भोजपुरमा शेरधन जिताउन बादलका सल्लाहकार डा. इन्द्रजित मैदानमा (भिडिओ) – Nepal Press

भोजपुरमा शेरधन जिताउन बादलका सल्लाहकार डा. इन्द्रजित मैदानमा (भिडिओ)

मुख्यमन्त्री राजेन्द्र राईले एउटा मात्र जातलाई बोकेर हिँडेको आरोप

भोजपुर । नेकपा एमालेबाट भोजपुरमा प्रतिनिधिसभा उम्मेदवार प्रदेश १ का संस्थापक मुख्यमन्त्री एवं पूर्वमन्त्री शेरधन राईलाई जिताउन सैन्यविद् डा. इन्द्रजित राई मैदानमा खटिएका छन् । राई रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा उनका सुरक्षा सल्लाहकार थिए । उनी पहिलो संविधानसभामा माओवादीबाट समानुपातिकतर्फबाट सभासद भएका थिए । माओवादी लडाकु समायोजनमा पनि उनले पार्टीमा व्यवस्थापकीय भूमिकामा थिए ।

जन्मथलो भोजपुरको आमचोक गाउँपालिकास्थित वासिङथर्पूमा आयोजित चुनावी सभामा डा. राईले गठबन्धनबाट माओवादी उम्मेदवार सुदन किरातीविरुद्ध प्रतिस्पर्धामा रहेका शेरधनको पक्षमा खुलेर भोट मागे । शेरधनको गृहपालिका पनि आमचोक नै हो ।

आफ्नो गाउँठाउँको मान्छे यत्तिको हैसियतमा अहिलेसम्म नपुगेको र पुग्ने सम्भावना पनि तत्काल नदेखिएको उनको भनाइ थियो । अब फेरि जिताउँदा चाहेअनुसारको मन्त्री बन्न सक्ने भन्दै डा. राईले आफूले पार्टीको सवाल भन्दा पनि विकासका लागि शेरधनलाई भोट दिन आग्रह गरेको बताए ।

‘डा. राईले किन भन्यो भन्ने सोच्नुहोला पछि छोरानातिहरूले पनि याद गर्नेछ । यहाँ पार्टीको सवाल छैन । सिर्फ पसलभञ्ज्याङमा बस्ने प्रदेश १ को मुख्यमन्त्री जसले १४ जिल्ला हाँक्यो । जसले सञ्चारमन्त्रीको रूपमा सम्पूर्ण देश हाँक्यो । भोजपुरको दक्षिण किन पछाडि परेको छ भने कोही नेता नभएर’, उनले भने, ‘पार्टी छाड्दिनुस् यहाँ म पार्टीको कुरा गर्दिन सिद्धान्तको कुरा गर्दिन । पार्टीले गर्दैन व्यक्तिले गर्छ । त्यो व्यक्ति जसले पार्टीमा राम्रो पोजिसन राख्छ । आज तपाईँले उहाँलाई जिताउँदा उहाँले चाहेअनुसारको मन्त्री बन्न सक्नुहुन्छ । हाम्रो आमचोकको मान्छे यो स्तरमा अहिलेसम्म कति जना पुगेका छन्, कति पुग्लान् ? मैले सल्लाहकारको काम गर्दा यहाँ पुलिस चौकी ल्याएँ । उहाँले ५ अर्ब भोजपुरका लागि ल्याउनुभयो ।’

उनले थपे, ‘हामीले पार्टी नहेरौं । आमचोकको मान्छेलाई ७७ जिल्लाले मन्त्री मान्ने मान्छेले आफ्नै ठाउँमा भीख माग्नपर्ने ? तपाईँहरूले चिन्नैपर्छ र भोट दिनैपर्छ ।’

प्रदेश १ को नाम राख्न नसकेको सन्दर्भमा कतिपयले विरोध गरेपनि एक्लैले चाहेर नसक्ने भन्दै डा. राईले शेरधनको बचाउ गरे । अहिलेका मुख्यमन्त्री राजेन्द्रकुमार राई एउटा जातिको मात्र नेता बन्न खोजेको उनको टिप्पणी थियो ।

‘कतिले नाम दिन सकेन भन्छन् तर उहाँ एक्लैले मात्र चाहेर दिन सक्ने हो ? राजेन्द्र राईजीले दिनुभयो ? किरातीको मात्र नेता बनेर उहाँ राष्ट्रको नेता बन्नुहुन्छ ? एउटा मात्र जातलाई बोकेर कोही नेता भएको छ ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर