‘महापुरुष’ हेर्न हल पुगिन् ९१ वर्षीया भीममाया ओझा – Nepal Press

‘महापुरुष’ हेर्न हल पुगिन् ९१ वर्षीया भीममाया ओझा

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘महापुरुष’ ९१ वर्षीय ज्येष्ठ नागरिकले पनि हेरेकी छन् । ‘महापुरुष’ हेर्न बागलुङ स्थायी घर भएकी ९१ वर्षीया भीममाया ओझा लौरो टेकेर काठमाडौंको बालाजुमा रहेको आईएनआई लोत्से हल पुगेकी हुन् ।

ओझासँग उक्त चलचित्र निर्माण टोलीले सामूहिक तस्वीर खिचाउँदै चलचित्रका लेखक तथा निर्देशक प्रदीप भट्टराईसँगै कलाकार गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइलीलगायतले आशीर्वाद पनि लिएका छन् ।

ओझा आफ्नो पनातिको भात खुवाइमा सहभागी हुन काठमाडौं आएको मौकामा परिवारसँगै उक्त चलचित्र हेर्न पुगेकी थिइन् । प्रदर्शनको दिनदेखि आक्रामक व्यापार गरिरहेको ‘महापुरुष’ हेर्न बालकदेखि वृद्धसम्मको चाप बढेको छ । आइतबार र सोमबार पनि सिनेमाले आक्रामक व्यापारलाई निरन्तरता दिइरहेको छ ।

शनिबारमात्रै भक्तपुरस्थित क्यूएफएक्स हलमा एकै परिवारका २८ जना सदस्यले सिनेमा हेरेका थिए ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार सिनेमालाई दर्शकले अत्यधिक रुचाएका छन् । सिनेमालाई समीक्षकले पनि राम्रो भनेका छन् ।

एकल अभिभावकको एक्लोपनको कथा भन्ने सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, रवीन्द्रसिंह बानियाँ, राजाराम पौडेल, सिरु बिष्ट, कोपिला थापा, नरेश पौडेललगायतका कलाकारको अभिनय छ ।

दीपक बज्राचार्यको छायांकन र मित्र डी गुरुङको सम्पादन रहेको सिनेमामा रवीन्द्रसिंह बानियाँको कार्यकारी निर्माण र म्याक्स दीपेश खत्रीको निर्माण रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *