एमालेको आर्थिक दृष्टि- प्रतिव्यक्ति आम्दानी दोब्बर, सबैको सामाजिक सुरक्षा भत्तामा वृद्धि – Nepal Press

एमालेको आर्थिक दृष्टि- प्रतिव्यक्ति आम्दानी दोब्बर, सबैको सामाजिक सुरक्षा भत्तामा वृद्धि

काठमाडौं । आगामी ५ वर्षमा गर्ने कामका २० नारासहितको ग्यारेन्टी लिएर नेकपा एमालेले मंगलबार घोषणापत्र सार्वजनिक गरेको छ ।

देशको अर्थतन्त्र र प्रतिव्यक्ति आयमा एमालेको घोषणापत्रले फड्को मारेको छ । कुल गार्हस्थ उत्पादन (जिडिपी) लाई आगामी पाँच वर्षभित्र १०० खर्ब रूपैयाँ पुऱ्याइने एमालेले उल्लेख छ । केन्द्रीय तथ्यांक विभागको तथ्यांकअनुसार देशको अर्थतन्त्रको आकार अहिले ४८ खर्ब बराबरको छ । यस्तै नेपालीको औसत प्रतिव्यक्ति आम्दानी ३ लाख (२ हजार ४०० अमेरिकी डलर) पुर्‍याउने लक्ष्य एमालेले लिएको छ । आर्थिक वर्ष ०७८/७९ को आर्थिक सर्वेक्षणअनुसार नेपालीको आय एक हजार ३ सय ८१ डलर छ ।

एमालेले साना, मझौला तथा ठूला उद्योगको विस्तारबाट राष्ट्रिय आयमा उल्लेख्य वृद्धि गर्ने लक्ष्य राखेको छ । नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ५ वर्षभित्र वार्षिक २५ लाख पुर्‍याउने घोषणापत्रमा भनिएको छ ।

सबैप्रकारका भत्ता बढाउने

नेकपा एमालेले आर्थिक वृद्धिका आधारमा सबै प्रकारका भत्ता बढाउने घोषणापत्रमा उल्लेख गरेको छ । साथै न्यूनतम ज्याला मासिक २५ हजार पुर्‍याउने भनिएको छ । ज्येष्ठ नागरिक, दलित, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख्मु जाति तथा लक्षित वर्ग र क्षेत्रका बालबालिका गरी पाँच वर्षमा ६० लाखले सामाजिक सुरक्षा भत्ता पाउने एमालेले जनाएको छ ।

एमालेको घोषणापत्रमा सहकारी संस्थाका सदस्यहरू एक करोड र सहकारीबाट परिचालन गर्ने बचत १० खर्ब पुर्‍याउने उल्लेख छ ।

घोषणपत्रमा भनिएको छ, ‘दुई वर्षमा विद्युतमा पहुँच हुने जनसंख्या शत प्रतिशत पुर्‍याइनेछ । सबै परिवारलाई ग्राहस्थ उपभोगका निम्ति वर्षायाममा मासिक ५० युनिट र हिउँदयाममा मासिक ३० युनिट वि द्युत निःशुल्क उपलब्ध गराइनेछ । ५ वर्षमा विद्युत उत्पादन क्षमता ६५०० मेगावाट र प्रतिव्यक्ति विद्युत खपत ७०० किलोवाट प्रतिघण्टा पुऱ्याइनेछ।’

आर्थिक वृद्धिदर दोहोरो अंकको बनाइने

एमालेले प्रारम्भमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्दै आगामी पाँच वर्षभित्र आर्थिक वृद्धि उच्च बनाएर दोहोरो अंकमा पुर्‍याउने र नेपाली अर्थतन्त्रलाई विश्वको उदयीमान अर्थतन्त्र बनाइने बताएको छ ।

विगतमा एमाले सरकारले अघि बढाएका १२ नयाँ औद्योगिक क्षेत्र, १५ विशेष आर्थिक क्षेत्र र १०३ औद्योगिक ग्रामको पूर्वाधार विकास गरी उद्योगहरूको स्थापना गरिने र सबै पालिकामा औद्योगिक ग्राम स्थापना गर्न प्रोत्साहको कार्यक्रमलाई एमालेले निरन्तरता दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *