देशभित्र खपत र निर्यात बढाउन विद्युतीय पूर्वाधार विस्तार गर्दै विद्युत प्राधिकरण – Nepal Press

देशभित्र खपत र निर्यात बढाउन विद्युतीय पूर्वाधार विस्तार गर्दै विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित विद्युत आन्तरिक रुपमै खपत गर्न प्रसारण तथा वितरण प्रणालीलाई थप विस्तार र सुदृढ गर्ने भएको छ । देशभित्र खपत गरी बढी भएको विद्युत भारत र बंगलादेशमा निर्यात गर्न प्राधिकरणले थप प्रसारण पूर्वाधार विस्तार गर्नेछ ।

विद्युत खपत वृद्धिको सम्भावना रहेका प्रदेश नं १ अन्तर्गतका सुनसरी, मोरङ र झापा जिल्लालाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउने भएको हो । साथै भारत र बंगलादेशमा विद्युत निर्यातका लागि थप प्रसारण लाइन पूर्वाधारको निर्माण हुन लागेको छ ।

प्राधिकरणले मुलुकमा उत्पादित विद्युत आन्तरिक रुपमै खपत बढाउन अल्पकालीन र दीर्घकालीन योजनासहित प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण तथा पूर्वाधार विस्तार अभियान चलाइरहेको छ । सञ्चालनमा रहेका पूर्वाधारहरुको स्तरोन्नति गर्ने प्राधिकरणको कार्यक्रम छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल र प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार विद्युत खपत बढाउन तथा निर्यातका लागि सुनसरी, मोरङ र झापामा आवश्यक पर्ने पूर्वाधारका विषयमा स्थलगत अवलोकन भ्रमण गरी जानकारी लिएको थियो ।

टोलीले भारतको पश्चिम बंगाल राज्यबीच अन्तरदेशीय विद्युत प्रसारण लाइन निर्माणको सम्भावना, बंगलादेशतर्फ विद्युत निर्यातका सबैभन्दा छोटो रुट, प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि उपयुक्त स्थानलगायतको पहिचाहन गर्न स्थलगत अध्ययन गरेको छ । टोलीले सुनसरी, मोरङ र झापामा निर्माणाधीन र हाल सञ्चालनमा रहेका विद्युत प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचनाका विषयमा पनि स्थलगत अध्ययन गरी जानकारी लिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युत आपूर्तिलाई भरपर्दो तथा विश्वसनीय बनाउन र बस्ती विस्तार तथा औद्योगिक करिडोर स्थापनाको सम्भावना भएका ठाउँहरुलाई लक्षित गरी प्रसारण तथा वितरण पूर्वाधार विस्तार गर्न लागिएको बताए ।

‘दीर्घकालीन रुपमा भारत र बंगलादेशतर्फ विद्युत निर्यातका लागि भारतको सिलिगुढी, पूर्णिया र किशनगञ्ज विन्दुहरु नजिक पर्ने देखिएको छ । त्यसैले ४०० केभीको इनरुवा सबस्टेसनबाट हुलाकी राजमार्गको आसपास हुँदै ४०० केभी प्रसारण लाइन निर्माण गरी झापाको अनारमनी क्षेत्रमा ४०० केभी सबस्टेसन बनाएर प्रसारण सञ्जाल विस्तार गर्नुपर्ने देखिएको छ’, उनले भने, ‘यो लाइन अत्यावश्यक छ । यसबाट त्यस क्षेत्रको विद्युत आपूर्ति भरपर्दो र विश्वसनीय भई खपत बढ्नेछ । भारत र बंगलादेशमा विद्युत निर्यातका लागि थप प्रसारण सञ्जाल तयार हुनेछ ।’

घिसिङ नेतृत्वको टोलीले पावर ग्रिड भारतको पश्चिम बंगालको सिलिगुढीस्थित ४००/२२० केभी विनागुढी सबस्टेसनको भ्रमण गरी विद्युत आयात निर्यातको जानकारी लिएको थियो । सबस्टेसनमा भूटानको ताला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत जोडिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *