समुन्द्रमा राष्ट्रिय झण्डासहितको पानीजहाज र काठमाडौं उपत्यकामा रेल सञ्चालन गर्ने एमालेको घोषणा – Nepal Press

समुन्द्रमा राष्ट्रिय झण्डासहितको पानीजहाज र काठमाडौं उपत्यकामा रेल सञ्चालन गर्ने एमालेको घोषणा

काठमाडौं । नेकपा एमालेले समुन्द्रमा राष्ट्रय झण्डासहितको पानीजहाज सञ्चालन गर्ने घोषणा गरेको छ। आगामी निर्वाचनको घोषणापत्रमार्फत एमालेले छिमेकी मित्रराष्ट्रहरूको सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानीजहाज सञ्चालनमा ल्याइने प्रतिबद्धता जनाएको हो ।

नेपालका प्रमुख नदी हुँदै गङ्गाबाट कलकत्ता बन्दरगाह र समुद्रसम्मको जल यातायात सञ्चालन गरिने घोषणापत्रमा उल्लेख गरिएको छ ।

यस्तै विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवर्द्धन गर्ने योजनासमेत अघि सारिएको छ । ‘सहरी क्षेत्रमा ठूला विद्युतीय सवारीसाधन सञ्चालन गर्न प्रोत्साहन गरिनेछ । मोटरबाटो लैजान नमिल्ने तथा सडक पुग्न कठिन बस्तीहरूमा स्तरीय पदमार्ग, केबुलकार र अन्य वैकल्पिक प्रबन्ध गरिनेछ’, घोषणापत्रमा लेखिएको छ ।

गतिशील अर्थतन्त्र र सेवा विस्तारका लागि यातायात पूर्वाधार विकास अपरिहार्य भएको घोषणापत्रमा उल्लेख छ । ‘एमाले यातायात क्षेत्रको विकासलाई अन्य क्षेत्रको विकास र समृद्धिको प्रस्थान विन्दु मान्दछ । सडक, रेलमार्ग, विमानस्थल र जलमार्गका आधुनिक पूर्वाधार निर्माण र विस्तार गरी समग्र विकासलाई तीव्र गति दिइनेछ, राष्ट्रिय भावना र एकतालाई सुदृढ गरिनेछ’, घोषणापत्रमा उल्लेख छ ।

एमालेले काठमाडौं उपत्यकामा रेल र सहरी केबलकार सञ्चालन गर्ने घोषणासमेत गरेको छ । घोषणापत्रमा लेखिएको छ, ‘सबै महानगरहरूमा काठमाडौं उपत्यकामा मेट्रो रेल, सहरी केवलकार एवं पड वे जस्ता आधुनिक परिवहन सेवा सञ्चालनको लागि आवश्यक अध्ययन गरी कार्यान्वयन गरिनेछ ।’

निर्माणाधीन पूर्व-पश्चिम विद्युतीय रेलमार्गको बर्दिवास-निजगढ खण्डको निर्माण कार्य सम्पन्न गरी रेल सञ्चालन गरिने एमालेले प्रतिबद्धता जनाएको छ। निजगढ बुटवल खण्डको निर्माण कार्य अघि बढाइने र रसुवागढी-काठमाडौं रेलमार्ग र वीरगञ्ज-काठमाडौं रेलमार्गको निर्माण प्रक्रिया सुरु गरिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर