एकैदिन ९ जनासँग आयोगले सोध्यो २४ घन्टे स्पष्टीकरण – Nepal Press

एकैदिन ९ जनासँग आयोगले सोध्यो २४ घन्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले एकैदिन ९ जनासँग स्पष्टीकरण सोधेको छ । आयोगले एकएक जना उम्मेदवार, कर्मचारी र जिल्लास्तरीय पदाधिकारी, दुई जनप्रतिनिधि र ४ जना शिक्षकसँग २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

आयोगले नेपाली कांग्रेसको तर्फबाट पर्वतको प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई जिल्लाको पञ्चकोशी माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको भन्दै २४ घण्टाभित्र आफैं वा आफ्नो प्रतिनिधिमार्फत स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

पर्वतको जलजला गाउँपालिका अध्यक्ष राजु आचार्यलाई निर्वाचनसम्बन्धी दलका बैठक, कार्यक्रम र भेलालगायतमा सहभागी भएको उजुरी आयोगमा परेपछि स्पष्टीकरण सोधिएको छ ।

यस्तै पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष राम शर्मालाई पनि निर्वाचनसम्बन्धी दलका बैठक, कार्यक्रम र भेलालगायतमा सहभागी भएको उजुरीको आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

आयोगले सप्तरीको राजविराज नगरपालिकाका शाखा अधिकृत मनोजकुमार यादवसँग पनि स्पष्टीकरण सोधेको छ । उनीविरुद्ध आयोगमा सोही जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार उपेन्द्र यादवको प्रचारप्रसार गरेको उजुरी परेको थियो ।

त्यस्तै राष्ट्रिय भूमि आयोग पर्वतका अध्यक्ष उदय सुवेदीलाई निर्वाचनसम्बन्धी दलका बैठक, कार्यक्रम र भेलालगायतमा सहभागी भएकोमा स्पष्टीकरण सोधिएको छ ।

पर्वतको पञ्चकोशी माध्यमिक विद्यालयका प्रधानाध्यापकविरुद्ध आयोगमा उक्त जिल्लाका प्रतिनिधिसभाका उम्मेदवार अर्जुनप्रसाद जोशीले उक्त विद्यालयमा केही दिन पहिले तरुण दलको नामबाट विद्यार्थीलाई कपी र कलम वितरण गरेर अभिभावकलाई प्रभावित गर्न कोसिस गरेको लिखित उजुरी परेको थियो । उक्त उजुरीपछि उनलाई स्पष्टीकरण सोधिएको हो ।

पवर्तकै कुस्मा नगरपालिकास्थित नारायणी माध्यमिक विद्यालयका शिक्षक सुभन्तराज सुवेदीलाई राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको भन्दै स्पष्टीकरण सोधिएको छ ।

गुल्मीको महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय मुसिकोटका प्रधानाध्यापक अनन्तलाल भण्डारीलाई एकीकृत समाजवादी पार्टीको लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहेको तथा निर्वाचन घोषणा भएपछि चुनावी कार्यक्रम तथा बैठकमा सहभागी हुँदै आएकाले स्पष्टीकरण सोधिएको छ ।

नवलपरासी बर्दघाट सुस्ता पूर्वको सरस्वती माध्यमिक विद्यालयका शिक्षक कृष्ण तिवारीलाई कांग्रेसको नवलपुर क्षेत्र नम्बर १ को प्रदेशसभा २ मा प्रदेशसभा कार्यसमिति सभापति पदमा बहाल रहेको र अहिले कांग्रेसको विभिन्न चुनावीसभा तथा कार्यक्रममा दलको प्रतिनिधिको रुपमा सहभागी भएपछि उजुरीको आधारमा आयोगले स्पष्टीकरण सोधेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर