नागरिक उड्डयन प्राधिकरणको बाध्यकारी नियम : होला त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान ? – Nepal Press

नागरिक उड्डयन प्राधिकरणको बाध्यकारी नियम : होला त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान ?

रुपन्देही । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ६ महिना भएको छ । तर, यहाँबाट उडान भर्न विमान कम्पनीहरुले चासो देखाएका छैनन् ।

जेठ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाले ४३ अर्ब रुपैयाँ लागतमा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थलको शुभारम्भ गरेका थिए । सरकारले उडान भर्न वायुसेवा कम्पनीहरूलाई पटक-पटक आग्रह गरेको छ । तर, व्यापार घाटा हुने भन्दै ती कम्पनीहरु तर्किरहेका छन् ।

जजिरा एयरलायन्सले यहाँबाट पहिलो अन्तर्राष्ट्रिय उडान भरेको थियो । उसले दसैंअघि दैनिक एक उडान भर्ने भन्दै केही दिन उडान चलाएको पनि थियो । तर, यसलाई निरन्तरता दिन सकेन । अहिले सुरुकै जस्तै साताको तीन दिनमात्रै जजिराले उडान भर्दै आएको छ ।

गौतम बुद्ध विमानस्थलबाट जजिराबाहेक अरुले उडानमा चासो नदेखाउनु विमान कम्पनीको व्यापार सुनिश्चितता नहुनु भएको आंकलन गरिएको छ । विमान कम्पनीहरुले यहाँबाट वैदेशिक रोजगारमा जाने र आउने नेपाली, लुम्बिनीसँग जोडिएकाले विदेशी पर्यटक बढी ओहोरदोहोर हुने गरी यात्रु पाउने अपेक्षा गरेका छन् । तर, पूर्वाधार अभावले समस्या भएको विमान कम्पनीहरुको भनाइ रहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनभन्दा बढी उडान भर्ने कम्पनीलाई अनिवार्य भैरहवा जान भनिरहेको छ । त्यही बाध्यात्मक निर्देशन पालना नगर्दा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका त्रिभुवन विमानस्थलबाट हुने उडान प्रभावित भएका छन् ।

पूर्वाधार अभावले समस्या

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जानेहरुका लागि आवश्यक पर्ने पूर्वाधार छैन । कुनै म्यानपावर कम्पनीको कार्यालय पनि छैन । सरकारले नै म्यानपावर कम्पनीको शाखा खोल्ने अनुमति रोकेर राखेको छ ।

‘म्यानपावर कम्पनी नै नभएको शहरबाट वैदेशिक रोजगारी लक्षित उडान कसरी गर्ने ?’, नागरिक उड्ययन प्राधिकरणको पत्र पाएको एक एअरलाइन्स कम्पनीका अधिकारी भन्छन्, ‘वैदेशिक रोजगारीमा जानेलाई त्यहाँबाट उडाउने हो भने काठमाडौंमा जत्तिकै पूर्वाधार हुनुपर्छ ।’

विदेश जानेहरुको मेडिकल जाँच पनि भैरहवामा हुँदैन । त्यसका लागि सरकारले अनुमति जारी गरेर स्तरीय डाइग्नोस्टिक सेन्टरहरु खोल्नुपर्छ । फेरि श्रम स्वीकृतिबाहेकका सबै प्रक्रिया पूरा गर्न काठमाडौं जानैपर्ने हुँदा विदेश जाने श्रमिकको खर्च थपिने जोखिम पनि छ । वैदेशिक रोजगारमा जानेले नयाँ श्रम स्वीकृत लिएर अभिमुखीकरण कक्षा लिन पनि काठमाडौं नै जानुपर्ने अवस्था छ ।

हालको अवस्थामा काठमाडौंमा सबै प्रक्रिया पुरा गरेर उतैबाट उड्न सहज रहेको ती अधिकारी बताउँछन् । म्यानपावरको सेवा, मेडिकल, अभिमुखीकरणलगायत सबै सेवा उपलब्ध भएपछि भने विदेश जाने नेपालीका लागि भैरहवा रोजाइको विमानस्थल बन्ने ती अधिकारीको भनाइ छ ।

अहिले कतार र यूएईका भिसा सेन्टर पनि काठमाडौंमा मात्रै छन् । अन्य कतिपय देशमा जान ‘बायोमेट्रिक’ दिनुपर्ने सुविधा पनि कठमाडौं केन्द्रित छ ।

नयाँ श्रम स्वीकृतिका लागि भने यही कात्तिक ३ गतेदेखि भैरहवाबाटै सेवा सुरु भएको विमानस्थलका महाप्रवन्धक दाहालले बताए । उनले दैनिक ४० वटा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने क्षमता रहेको बताए । ४० को साटो सातामा ३ उडान हुँदा पनि त्यति नै स्रोतसाधन र जनशक्ति चाहिने उनले बताए ।

काठमाडौंमा उडान थपिरहेका वायुसेवा कम्पनीहरु उपलब्ध छुट सुविधाहरु पर्याप्त नभएको तर्क गरेर भैरहवालाई गन्तव्य मान्न तयार भएका छैनन् । हाल नयाँ अन्तर्राष्ट्रिय विमानस्थल घाटामा सञ्चालन भइरहेको छ । विमानस्थलले अहिले ल्यान्डिङ, पार्किङ र नेभिगेसन शुल्कमा शतप्रतिशत छुट दिएको छ । विमान कम्पनीले यस्तो छुटबाट एक उडानमा करिब एक लाख रुपैयाँ सहुलियत पाउँछ ।

गौतमबुद्ध विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ गरिरहेको नेपाल एयरलाइन्सले सेवा शुल्कमा ५० प्रतिशत छुट दिएको छ । यसबाट विमान कम्पनीहरुले प्रतिउडान करिब डेढ लाख बचाउँछन् । यस्ता छुटले अरु कम्पनीहरुलाई पनि लुम्बिनीमा आकर्षित गर्ने सम्भावना रहेको विमानस्थलका प्रवक्ता सुवास झा बताउँछन् ।

‘नयाँ विमानस्थल सेवा शुल्क नियमावली गत जेठ १४ देखि लागु भएको छ । त्यसकारण उक्त मितिबाट एक वर्षसम्म वायुसेवा सञ्चालकहरूले छुट पाउनेछन्’, दाहालले भने ।

सरकारले उपलब्ध गराएको छुट अझै बढ्न सक्ने आकलनका कारण पनि कतिपय वायुसेवा कम्पनीले अहिले नै सेवा सुरु गर्न नचाहेको हुन सक्ने विमानस्थलका कर्मचारीहरू बताउँछन् ।

विज एयरको उडान स्थगित

विमानस्थलमा उडान गर्ने तयारीमा रहेको विज एअरले प्राविधिक कारण देखाएर उडानको पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको छ ।

अक्टोबर ३० देखि गौतमबुद्ध विमानस्थलमा उडान गर्ने गरी नागरिक उड्डयन प्राधिकरणसँग स्वीकृति लिएर उडान तालिकासमेत मागेको विज एअरले के कारणले उडान स्थगित ग¥यो भन्नेबारे भने केही उल्लेख गरेको छैन ।

‘प्राविधिक कारणवश उडान स्थगित गरेको भन्ने सुनिएको छ, विस्तृत जानकारी आएको छैन’, विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले भने ।

भैरहवामा विज एयरले एयरबसको ३२१ निओ सिरिजको जहाज सञ्चालनमा ल्याउने योजनाअनुसार उडान तालिका मागेको थियो । विजको १९० सीट क्षमताको उक्त जहाज नेपालमै पहिलोपटक उडान गर्न लागेको बताइएको थियो ।

उक्त जहाज एयरबस कम्पनीले उत्पादन गरेको पछिल्लो संस्करणको जहाजमध्ये एक रहेको बताइएको छ । विज एयरको मिडिल इस्टमा एसिया हब अवुधाबीमा रहेको र आफूहरु एयर बस ३२१ नियो सिरिजको जहाजमार्फत उडान सेवा दिने तयारीमा रहेको वायुसेवाको नेपालका लागि आधिकारिक जीएसए सोसाइटी इन्टरनेशनल ट्राभलका अध्यक्ष रविचन्द्र सिंहले बताए ।

विमानस्थल सञ्चालनका लागि दैनिक पाँच उडान आवश्यक भए पनि अहिले सातामा तीनवटामात्रै अन्तर्राष्ट्रिय उडान भैरहेको छ । नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, एयर अरेबिया, फ्लाइ दुबई र कतार एयरवेजलाई कम्तिमा एउटा उडान भैरहवाबाट गर्न सर्कुलर नै जारी गरेको छ ।

प्राधिकरणले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई उडान तालिकामा भैरहवाबाट पनि उड्न बाध्यकारी गराउने गरी त्रिभुवन विमानस्थलबाट हुने केही उडान कटौती गरेको छ । दैनिक तीनभन्दा बढी उडान गर्ने वायुसेवा कम्पनीले पुरानो गन्तव्यमा थप उडान गर्न भैरहवाबाटै उड्नुपर्ने नियम बनाइएको छ । विदेशी वायुसेवा कम्पनीलाई भने १५ डिसेम्बरसम्म भैरहवमा उडान भर्ने तालिका बनाउन समय दिइएको छ ।

यस्तो उडान नगरेका कारण आइतबार नेपाल एयरलाइन्सको दिल्ली उडान रोकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *