‘कबड्डी’ देखि ‘महापुरुष’ सम्म : नेपाली चलचित्रको व्यापारमा बहार – Nepal Press

‘कबड्डी’ देखि ‘महापुरुष’ सम्म : नेपाली चलचित्रको व्यापारमा बहार

काठमाडौं । लामो समयदेखि विदेशी चलचित्रको दबदबामा परेर थलिँदै गएको नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय बहार देखिएको छ । लगालग एकपछि अर्को चलचित्र ‘हिट’ हुने दुर्लभ परिदृश्यबीच निर्माता-निर्देशकहरुका मुहार उज्यालिन थालेका छन् ।

विगतमा वर्षभरि एक सय हाराहारी चलचित्र रिलिज हुँदा एकाध चलचित्रमात्रै हलहरुबाट लगानी उठाउन सफल हुन्थे । धेरै निर्माताहरुले चलचित्रमा लगानी गरेर आफ्नो घरबार गुमाएका छन् । त्यसमाथि कोरोनाका कारण चलचित्र क्षेत्र नै दुई वर्ष ठप्पप्रायः भयो । गत वर्षबाट कोरोनाकाल सकिएर चलचित्र क्षेत्र पूर्ण चलायमान बनेको हो । यद्यपि अघिल्लो वर्ष ‘म यस्तो गीत गाउँछु २’ बाहेक अन्य चलचित्रले उल्लेख्य व्यापार गरेनन् ।

वर्ष २०७९ भने नेपाली चलचित्रका लागि फलिफापपूर्ण बन्ने देखिएको छ । यस वर्षका सात महिनासम्ममा ७ वटा चलचित्र ‘हिट’ को सूचीमा उक्लिसकेका छन् । वर्षको पहिलो दिन वैशाख १ मा रिलिज भएको ‘ए मेरो हजुर ४’ ले हाई बजेटको दक्षिण भारतीय चलचित्र ‘केजीएफ २’ सँग जुधेर पनि लगानी सुरक्षित गर्न सफल भएको थियो । अनमोल केसीको स्टारडमले फिल्मलाई जोगायो । यदि महँगो बजेटको विदेशी चलचित्रसँग यसरी भिड्नु नपरेको भए यो चलचित्रको व्यापारिक ग्राफ निकै माथि पुग्न सक्थ्यो ।

पछिल्ला महिनामा भने हलहरुमा विदेशी चलचित्रलाई पन्छाउँदै नेपाली चलचित्र छाइरहेका छन् । जेठमा रिलिज भएको दयाहाङ राई-सौगात मल्ल स्टारर चलचित्र ‘कबड्डी ४’ ले कीर्तिमानी व्यापार गर्‍यो । नेपाली चलचित्रका सबै रेकर्डहरु तोड्दै ब्लकबस्टर बनेको ‘कबड्डी ४’ ले २० करोडभन्दा माथिको व्यापार गरेको छ । नेपाल बाहिर पनि धेरै देशमा ‘कबड्डी ४’ ले दर्शक उरालेको थियो । यो चलचित्रले बनाएका कीर्तिमान यसै वर्ष तोडिनसक्ने सम्भावना न्यून देखिन्छ ।

असार र साउनमा नेपाली चलचित्रको पुरानै गति भयो । यी दुई महिनामा रिलिज भएका चलचित्र बक्स अफिसमा लम्पसार परे । निकै आशालाग्दा चलचित्रमा पनि दर्शकको खडेरी भयो ।

भदौ महिना थुप्रै फिल्म रिलिज हुँदा कसैले नपत्याएको ‘झिंगे दाउ’ ले बाजी मार्‍याे । मौलिक कथाको उठान र रोचक प्रस्तुतीकरणका कारण चलचित्र दर्शकले मन पराए ।

असोजमा चलचित्र ‘प्रेमगीत ३’ विश्वव्यापी रिलिज भयो । हिन्दी भाषामा समेत डब गरिएको यो चलचित्रले पहिलोपटक भारतको मेनस्ट्रिम बजारमा प्रवेश पाएको थियो । नेपाली र हिन्दी भाषामा बनाइएको यो चलचित्रले ३९ करोडको व्यापार गरेको निर्माताको दाबी छ । यो चलचित्र १२ करोडभन्दा बढी लागतमा निर्माण भएको हो ।

असोजमै रिलिज भएको ‘दुई नम्बरी’ पनि हिट चलचित्रको रुपमा दरिएको छ । दयाहाङ राई र सौगात मल्लकै जोडी कबड्डीपछि दोस्रोपटक सफल ठहरियो ।

कात्तिकमा रिलिज भएका दुई चलचित्र पनि लगालग हिट भएका छन् । पहिलो साता रिलिज भएको ‘के घर के डेरा’ र दोस्रो साता रिलिज भएको ‘महापुरुष’ ले दर्शक रिझाउन सफल भए । सानो बजेटमा निर्माण भएको ‘के घर के डेरा’ले लगानी सुरक्षित गरिसकेको निर्माण पक्षले जनाएको छ ।

महापुरुषको चर्चा

गत शुक्रबार रिलिज भएको ‘महापुरुष’ ले अहिले हलहरुमा भीड जम्मा गर्न सफल भइरहेको छ । दर्शकहरु परिवारसँग बसेर एकल बाबुको कथामा बनेको यो फिल्म हेर्न लालायित बनेका छन् ।

लामो समयपछि एउटा फेमिली ड्रामाले दर्शक तान्न सफल भएको हो । आम दर्शकले यो फिल्म औधी रुचाएका छन् भने समीक्षकहरुबाट मिश्रित प्रतिक्रिया आइरहेको छ । चलचित्रमा भावुकताको पक्ष निकै बलियो छ । प्रदीप भट्टराईको लेखन-निर्देशन र हरिवंश आचार्यको अभिनयले चलचित्रलाई सुन्दर बनाएको छ । ब्याक टु ब्याक तीनवटा हिट फिल्म दिइसकेका निर्देशक भट्टराईको यो लगातार चौंथो सफलता हो ।

महापुरुषले रिलिज भएको दुई दिन शुक्रबार र शनिबार साढे दुई करोडभन्दा बढी कलेक्सन गर्‍यो । वर्ड अफ माउथ अत्यन्त बलियो भएकाले यो फिल्म लामो रेसको घोडा बन्न सक्ने आँकलन गरिएको छ । ‘कबड्डी कबड्डी’को रेकर्डतर्फ अघि बढ्न भने महापुरुषले निकै पसिना बगाउनुपर्ने हुन्छ ।

मल्टिप्लेक्समा बढ्दो आकर्षण

देशभर खुलेका आधुनिक मल्टिप्लेक्सहरु ‘नेपाली चलचित्र’ भनेपछि ‘छिछि दुरदुर’ गर्ने गर्थे । शहरिया दर्शक पनि नेपाली चलचित्रभन्दा नाक खुम्च्याउँथे । तर, अहिलेको माहोल केही फेरिएको छ । दर्शकको आकर्षण बढेसँगै मल्टिप्लेक्सहरु नेपाली चलचित्रलाई उल्लेख्य शो दिन बाध्य भइरहेका छन् । अनि, त्यसले उनीहरुलाई आर्थिक फाइदा पनि भएको छ ।

यद्यपि, नेपाली चलचित्र अब उँभो लागिसक्यो भनेर निष्कर्ष निकाल्नु चाहिँ हतारो नै हुन्छ । अहिले कुनै पनि विदेशी फिल्म (मूलतः भारतीय) रिलिज नभएको र चाडबाडको समय पनि भएकाले नेपाली चलचित्रको व्यापार बढोत्तरी भएको हो । यस्तै व्यापारलाई आगामी दिनमा निरन्तरता दिन कम्ति चुनौतीपूर्ण छैन । मेकरहरुले मेहनत गरेर राम्रा चलचित्र बनाउने तथा हल सञ्चालकहरुले विदेशीभन्दा नेपाली चलचित्रलाई प्राथमिकतामा राख्ने बानी विकास गरे हजारौंको रोजीरोटी जोडिएको चलचित्र क्षेत्रले राहत महसुस गर्ने थियो ।

आर्ट मुभीहरु असफल

यसै वर्ष निकै आशा गरिएका केही चलचित्र बक्स अफिसमा नराम्रोसँग पछारिए । खासगरी मौलिक कथामा निर्माण भएका कलात्मक चलचित्रहरुमा दर्शकको आकर्षण नदेखिनु दुःखद पक्षका रुपमा रहेको छ ।

यो वर्ष रिलिज भएकामध्ये ‘प्रकाश’, ‘पानीफोटो’, ‘चिसो मान्छे’, ‘राधा’ जस्ता मौलिक र उत्कृष्ट चलचित्रहरु आफ्नो लगानी उठाउन सफल भएनन् । यद्यपि, यी चलचित्रहरुले नेपाली चलचित्रको स्तरोन्नतिमा केही न केही योगदान दिएकै छन् । यस्ता चलचित्रलाई नेपाल सरकारको तर्फबाट कुनै न कुनै राहत र सहुलियतको आवश्यकता टड्कारो देखिएको छ । अन्यथा नेपाली चलचित्र सधैं व्यवसायिक कथावस्तुमै रुमल्लिइरहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *