उच्च लयमा लियोनल मेस्सी – Nepal Press

उच्च लयमा लियोनल मेस्सी

पेरिस । कतार विश्वकप नजिकिँदै जाँदा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी उच्च लयमा देखिएका छन्। फ्रान्सको घरेलु लिगमा पीएसजीले शनिबार राति ट्रोयसलाई ४–३ गोलले हराउँदा मेस्सीले एक गोल र एक असिस्ट गरे। नेमार, केलियन एमबाप्पे र कार्लोस सोलरले पनि गोल गरे। एमबाप्पेले पेनाल्टीमार्फत गोल गरेका थिए भने सोलरको गोलमा नेमारको पास थियो।

नेमारको गोलमा मेस्सीले पास उपलब्ध गराएका थिए। खेलमा दुईपटक अग्रता लिएर पनि ट्रोयसले जोगाउन सकेन। मामा बाल्डीले तेस्रो मिनेटमै अग्रता दिलाएका थिए। तर २४ औं मिनेटमा सोलरले खेल बराबरीमा ल्याए। ५२ औं मिनेटमा बाल्डीको गोलमा भ्रमणकारी टोलीले फेरी अग्रता लिएको थियो।

तर मेस्सीले तीन मिनेलगत्तै करिब २२ यार्ड टाढाबाट गरेको प्रहार गोल भएपछि खेल फेरी बराबरीमा आयो। त्यसपछि ६२ औं मिनेटमा मेस्सीले करिब मध्यभागबाट उपलब्ध गराएको लङ पासमा नेमारले अफ साइड ट्रयाप बिट गर्दै गोल गरेका थिए। एमबाप्पेले ७७ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई ४–२ गोलले अगाडि बढाए। अन्तिम समयमा ट्रोयसले गोल फर्काएपनि हार टार्न सकेन। मेस्सीले लगातार तेस्रो खेलमा गोल गरेका हुन्।

उनले आफुले पछिल्लो समय क्लब र देशका लागि खेलेका १० मध्ये एउटामा मात्र गोल गर्न सकेका छैनन्।उनले यो सिजन घरेलु लिगमा ७ गोल र १० असिस्ट गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा पाचौँ स्थानमा छन्। शीर्षस्थानमा रहेका एमबाप्पेको ११ गोल र दुई असिस्ट तथा दोस्रो स्थानका नेमारको १० गोल र ८ असिस्ट छ। १७ वर्ष बार्सिलोनामा खेलेर पीएसजीमा बिताएको गत पहिलो सिजनमा मेस्सी लय समाउन संघर्षरत देखिएका थिए।

उनले पीएसजीका लागि गत सिजन ३४ खेलमा ११ गोल मात्र गरेका थिए। यो सिजन उनले क्लबका लागि १७ खेलमा १२ गोल गरिसकेका छन्। टोवीका तीन स्ट्राइकर मेस्सी, एमबाप्पे र नेमारको उच्च लयपछि पीएसजीले यो सिजन घरेलु लिगमा ५ अंकको अग्रता बनाएको छ।। १३ खेलपछि पीएसजीको ३५ र दोस्रो स्थानको लेन्सको ३० अंक रहेको छ। युरोपका शीर्ष पाँच घरेलु लिगमा यो सिजन पीएसजी र इटालीको नापोली मात्र अपराजित रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर