गठबन्धनले चुनाव जिते देश श्रीलंकाभन्दा खराब अवस्थामा पुग्छ: कमल थापा – Nepal Press

गठबन्धनले चुनाव जिते देश श्रीलंकाभन्दा खराब अवस्थामा पुग्छ: कमल थापा

हेटौंडा । नेकपा एमालेको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापाले एमालेले नजिते देशको अवस्था श्रीलंकाभन्दा खराब हुने दाबी गरेका छन् । राप्रपा नेपालका अध्यक्ष थापाले एमालेको जीतले मात्र मुलुक समृद्ध बन्नसक्ने दावी गरेका हुन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा भएको चुनावी कार्यक्रममा बोल्दै थापाले पाँचदलीय गठबन्धनको सरकारसँग देश चलाउने कुनै पनि भिजन र इच्छाशक्ति नभएको औंल्याए । त्यसकारण उनीहरुले जिते देशको अवस्था जर्जर हुने र श्रीलंकाको अवस्थामा पुग्ने उनले बताए ।

‘पाँच दलीय गठबन्धन भनेको छ । पाँचै पार्टीको घोषणापत्र सार्वजनिक गरिएको छ । गठबन्धनले जितेको अवस्थामा कुन पार्टीको घोषणापत्र कार्यान्वयन गर्ने गठबन्धनका दलले ? यस्ता झूटका खेती गरेर जनता झुक्याउने काम पाँच दलीय गठबन्धनले गरिरहेको छ । भ्रममा नपर्न म सबैलाई आग्रह गर्दछु’, थापाले भने ।

उनले एमालेविरुद्ध बनेको पाँच दलीय गठबन्धनले चुनाव जिते देश अस्थिरता र भ्रष्टाचारको दलदलमा फस्नेसमेत बताए । पाँच दलीय गठबन्धनले सत्तामा पुग्न र कुर्सीमा बस्न विदेशीसँग सहयोग मागिरहेको उनको भनाइ छ ।

थापाले यो पटक देश बनाउने र देश बिगार्नेबीचको प्रतिस्पर्धा रहेको उल्लेख गरे । केपी ओलीको सरकारले सयौं गुणा राम्रा काम गरेको भन्दै उनले देशलाई बचाउन एमाले जिताउनुबाहेक अर्को विकल्प नभएको बताए ।

थापाले आफूले चुनाव जिते हेटौंडालाई देशकै नमुना राजधानी बनाउन पहल गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर