गठबन्धन दलहरुले पार्टी एकता गरेका होइनन्, घोषणापत्र कार्यान्वयन गर्ने ठाउँमा हुन्छौं : प्रचण्ड – Nepal Press

गठबन्धन दलहरुले पार्टी एकता गरेका होइनन्, घोषणापत्र कार्यान्वयन गर्ने ठाउँमा हुन्छौं : प्रचण्ड

‘माओवादीले आँटेका अधिकांश एजेण्डा सफल हुन्छन्’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले ल्याएको घोषणापत्र कार्यान्वयन हुने दाबी गरेका छन् ।

आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले २०७४ सालमा राम्रो घोषणापत्र ल्याए पनि आफूहरुले कार्यान्वयन गराउने अवसर नपाएको बताए ।

उनले भने, ‘२०७४ सालको निर्वाचनमा हामीले वाम गठबन्धन गरेर राम्रो घोषणापत्र बनाएका थियौं । तर, सरकार सञ्चालन र पार्टीभित्र हाम्रो भूमिका भएन । त्यसकारण हाम्रो प्रतिबद्धता पूरा गर्न सकेनौं । हामीले इमान्दारीका साथ अहिले उल्लेख गरेका छौं । हामी आफैं घोषणापत्र कार्यान्वयन गर्ने ठाउँमा छौं भन्ने लाग्छ ।’

शासकीय स्वरुप परिर्वतनका लागि बहुमत राजनीतिक दलहरु सकारात्मक रहेको उनको भनाइ छ । ‘हामी गठबन्धनमा पनि कुरा गर्छौं । गठबन्धन बाहिरका शक्तिहरुसँग पनि प्रत्यक्ष राष्ट्रपति प्रणालीमा जान सक्छौं । हामी निर्वाचन प्रणाली परिवर्तन गर्न सक्छौं’, प्रचण्डले भने ।

माओवादीले आँटेका अधिकांश एजेण्डा पूरा भएको उनको जिकिर थियो । माओवादीले अघि सारेको शासकीय स्वरुप परिवर्तनमा राष्ट्रिय सहमति बन्ने उनले बताए । गठबन्धनको संयुक्त प्रतिबद्धता यसअघि नै सारसंक्षेपमा आफूहरुले अघि ल्याइसकेको प्रचण्डको भनाइ छ ।

उनले गठबन्धन दल पार्टी एकतातर्फ अघि नबढेको भएकाले सबैले आआफ्नो घोषणापत्र ल्याएको बताए ।

‘सबै दलहरुले आआफ्नो घोषणापत्र जारी गर्दैछन् । गठबन्धन दलहरुले पार्टी एकता गरेका होइनन् । सबै पार्टीका आफ्ना विचार, मूल्य र मान्यता छन् । जनताले थाहा पाउन आवश्यक छ’, उनले भने, ‘गठबन्धन दलहरुले पार्टी एकता गरेका होइनन् । एउटै पार्टी हुने गरी अघि बढेको दल पनि होइन । निश्चित आवश्यकताकोृृ कारणले एकजुट भएका हौं । संविधान र राष्ट्रको रक्षाका लागि गठबन्धन गरेका हौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर