छ, जसलाई हेरेर ऊ बेचैन देखिन्छ ।

फ्रान्सले पछिल्लो समय जतिसुकै उपाधि जितेको होस्, कुनै प्रतियोगितामा सहभागी हुन जानुअघि ढुक्क देखिँदैन । फ्रान्सको इतिहास नै त्यस्तै छ । पछिल्लो करिब दुई दशकको मात्र कुरा गरौं । सन् १९९८ को विश्वकपमा फ्रान्सले त्यति वेलाको साविक विजेता र इतिहासकै सर्वाधिक सफल ब्राजिललाई हराएर पहिलोपटक विश्व च्याम्पियन बन्यो ।

त्यसको दुई वर्षपछि फ्रान्स युरोपियन च्याम्पियन बन्यो । तर, सन् २००२ को विश्वकपमा भने समूहगत चरणबाटै बाहिरियो । त्यति वेला सेनेगल र डेनमार्कले हराएको थियो भने उरुग्वेसँग बराबरीमा रोकिएर विश्वकप यात्रा पहिलो चरणमै सीमित बनेको थियो ।

फ्रान्स सन् २००६ को विश्वकपमा फाइनलसम्म पुग्यो । त्यति वेला टाइब्रेकरमा इटालीसँग पराजित भएर फ्रान्सले उपाधि जित्न सकेन । तर, सन् २०१० को विश्वकपमा पहिलो चरणबाटै बाहिरियो । समूहगत चरणमा त्यति वेला उरुग्वेले बराबरीमा रोकेको थियो भने मेक्सिको र दक्षिण अफ्रिकाले हराएर यात्रा अघि बढ्न दिएनन् ।

फ्रान्स चार वर्षअघि आयोजित पछिल्लो विश्वकपको विजेता हो । त्यतिबेला फाइनलमा क्रोएसियालाई हराएको थियो । उसले गत वर्ष आयोजना भएको यूईएफए नेसन्स लिग पनि जितेको थियो । दुई वर्षअघि आयोजित युरो कपमा भने दोस्रो चरणभन्दा अगाडि बढ्न सकेन । फ्रान्सले विश्वकपको समूहगत चरणमा यसपटक अस्ट्रेलिया, डेनमार्क र ट्युनिसियासँग खेल्दैछ ।

संयोग नै देखिन्छ, फ्रान्सले यसअघि विश्वकप जितेर खेलेको अर्काे संस्करण पनि एसियामै आयोजना भएको थियो । तर, यसपटक पनि विश्व च्याम्पियन भएर अर्काे संस्करण एसियामै खेल्दैछ । दुर्भाग्य, फ्रान्स सन् २००२ को विश्वकप एसियामा खेल्दा पहिलो चरणबाटै बाहिरिएको थियो ।

फ्रान्स साविक विजेता भएर पनि छनोट नै नभएका प्रतियोगिता पनि छन् । सन् १९८४ को युरोकप विजेता रहेको फ्रान्स चार वर्षपछि, सन् १९८८ मा आयोजित अर्काे संस्करणमा छनोटसमेत हुन सकेन । सन् १९९२ को संस्करणमा छानिए पनि पहिलो चरणबाटै बाहिरिएको थियो ।

फ्रान्स अघिपछिका ‘साविक विजेता’हरु

साविक विजेताका रुपमा सहभागी भए पनि विश्वकपको पहिलो चरणबाटै बाहिरिने पहिलो टोली भने इटाली थियो । सन् १९३४ र १९३८ मा आयोजना भएका विश्वकपका दोस्रो र तेस्रो संस्करणको विजेता इटाली विश्व युद्धपछि सन् १९५० मा आयोजना भएको चौथो संस्करणमा पहिलो चरणबाटै बाहिरिएको थियो ।

सन् १९५४ को संस्करणमा पनि पहिलो चरणबाटै बाहिरिएको इटाली सन् १९५८ को संस्करणमा छनोट नै हुन सकेन ।

त्यसयता फ्रान्स समूहगत चरणबाटै बाहिरिने पहिलो साविक विजेता टोली बनेको थियो । तर, फ्रान्सपछि प्रायः हरेक संस्करणमा साविक विजेता पहिलो चरणबाटै बाहिरिएका छन् ।

सन् २०१० मा इटाली, सन् २०१४ मा स्पेन र सन् २०१८ मा जर्मनी साविक विजेताका रुपमा सहभागी भए पनि पहिलो चरणबाटै बाहिरिएका थिए । यति वेला फ्रान्सको टोली गज्जबको देखिन्छ । ब्यालोन डीअर विजेता करिम बेन्जेमादेखि फ्रान्सको घरेलु लिगमा लगातार सर्वाधिक गोलकर्ता रहेका केलियन एमबाप्पे लयमा छन् ।

एन्टोइन ग्रिजम्यान र राफायल भराने पनि आशा गरिएका खेलाडी हुन् । तर, मिडफिल्डमा बलियो प्रभाव देखाउन सक्ने कान्टे चोटका कारण खेल्न नसक्ने भएपछि त्यसको असर भने फ्रान्सको टोलीमा देखिन सक्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर