तोसिमाको उम्मेदवारी कायम राख्न सर्वोच्चको अन्तरिम आदेश – Nepal Press

तोसिमाको उम्मेदवारी कायम राख्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएको हो ।

डा. कार्की लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । उनी मेडिकल काउन्सिलको सदस्य हुन् ।

तर, नियमित तलब भत्ता नलिने भएको कारण उक्त पद लाभको पद नरहेको दाबी गर्दै कार्कीले सोमबार सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेकी थिइन् ।

मंगलबार पेसीमा चढेको उक्त रिटमा न्यायाधीश चुडालको इजलासले अन्तरिम आदेश जारी गर्दै विपक्षीका नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ ।

सर्वोच्चको आदेशसँगै तत्कालका लागि कार्कीको उम्मेदवारी कायम भएको छ । अब दुई न्यायाधीश रहने संयुक्त इजलासमा मुद्दाको सुनुवाइ हुनेछ । विपक्षीले उम्मेदवारी कायम नरहने तथ्य र प्रमाण पेस गर्न सकेमा अन्तरिम आदेशले निरन्तरता नपाउन सक्नेछ ।

तर, दुई न्यायाधीशको इजलासले समेत अन्तरिम आदेशको निरन्तरता हुने आदेश दिएमा उनी चुनावी प्रतिस्पर्धामा सहभागी हुन पाउनेछिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर