कपिलवस्तु २ मा तीन पूर्वमन्त्रीको रोचक भिडन्त- वृजेशको पाँचौं संसद् यात्रामा सुरेन्द्रले लगाउलान् ब्रेक ? – Nepal Press

कपिलवस्तु २ मा तीन पूर्वमन्त्रीको रोचक भिडन्त- वृजेशको पाँचौं संसद् यात्रामा सुरेन्द्रले लगाउलान् ब्रेक ?

रुपन्देही । कपिलवस्तुबाट लगातार ४ पटक निर्वाचन जितेका वृजेशकुमार गुप्ता क्षेत्र नं २ बाट पाँचौँ पटकको संसद् यात्राका लागि मैदानमा छन् । यसअघि अन्य पार्टीबाट जितेका उनी अहिले ठूलो दलबल लिएर एमालेमा आएका छन् ।

पूर्वमन्त्री, लगातार ४ पटक सांसद बनेका गुप्तालाई पराजित गर्न सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री तथा पूर्वसिँचाइ राज्यमन्त्री सुरेन्द्रराज आचार्य मैदानमा छन् । त्यसो त गुप्ता र आचार्य यसअघिका पनि मुख्य प्रतिस्पर्धी नै हुन् । ०७४ सालमा गुप्ताले आचार्यलाई सोही क्षेत्रबाट पराजित गरेका हुन् ।

२०५६ देखि संसद् यात्रा सुरु गरेका गुप्ता हरेक पटकको निर्वाचनमा पार्टी फेर्दै चुनाव लड्दै आएको आरोप खेपिरहेका छन् । २०५६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजनीतिक यात्रा सुरु गरेका गुप्ताले तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) हुँदै अघिल्लो निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहबाट चुनाव जितेका थिए । २०६४ र २०७० का दुई संविधानसभा निर्वाचन गुप्ताले तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)बाट जितेका थिए । ०७४ मा एमालेको साथमा हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट निर्वाचित गुप्तासँग ३ हजार ५८१ मतले पराजित भएका कांग्रेस नेता आचार्यले यो पटक आफूले सजिलै चुनाव आफूले जित्ने दाबी गर्छन् । गुप्ताले ३५ हजार १२७ मत ल्याउँदा प्रतिद्वन्द्वी आचार्यले ३१ हजार ५ सय ६६ मत पाएका थिए । आचार्य २०७० को दोस्रो संविधान सभाको सदस्य पदमा निर्वाचित भई तीन महिना सिँचाइ राज्यमन्त्री बनेका थिए । दुई कार्यकाल कांग्रेस पार्टीको जिल्ला सभापति भएका आचार्य हाल प्रदेशका महामन्त्री हुन् ।

कपिलवस्तु– २ मा अहिलेसम्म वृजेशको एकछत्र पकडजस्तै बनाएका छन् । जुन दलबाट उठे पनि चुनाव जित्ने भएकाले पनि त्यो प्रभाव देखिन्छ । उनका बुवा भगवानदास गुप्ताले जिल्लामा समाजसेवासँगै राजनीतिमा जोडिएकाले पनि उनलाई धेरै सहज भएको हो । नेपाल विद्युत् प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरको जागिर छाडेर राजनीतिमा होमिएका गुप्ताले निरन्तर सफलता पाएका छन् ।

गुप्ता र आचार्यसँगै पूर्व कृषि तथा सहकारीमन्त्री अकवाल अहमद शाह पनि चुनावी प्रतिस्पर्धामा छन् । शाह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार हुन् । यहाँ अहिले तीन पूर्वमन्त्रीहरू, गुप्ता, आचार्य र शाहबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

समानुपातिकबाट संविधानसभा सदस्य भएका शाह, गुप्ता र आचार्यबीचको त्रिपक्षीय प्रतिस्पर्धा हुनेछ । तर अहिलेसम्मको गठबन्धनको अवस्था हेर्दा गुप्ता र आचार्यबीच नै मुख्य प्रतिस्पर्धा हुने आंकलन स्थानीयको छ ।

लोसपा नेता शाह यो पटक जनताले २५ वर्षदेखि एउटै व्यक्तिले ओगट्दै आएको क्षेत्रमा परिवर्तन चाहेको बताउँछन् । शाहले भने, ‘पदमा बस्ने काम गर्ने नेतालाई परिवर्तन चाहेका छन्, परिवर्तन र नयाँ पुस्ताको बाटो खोल्न चाहन्छु । त्यो कुरा जनताले बुझेका छन् । जिल्लाको विकासमा मेरो योगदान धेरै छ ।’

शाहले एमाले, जसपा र राप्रपा तथा कांग्रेस, माओवादी र नेकपा एसको गठबन्धनले उनीहरू एक्लै जनतामा जान डराएको प्रष्ट भएको बताए । लोसपाको केन्द्रीय कार्यकारी सदस्य रहेका शाह २०७४ मा तत्कालीन राजपाबाट समानुपातिकमा थिए । तर, उनी सांसदमा पर्न सकेनन् । २०५६ मा राप्रपा र २०५१ मा एमालेबाट उम्मेदवार भए पनि पराजित भएका थिए ।

एमाले कपिलवस्तुका अध्यक्ष डम्बर शर्माले वृजेशको जितलाई कसैले रोक्न नसक्ने बताए । ‘कांग्रेस र एमाले यो क्षेत्रमा शक्ति हाराहारीजस्तै छ । त्यसमाथि वृजेशजीको व्यक्तिगत प्रभाव धेरै राम्रो छ । अनि जसपा र राप्रपा गर्दा हामी धेरै मतका साथ जित्छौँ,’ अध्यक्ष शर्माले, ‘त्यो क्षेत्रका धेरै प्रभावशाली नेताहरू एमालेमा आउने क्रम जारी छ, उत्तरमा हाम्रो संगठन पहिलेबाट बलियो हो, दक्षिणमा अहिले आएका सबै साथीहरूको बहुमत छ, निवर्तमान सांसद दीर्घनारायण पाण्डेसहित धेरै साथीहरू आउनुभएको छ, त्यसैले धेरै बलियो बनेका छौँ ।’

चुनाव जितेपछि उनी जनताको सेवामा पनि खटिने शर्माको भनाइ छ । आफूकहाँ जायज समस्या लिएर आउने जो कोही जिल्लावासीका समस्या, मागलाई सहज रूपमा पूरा गर्ने उनको विशेषताका कारण सबैले मन पराउने गरेको दाबी उनले गरे ।

कांग्रेस कपिलवस्तुका सभापति अब्दुल कलामले यो पटक क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवारले वृजेशलाई कुनै पनि हालतमा जान नदिने बताए ।

‘अहिले हामी यहाँ धेरै बलियो छौँ । अब वृजेशले जित्न सजिलो छैन, ४ पटक सांसद र मन्त्री हुँदा जिल्लामा क्षेत्रमा एउटा पनि काम गर्न नसकेको सबैलाई प्रष्ट भएको छ’ कलामले भने । तर देशभर कांग्रेससहितको गठबन्धन भए पनि यहाँ कांग्रेस र लोसपाबीच नै प्रतिस्पर्धा भएकाले थप संकट आचार्यलाई परेको छ ।

पालिका निर्वाचनमा वडा अध्यक्षले पाएको दलगत मत हेर्दा कांग्रेसको ३० हजार ९९८, एमालेको २७ हजार २९८, जसपाको ६ हजार ९०८, लोसपाको ६ हजार ३८६, माओवादी केन्द्रको ४ हजार ४५९, राप्रपाको २ हजार ३५ र नेकपा एसको ६९१ मत रहेको देखिन्छ ।

यहाँ कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको मत ३६ हजार १४८ छ भने एमाले, जनता समाजवादी पार्टी (जसपा), राप्रपाको मत ३६ हजार २४१ छ । कपिलवस्तु २ मा ३४ वटा वडाहरू पर्छन् । कपिलवस्तु नगरपालिकाका ८, यशोधरा गाउँपालिकाका ७, महाराजगञ्ज नगरपालिकाका ८ र बुद्ध भूमि नगरपालिका १० वटा यस क्षेत्रमा समेटिएका छन् ।

२०७० सालसम्म कपिलवस्तुमा प्रतिनिधिसभातर्फ ५ निर्वाचन क्षेत्र थिए । अहिले ३ वटा मात्र छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर