निर्वाचन गठबन्धनको स्वेच्छाचारी चक्रब्यूहबाट मुलुकलाई मुक्त गर्ने निर्णायक अवसर : ओली – Nepal Press

निर्वाचन गठबन्धनको स्वेच्छाचारी चक्रब्यूहबाट मुलुकलाई मुक्त गर्ने निर्णायक अवसर : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन संकटको चक्रव्यूहबाट मुलुकलाई मुक्त गर्ने निर्णायक अवसर भएको बताएका छन् ।

आगामी निर्वाचनको घोषणापत्रसँगै एक अपिल जारी गर्दै ओलीले जनादेश विस्थापित हुने र परमादेशबाट शासन चलाउने घातक अभ्यास सुरु भएकाले अहिलेको अवस्था आएको बताएका हुन् ।

उनले भनेका छन्, ‘प्राप्त जनादेश खण्डित भइसकेपछि पुनः सार्वभौम जनताको बीचमा जानु र ताजा जनादेशका आधारमा समस्याको समाधान खोज्नु स्वाभाविक एवं लोकतान्त्रिक विधि थियो । तर, त्यसो हुन दिइएन । अदालतको चरम दुरूपयोग र संविधानको अपव्याख्या गरियो, सरकार बनाउने जनताको सार्वभौम अधिकार कुण्ठित भयो, शक्ति पृथकीकरणको सिद्धान्त कुल्चिइयो र कानून र सरकार निर्माण एवं परिवर्तन गर्ने संसदको अधिकारलाई कुल्चिँदै अदालतका परमादेशबाट प्रधानमन्त्री नियुक्त हुने अलोकतान्त्रिक एवं स्वेच्छाचारी नजिर स्थापित गरियो ।’

लोकतान्त्रिक प्रणालीको मर्मका रूपमा रहेको दलीय पद्धतिमाथि प्रहार गर्दै सांसदहरूमाथि सम्बन्धित दलको ह्विपसमेत नलाग्ने निर्दलीय अभ्यास सुरु आरोप लगाएका छन् ।

‘ताजा जनादेशका लागि जनताका बीचमा जाने विषयलाई ‘प्रतिगमन’ र असंवैधानिक एवं असंसदीय तरिकाबाट परमादेशमार्फत सरकार बनाउनुलाई ‘अग्रगमन’ को जनविरोधी भाष्य निर्माण गर्ने कुप्रयास गरियो । गठबन्धनका नाममा राजनीतिलाई असाध्यै विकृत, नीतिविहीन र सत्तास्वार्थको बन्दी बनाइयो’, उनको भनाइ छ।

जनादेशबाट गठन भएको सरकारलाई परमादेशबाट विस्थापन गर्नुको उद्देश्य सरकार परिवर्तनमात्रै नभएको उनले दाबी गरेका छन् ।

‘यो त स्वार्थपरक देशी-विदेशी शक्तिका इसारामा नेपाली राजनीतिको अग्रगामी धार नै उल्टो दिशामा फर्काउनु थियो अर्थात् स्पष्टतः प्रतिगमन थियो । सबल बन्दै गएको राष्ट्रिय हित र स्वाभीमानमाथि आँच पुर्‍याउँदै बाह्य चलखेलका लागि ढोका खोल्न, राजनीतिक स्थायित्वलाई समाप्त पार्दै मुलुकलाई अनन्त अस्थिरतातिर धकेल्न र सेटिङका माध्यमबाट सिङ्गो राज्य संयन्त्रलाई सीमित नेताहरूको स्वार्थपूर्तिको माध्यम बनाउन यी सबै प्रपञ्च रचिएको थियो’, उनले भनेका छन् ।

गठबन्धनले मुलुकलाई संकटमा पुर्‍याएर विकास र समृद्धिको यात्रा अवरुद्ध गरी देशलाई ओरालोतिर धकेलिएको आरोप लगाएका छन् ।

‘आगामी निर्वाचन यस सङ्कटको चक्रव्यूहबाट मुलुकलाई मुक्त गर्ने निर्णायक अवसर हो । षड्यन्त्रपूर्ण ढङ्गले विस्थापित गरिएको जनादेशलाई पुनःस्थापित गर्ने मूल्यवान मौका हो’,  उनले भनेका छन्, ‘आफ्नो देशका समस्या देशभित्रैबाट समाधान गर्न हामी सक्षम छौं भनी संसारलाई देखाउने अनुकूल समय हो । यस मौकालाई सदुपयोग गर्न हामी सार्वभौम नेपाली जनतासमक्ष हार्दिक अनुरोध गर्दछौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर