एमालेले ल्याइदिएको रेल चढ्न कांग्रेस-माओवादीका घरपरिवारले हुरुक्क गरेका छन् : ओली – Nepal Press

एमालेले ल्याइदिएको रेल चढ्न कांग्रेस-माओवादीका घरपरिवारले हुरुक्क गरेका छन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकारले रेलको कुरा गर्दा मजाक गर्नेहरू आफ्नो चुनावी घोषणापत्रमा रेल देखाउन बाध्य भएको टिप्पणी गरेका छन् ।

उनले जनकपुरमा एमाले सरकारले ल्याइदिएको रेल चढ्न अहिले कांग्रेस–माओवादीका घरपरिवार आतुर बनेको बताए ।

काठमाडौंको क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा बोल्दै ओलीले हिजो रेलको विरोध गर्नेहरू अहिले एमालेलाई पछ्याउन बाध्य भएको दाबी गरे ।

उनले भने, ‘परराष्ट्रमन्त्री चाइना गएर रसुवा–काठमाडौं रेलको डिटेल सर्भेका लागि सम्झौता गरेर आउनुभयो । त्यो हाम्रो योजना हो । चाहिँदो रहेछ त । हामीलाई पछ्याउनुभयो त । रेलको कुरा गर्दा मजाकमा उडाउनेहरू अहिले आफ्नो घोषणापत्रमा रेलको थुतुनो नदेखाई बेच्न नसक्ने भए ।’

ओलीले अगाडि थपे, ‘अहिले जनकपुर जाँदा रेल नचढेर धरै छैन । एमाले सरकारको पालामा लिक बनाइयो, रेल किनियो, ल्याइयो, चलाइयो । त्यो रेल एक पटक चढाउन भनेर घरघरमा दबाब दिन थाल्या छन् । खासगर, कांग्रेस र माओवादीका घरपरिवारले एमाले सरकारले ल्याएको त्यो रेल एक पटक हेर्नैपर्यो भनेर घरपरिवारले हुरुक्क पारेका छन् । म चुनावतिर लागौँ कि तिमीहरूलाई रेल चढाउन लगौँ भन्ने स्थिति छ । म आफैँ पनि त्यो रेल चढेँ । कति छिटै सुटुक्क पुर्‍यायो ।’

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको घरैछेउ ट्रान्समिसन लाइन राखेर आफ्नो पार्टीको सरकारले बिजुली झलमल पारिदिएको बताए ।

उनले भने, ‘त्यसको जवाफमा उहाँले उखान टुक्काले देश बन्दैन भन्नुभयो । धन्न शेरबहादुर जी, टान्समिसनलाई उखान टुक्का देख्नुहुन्छ । हाइवेलाई उखान टुक्का देख्नुहुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर