केही राजनीतिक दल संविधान च्यात्ने प्रपञ्चमा लागेका छन्: गृहमन्त्री खाण – Nepal Press

केही राजनीतिक दल संविधान च्यात्ने प्रपञ्चमा लागेका छन्: गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले केही राजनीतिक दल जनताको लामो संघर्ष र बलिदानपश्चात् संविधानसभाबाट बनाएको संविधान च्यात्ने प्रपञ्चमा लागिरहेको बताएका छन् ।

रुपन्देहीकाे सिद्धार्थनगर नगरपालिका- १२ मा मंगलबार आयोजित कार्यक्रममा गृहमन्त्री खाणले सार्वभौमसत्ता जनतामा निहित हुने व्यवस्था उल्ट्याउने षड्यन्त्र भइरहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको बताएका हुन् ।

‘मुलुकबाट निर्मूल भइसकेको राजतन्त्रलाई बोकेर हिँडेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेटेर नेकपा एमाले र जनता समाजवादी पार्टीले सत्तारुढ दलहरूको गठबन्धनविरुद्ध अर्को गठबन्धन बनाएका छन् । यो तीन दलीय गठबन्धन संविधान च्यात्न र मुलुकलाई पश्चगमनतर्फ ढकेल्न लागिरहेका छन्’, उनले भने ।

जनप्रतिनिधिले बनाएको संविधान संसदमा दुईतिहाइ मतले संशोधन गर्न सकिने भए पनि जनआन्दोलनको मर्म र भावनाविपरीत संविधान नै च्यात्न उद्यत हुनु प्रतिगमनलाई मलजल गर्नु र मुलुकलाई पुरानै अवस्थामा फर्काउनु भएको भन्दै गृहमन्त्री खाणले जनतालाई सचेत हुन र निर्वाचनमार्फत त्यस्तो रणनीतिमा लाग्ने शक्तिहरूलाई परास्त गर्न आग्रह गरे ।

उनले निर्वाचनपछि बन्ने गठबन्धन सरकारले नागरिकको अवस्था परिवर्तन गर्ने रणनीतिक योजना ल्याउने दाबी गरे ।

मुलुकमा शान्ति, स्थिरता, सुशासन र विकास एउटै दलले बहुमत ल्याएर गर्न अप्ठ्रारो पर्ने भएकाले गठबन्धन गरेर निर्वाचनमा होमिएको उनको भनाइ थियो । गठबन्धन सरकार निर्माण गर्नमात्रै नभई शान्ति स्थापना गरी मुलुकलाई अग्रगमनको बाटोमा लैजान गरिएको गृहमन्त्री खाणको भनाइ थियो ।

गृहमन्त्री खाण रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर