दुई खेलमा जीत नजिक पुगेर स्तब्ध पाकिस्तानलाई पहिलो सफलता, सेमिफाइनलमा पुग्न भारतको भर – Nepal Press

दुई खेलमा जीत नजिक पुगेर स्तब्ध पाकिस्तानलाई पहिलो सफलता, सेमिफाइनलमा पुग्न भारतको भर

मेलबर्न । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत सुपर- १२ मा पाकिस्तानले पहिलो जीत हात पारेको छ । पाकिस्तानले आफ्नो तेस्रो खेलमा आइतबार नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो । टस जितेर पहिला ब्याटिङ गरेको डच टोलीलाई ९१ रनमा सीमित गर्दै पाकिस्तानले जीतको आधार बलियो बनाएको थियो ।

पाकिस्तानका बलर सदाब खानले तीन र मोहम्मद वासिमले दुई विकेट लिए । साहिन शाह अफ्रिदी, नसिम शाह र ह्यारिस रौफको नाममा एकएक विकेट रह्यो ।

पाकिस्तानले १३.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ४९ रन बनाए ।

समूह २ मा पाकिस्तानले तीन खेलबाट दुई अंक जोडेको छ। दुई खेल खेलेको भारत ४ अंकसहित शीर्षस्थानमा छ। बंगलादेशको पनि तीन खेलबाट ४ अंक छ । २ खेल खेलेको दक्षिण अफ्रिका र तीन खेल खेलेको जिम्बावेको समान ३ अंक छ ।

पाकिस्तानले अघिल्ला दुई खेलमा भारत र जिम्बावेसँग पराजय व्यहोरेको थियो । दुवै खेलमा पाकिस्तान जीत नजिक पुगेर स्तब्ध भएको थियो ।

६ टोली रहेको समूहमा नेदरल्यान्ड्सले लगातार तेस्रो हार ब्यहोरेको छ । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । पाकिस्तानले दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्न बाँकी छ । सेमिफाइनलमा पुग्ने सम्भावना कायम राख्न पाकिस्तानले बाँकी दुवै खेल जित्नुपर्नेछ ।

तर, त्यतिले मात्र पुग्दैन । भारत, दक्षिण अफ्रिका र बंगलादेशका बाँकी खेलको नतिजा पनि हेर्नुपर्नेछ । पाकिस्तानले दुई खेल हारिसकेकाले अगाडि बढ्ने सम्भावना कायम राख्न बाँकी सबै खेल जित्नुपर्ने र समूहका ६ मध्ये अन्य चार टोलीले पनि कम्तिमा दुई खेल हार्नुपर्ने हुन्छ ।

भारतले बाँकी तीनवटै खेल जितेको अवस्थामा र आफ्ना पनि बाँकी दुवै खेल जितेको अवस्थामा पाकिस्तान सेमिफाइनल पुग्नेछ । भारतले दक्षिण अफ्रिका, बंगलादेश र जिम्बावेसँग खेल्न बाँकी छ ।

तर, जारी विश्वकपमा वर्षाका कारण खेलहरु रद्ध भएर अंक बाँडिरहेको अवस्थामा पाकिस्तानलाई त्यति सजिलो भने छैन । समान अंक भएको अवस्थामा अगाडि बढ्ने टोलीको टुंगो नेट रनरेटका आधारमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर