मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा पुग्यो समानुपातिकको मतपत्र – Nepal Press

मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा पुग्यो समानुपातिकको मतपत्र

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । करिब ८ करोड मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म करिब ७ करोड मतपत्र छपाइ भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

मंसिर ३ गतेसम्म कायम हुने मतदाताको संख्याको आधारमा यसपटक समानुपातिकतर्फ करिब ४ करोड तथा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ करिब ४ करोड मतपत्र आवश्यक पर्नेछ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भइसकेको छ भने सोमबारसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ २ करोड ८६ लाख ८८ हजार ५०० मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्तासमेत रहेका उपसचिव ऋषिराम भुसालले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार अब करिब एक करोड १४ लाख मतपत्र मात्र छपाइ गर्न बाँकी छ ।

निर्वाचन आयोगले छपाइसँगसँगै ढुवानी पनि गरिरहेको छ । मनाङ र मुस्ताङबाहेकका जिल्लामा समानुपातिक निर्वाचन प्रणालीततर्फको मतपत्र पठाइएको छ । त्यस्तै प्रत्यक्षतर्फ हालसम्म ७८ लाख ६५ हजार मतपत्र ढुवानी सम्पन्न भएको छ । जसमा प्रतिनिधिसभाको ३९ लाख १९ हजार र प्रदेशसभाको ३९ लाख ४३ लाख छ । केही ठाउँमा भने मतपत्र ढुवानीमा हेलिकप्टरको प्रयोग गरिएको छ ।

प्रत्यक्षतर्फ मतपत्रमध्ये १ करोड २९ लाख ५३ हजार ५०० प्रदेशसभा तथा १ करोड ४६ लाख ३५ हजार प्रतिनिधिसभाको मतपत्र छ ।

आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित मतपत्र प्रयोग गर्ने भएकोले यो पटक निर्वाचन क्षेत्र अनुसार फरक फरक मतपत्र प्रयोग हुने छ । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधि सभाका लागि देशै भर एउटै मतपत्र प्रयोग हुने छ । प्रदेश सभाका लागि भने प्रदेशमा कायम रहेका दलको संख्या अनुसार फरक फरक मतपत्र प्रयोग हुने छ ।

आयोगले ढुवानी भएका जिल्लामा अस्थायी मतदाताका लागि प्रयोग हुने मपतत्रसमेत पठाएको छ । अस्थायी मतदाताको सूचीमा कर्मचारी, सुरक्षाकर्मी, कैदी, वृद्धाश्रमका व्यक्तिलगायतलाई समेटिएको छ । उनीहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभाका लागि मात मतदान गर्न पाउने छन् । १६ गतेसम्ममा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा मतपत्र ढुवानी गरिसक्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर