लुम्बिनीमा प्रदेश कमान्ड पोस्ट निर्वाचन सेल गठन – Nepal Press

लुम्बिनीमा प्रदेश कमान्ड पोस्ट निर्वाचन सेल गठन

रूपन्देही । निर्वाचनलाई शान्ति र भयरहित बनाउन अतिसंवेदनशील क्षेत्रमा थप सुरक्षा व्यवस्था गर्ने निष्कर्षसहित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सकिएको छ । त्यसका लागि जिल्ला सुरक्षा संयन्त्रले आवश्यक सुरक्षा योजना बनाउने र अपुग सुरक्षाकर्मी प्रदेशमा माग गर्ने बताइएको छ ।

निर्वाचन सुरक्षा अवस्था बुझ्ने र थप सुरक्षा रणनीति अपनाउने योजनासहित गृह मन्त्रालय र प्रदेशको आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले बुधबार बुटवलमा गोष्ठी आयोजना गरेका थिए । प्रदेशस्तरमा निर्वाचन सुरक्षाका लागि प्रदेश कमान्ड पोस्ट निर्वाचन सेल गठन भएको छ ।

प्रदेशका प्रमुख सचिवको कमान्डमा रहेको सेलमा सदस्य सचिवमा आन्तरिक मामिला सचिव एवं प्रदेश र जिल्ला सुरक्षा प्रमुख सदस्य रहेका छन् । उक्त सेलले हरेक जिल्लामा निर्वाचनसँग सम्बन्धित सुरक्षा एवं आचारसंहिता पालनाबारे अनुगमन र निर्देशनको काम गरिरहेको प्रदेशका आन्तरिक मामिला सचिव कोमलप्रसाद धमलाले बताए ।

लुम्बिनीका १२ जिल्लामध्ये ६ जिल्ला भारतीय सिमानासँग जोडिएका छन् । क्रस बोर्डर, निर्वाचन विरोधी समूहलगायतले प्रदेशमा संवेदनशील देखिएका क्षेत्र र मतदानस्थलमा थप सुरक्षा अपनाउने तयारी भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख नलप्रसाद उपाध्यायले बताए । गृह मन्त्रालयका प्रवक्ता खड्गमणि पोखरेलले निर्वाचनका बेला हुन सक्ने असुरक्षा कम गर्न क्रस बोर्डर सुरक्षा बैठक, इजाजतप्राप्त हतियारको संकलनलगायत काम थालिएको जनाए ।

गोष्ठीमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र, नेपाली सेना र अनुसन्धानका अधिकारीहरू सहभागी भएका थिए । गोष्ठी उद्घाटनमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले सरकार भयरहित, शान्तिपूर्ण र स्वतन्त्र निर्वाचन गराउन प्रतिबद्ध भएको बताउँदै त्यसअनुसार जुट्न सुरक्षाकर्मीहरुलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर