एनआईसी एशिया बैंकको सीईओमा न्यौपाने पुन: नियुक्त – Nepal Press

एनआईसी एशिया बैंकको सीईओमा न्यौपाने पुन: नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा रोशन कुमार न्यौपाने पुन: नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको ५७३ औं बैंठकले न्यौपानेलाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: नियुक्त गरेको हो।

हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत न्यौपानेलाई बैंकको सञ्चालक समितिले मंसिर १५ गतेदेखि लागू हुनेगरी थप ४ वर्षको अवधिको लागि पुन: नियुक्त गर्ने निर्णय गरेको हो ।

सन् २००८ अप्रिलदेखि तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनले मुलुकको सबैभन्दा ‘कान्छो सीईओ’ को रुपमा समेत चर्चित भए ।

रसुवा जिल्ला स्थायी घर भई हाल काठमाडौं बुढानीलकण्ठ बस्ने ४२ वर्षका न्यौपानेले उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधिमा नै सफल प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकिङ्ग क्षेत्रमा उदयमान भएका हुन् ।

उनले बैंकको नेतृत्वदायी भूमिकामा आएपछि उदाहरणीय लगन, परिश्रम, दृढता, संकल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्दै गर्दा बैंक अधिकांश वित्तीय सूचकांकहरुमा पहिलो नम्बरमा पुगेको छ ।

सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनको नेतृत्वमा बैंकलाई मध्यम स्तरको बैंकबाट उच्च स्थानको बैंकमा पुर्‍याउने गरी सन् २०१४ मा पञ्चवर्षीय एकीकृत रणनीतिक योजना ‘रणनीति २०२०’ (स्ट्राटेजी २०२०) तयार गरी बैंकले आर्थिक वर्ष सन् २०१९/२० सम्ममा कर्जा, निक्षेप, सेवाग्राही संख्या, खुद मुनाफा, प्रतिशेयर आम्दानी, स्व–पूँजीमा प्रतिफल, शाखा सञ्जाल लगायतका अधिकांश वित्तीय तथा गैर वित्तीय परिसूचकहरुमा बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट बन्न सफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *