माओवादीको घोषणापत्रमा रेलमार्ग, नेकपा एसको पानीजहाज समेटियो – Nepal Press

माओवादीको घोषणापत्रमा रेलमार्ग, नेकपा एसको पानीजहाज समेटियो

उपत्यकामा मोनो र मेट्रो रेल परियोजना अघि बढाउने माओवादीको घोषणा

काठमाडौं । सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले आज एकैदिन घोषणापत्र सार्वजनिक गरेका छन् । चुनावपछि पार्टी एकता गर्ने गरी संयुक्त घोषणापत्र ल्याउने गृहकार्य असफल भएपछि आज बेग्लाबेग्लै घोषणापत्र ल्याएका हुन् ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेको घोषणापत्रमा रेलमार्ग निर्माणलाई समेटेको छ । घोषणापत्रमा भनिएको छ, ‘पूर्व–पश्चिम रेल सञ्चालन गर्न रेलवे निर्माणको कार्यलाई समयमै सम्पन्न गरिनेछ । वीरगञ्ज–काठमाडौं, रसुवागढी–काठमाडौं, पोखरा–लुम्विनी विद्युतीय रेलमार्ग निर्माणको कामलाई प्राथमिकताता दिइनेछ ।’

काठमाडौं उपत्यकाको बागमती, विष्णुमती, धोवीखोला र मनोहरा कोरिडोरमा मोनोरेल, चक्रपथ वरिपरि र बुढानिलकण्ठ-सानेपा तथा थानकोट-साँगा खण्डमा मेट्रो रेल परियोजना अघि बढाइने घोषणा माओवादीले गरेको छ ।

पोखरा, विराटनगर, बुटवल, जनकपुर, नेपालगञ्जलगायत मुख्य शहरहरूमा मेट्रो र मनोरेल, ट्रलीबसलगायत आधुनिक सार्वजनिक यातायात सञ्चालन गर्ने कामको योजनाबद्ध रूपमा थालनी गरिने उल्लेख गरिएको छ । कोसी, गण्डकी, कर्णालीलगायतका प्रमुख नदी प्रणालीमा जलमार्गको विकासका निम्ति आवश्यक योजना निर्माण गरी कार्यान्वयनमा ल्याइने प्रतिबद्धता जाहेर गरिएको छ ।

यस्तै नेकपा एकीकृत समाजवादी पार्टीले नेपाली ध्वजाबाहक पानीजहाज सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।
घोषणापत्रमा भनिएको छ, ‘नेपालका ठूला नदी तथा नहरहरू र तालहरूमा पर्यटक लक्षित साना पानीजहाजहरू सञ्चालन गरिने छ । भूपरिवेष्ठित मुलुकहरूले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गरी नेपाली ध्वजाबाहक पानीजहाज सञ्चालनका लागि पहल गरिनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर