कतार विश्वकपः मेस्सी र रोनाल्डोलाई ‘अन्तिम’ अवसर – Nepal Press

कतार विश्वकपः मेस्सी र रोनाल्डोलाई ‘अन्तिम’ अवसर

लन्डन । लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले सिनियर राष्ट्रिय टोलिबाट उपाधि नजित्दासम्म उनीहरु पेले र डिएगो म्याराडोनाजति महान होइनन् भन्नेहरुले प्रश्न गर्थे– खोइ त अन्तर्राष्ट्रिय उपाधि जितेको ?

पेलेले ब्राजिलका लागि तीनपटक विश्वकप जितेका थिए । यता म्याराडोना पनि एकपटक विश्व च्याम्पियन बनेका थिए । तर, मेस्सी र रोनाल्डोले अन्तर्राष्ट्रिय उपाधिकै लागि लामो प्रतिक्ष गर्नुपरेको थियो ।

रोनाल्डोले सन् २०१६ को युरोकप जितेर आलोचकहरुलाई केही शान्त बनाए । तर अर्को तर्क उठ्यो– खोइ त विश्वकप जितेको ?

यता मेस्सीमाथी दबाब बढ्दो थियो । उनले अर्जेन्टिनाको सिनियर टोलीबाट अन्तर्राष्ट्रिय उपाधि जित्न सकिरहेका थिएनन् । अन्तत, गत वर्ष आयोजना भएको कोपा अमेरिका जितेर मेस्सीले पनि आलोचकको मुख अलिकति बन्द गराए । सन् १९९३ पछि सिनियर अन्तर्राष्ट्रिय उपाधि नजितेको अर्जेन्टिनाले पनि केही राहत महसुस ग¥यो ।

यसका बाबजुद ‘सर्वकालिन महान’ को रूपमा दरिन मेस्सी र रोनाल्डोमाथि विश्वकप जित्ने दवाव कायमै छ । केही दिनमा सुरु हुने कतार विश्वकप उनीहरु दुवैका लागि अन्तिम मौका हो ।

महानको सूचीमा चढ्ने इच्छा मेस्सी र रोनाल्डो स्वयम्लाई कति छ, सायद उनीहरुलाई नै बढी थाहा होला । तर यति चाहीँ भन्न सकिन्छ, देशको प्रतिनिधित्व गर्ने हरेक खेलाडी विश्वकप जित्न चाहन्छ । रोनाल्डो र मेस्सीजस्ता खेलाडीलाई त्यस्तो इच्छा अझ बढी हुनु स्वभाविक हो । फेरि, योभन्दा पछिको विश्वकप उमेरका कारण उनीहरुले नखेल्ने निश्चित छ ।

क्लब फुटबल र अन्तर्राष्ट्रिय फुटबलका प्राय व्यक्तिगत कीर्तिमानहरु कि त मेस्सीको नाममा छन् कि त रोनाल्डोको नाममा । रोनाल्डो सिनियर अन्तर्राष्ट्रिय फुटबलका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् । महादेशीय भए पनि विश्वको सबैभन्दा ठुलो क्लब प्रतियोगिता मानिने युरोपियन च्याम्पियन्स लिगका पनि उनी सर्वाधिक गोलकर्ता हुन् ।

उनले फिफा वर्ष खेलाडी अवार्ड पाँचपटक जितेका छन् ।

यता,मेस्सीले यो अवार्ड सर्वाधिक सातपटक हात पारेका छन् । अधिकांश कीर्तिमानहरुमा मेस्सी र रोनाल्डो अघिपछि देखिन्छन् । सन् २००८ देखि २०१८ सम्म फिफा वर्ष खेलाडी अवार्ड यी दुईबाहेक अन्य खेलाडीको पोल्टामा गएन । त्यसैले उनीहरुमध्ये को सर्वोत्कृष्ट भन्नेमा पनि एकमत छैन ।

एकथरी विश्लेषकहरु यी दुई खेलाडीबीच तुलना गर्न नहुने र दुवै महान् भएको तर्क गर्छन् । योस्तरका खेलाडीहरु एउटै पुस्तामा देख्न पाउनु र टेलिभिजनमै सही, मैदानमा आमनेसामने भएको साक्षी बन्न पाएकोमा फुटबलप्रेमीहरु गर्व गर्छन् र आफूलाई भाग्यमानी ठान्छन् । सिनियर अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको मेस्सीले १७ वर्ष र रोनाल्डोले १९ वर्ष भएको छ । यसबीचमा भएका विश्वकप मेस्सी र रोनाल्डो दुवैले ४÷४ पटक खेलेका छन् ।

मेस्सीले खेल्न थालेयता अर्जेन्टिना सन् २००६ को विश्वकपमा क्वाटरफाइनल, सन् २०१० मा क्वाटरफाइनल, सन् २०१४ मा फाइनल र सन् २०१८ मा  प्रिक्वाटरफाइनलसम्म पुगेको छ । यस्तै महादेशीय प्रतियोगिता कोपा अमेरिकामा सन् २००७ मा फाइनल, सन् २०११ मा क्वाटरफाइनल सन् २०१५ र २०१६ मा फाइनल, सन् २०१९ मा सेमिफाइनल र सन् २०२१ मा उपाधिसम्मको यात्रा तय गरेको छ ।

यस्तै रोनाल्डोले खेल्न थालेयता पोर्चुगल विश्वकपमा सन् २००६ मा सेमिफाइनल, सन् २०१० मा प्रिक्वाटरफाइनल, सन् २०१४ मा समूहगत चरण र सन् २०१६ मा प्रिक्वाटरफाइनलसम्म पुग्यो । यस्तै युरोकपमा सन् २००४ मा फाइनल, २००८ मा क्वाटरफाइनल, सन् २०१२ मा सेमिफाइनल, सन् २०१६ मा उपाधि र सन् २०२० मा प्रिक्वाटरफाइनलसम्मको यात्रा तय गरेको छ । यसबीचमा मेस्सीलाई सन् २०१४ को विश्वकपको सर्वोत्कृष्ट खेलाडीका रुपमा गोल्डेन बल दिइएको थियो ।

रोनाल्डोले पहिलो ठुलो प्रतियोगिताका रुपमा सन् २००४ मा युरोकप खेलेका थिए । घरेलु मैदानमा आयोजित त्यस प्रतियोगितामा पोर्चुगल फाइनलसम्म पुगेको थियो । ग्रीससँग भएको उपाधि भिडन्तमा पोर्चुगल १–० गोलले पराजित भएको थियो। त्यसअघि रोनाल्डोले सेमिफाइनलमा नेदरल्यान्ड्सलाई २–१ गोलले हराउँदा एक गोल गरेका थिए । प्रतियोगितामा रोनाल्डोले दुई गोल गरेका थिए ।

सन् २००६ मा उनीहरु दुवै सहभागी पहिलो विश्वकपमा दुवैले एक–एक गोल गरे । ती दुवै गोल समूह चरणमा थिए । त्यसको एक वर्षपछि अर्जेन्टिना कोपा अमेरिकाको फाइनलसम्म पुगेर उपाधि भिडन्तमा ब्राजिलसँग ३–० गोलले निराश भएको थियो । मेस्सीले समूहगत चरण र क्वाटरफाइनलमा एक–एक गोल गरेका थिए । मेस्सीकै प्रेरणामा अर्जेन्टिनाको यू–२३ राष्ट्रिय टोलीले सन् २००८ आयोजित बेइजिङ ओलम्पिकमा स्वर्ण पदक जितेको थियो ।

सन् २०१० को विश्वकपमा म्याराडोनाले प्रशिक्षण सम्हालेकाले अर्जेन्टिनाको चर्चा बढी थियो । तर अर्जेन्टिना जर्मनीसँग ४–० गोलले पराजति भएर घर फर्कियो । स्पेनले पोर्चुगललाई १–० गोलले पाखा लगायो । प्रतियोगिताभर रोनाल्डोले फेरी एक गोल गरे भने मेस्सी भने गोलबिहिन बन्न पुगे ।

सन् २०११ को कोपा अमेरिकामा क्वाटरफाइनलबाटै अर्जन्टिना बाहिरिएपछि नयाँ प्रशिक्षकका रुपमा अलेजान्द्रो साबेला भित्रिए । यता सन् २०१२ को युरोकपमा पोर्चुगल सेमिफाइनलसम्म पुगे पनि स्पेन फेरी एकपटक बाधक बन्यो । पोर्चुगल टाइब्रेकरमा पराजित भयो । रोनाल्डोले प्रहार गर्न बाँकी छँदै स्पेन अगाडी बढ्ने पक्का भएको थियो । त्यस युरोकपमा रोनाल्डो ३ गोल गरेर अन्य पाँच खेलाडीसहित सर्वाधिक गोलकर्ता बनेका थिए । सन् २०१४ को विश्वकपअघि मेस्सी चारपटक र रोनाल्डो तीनपटक फिफा वर्ष खेलाडी भइसकेका थिए ।

मेस्सी यो अवार्ड सर्वाधिक जित्ने खेलाडी बनेको एक वर्षपछि उक्त विश्वकप खेल्दै थिए । अर्जेन्टिनाले २४ वर्षपछि विश्वकपको फाइनलमा स्थान बनाएपछि मेस्सी उपाधि जितेर आलोचकलाई जवाफ दिने संघारमा पुगेका थिए । तर जर्मनीले फाइनलमा अतिरिक्त समयको अन्त्यतिर गोल गर्दै अर्जेन्टिना र मेस्सीलाई निराश बनायो । समूहगत चरणका तीनवटै खेलमा गोल गरेका मेस्सीले त्यसपछि गोल गर्न नसके पनि उनी टोलीको फाइनल यात्रामा प्ले मेकरको भूमिकामा देखिएका थिए । त्यस विश्वकपमा रोनाल्डोले एक गोल गरेका थिए । मेस्सीको दुर्भाग्य निरन्तर चलिरह्यो ।

सन् २०१५ र २०१६ मा आयोजित कोपा अमेरिकाको फाइनलमा पुगेपनि अर्जेन्टिना दुवै पटक चिलिसँग टाइब्रेकरमा पराजित भएको थियो । सन् २०१६ मा चिलीसँग फाइनलमा हारेपछि मेस्सीले ‘आफ्नो भागमा सिनियर राष्ट्रिय टोलीबाट उपाधि जित्न लेखिएको रहेनछ’ भन्दै सन्यासको घोषणा गरे । उनको यस्तो घोषणाबाट विश्व फुटबल नै स्तब्ध बनेको थियो ।

उता सोही वर्ष रोनाल्डोले युरोकप जितेका थिए । फाइनलमा फ्रान्सविरुद्ध अतिरिक्त समयमा १–० गोलको जित हात पार्दै पोर्चुगल विजेता बनेको थियो । तर त्यस फाइनल दौरान घाइते भएका कारण रोनाल्डो रुँदै बाहिरिए । पटकपटक मैदान फर्कने प्रयास असफल भएपछि उनले घाइते अवस्थामै मैदानबाहिरबाट सहकर्मीहरुको हौसला बढाएका थिए । त्यस युरोकपमा रोनाल्डोले समूहगत चरणमा हंगेरीविरुद्ध २ र सेमिफाइनलमा वेल्सविरुद्ध एक गोल गरे ।

यता, मेस्सीको सन्न्यास घोषणा फिर्ता गराउन अर्जेन्टिनामा अभियान नै चलाइयो । विश्वकप छनोटमा अर्जेन्टिनाको अवस्था कमजोर बनेपछि मेस्सी सन्यास फिर्ता लिन तयार देखिए । अन्ततः उनकै निर्णायक प्रदर्शनमा अर्जेन्टिनाले विश्वकप यात्रा तय ग¥यो ।

तर विश्वकपमा फ्रान्सले अर्जेन्टिनालाई अगाडि बढ्न दिएन । प्रिक्वाटरफाइनलमा अर्जेन्टिना ४–३ गोलले पराजित भयो । मेस्सीले प्रतियोगितामा एक गोल मात्र गर्न सके । पोर्चुगलको यात्रा पनि दोस्रो चरणमै सिमित भयो । उरुग्वेसँग २–० गोलले पराजित भएर पोर्चुगल घर फर्किएको थियो । तर समूहगत चरणमा स्पेनसँग ३–३ गोलको बराबरी हुँदा रोनाल्डोले गरेको ह्याट्रिक वर्षौसम्म चर्चायोग्य रहने छ । रोनाल्डोले प्रतियोगितामा चार गोल गरेका थिए ।

एक वर्षअघि आयोजना भएको युरोकपमा पोर्चुगल फेरी प्रिक्वाटरबाटै विदा भयो । बेल्जियमले १–० गोलले पोर्चुगललाई हराएको थियो । समूह चरणका तीन खेलमा ५ गोल गरेका रोनाल्डो बेल्जियमविरुद्ध भने खह्रो उत्रन सकेनन् । यता सन् २०१९ मा आयोजित कोपा अमेरिकामा ब्राजिलसँग पराजित भएर सेमिफाइनलबाटै बाहिरिएको अर्जेन्टिनले त्यसयता एक खेल पनि हारेको छैन ।

यही यात्रामा गत वर्ष कोपा अमेरिका जितेको थियो, फाइनलमा ब्राजिललाई हराएर । अबका तीन खेलमा पनि हार नब्यहोरे अर्जेन्टिना सिनियर अन्तर्राष्ट्रिय फुटबलमा लगातार सर्वाधिक खेल नहार्ने टोली बन्ने छ । यो कीर्तिमान हाल ३७ खेलसहित इटालीको नाममा छ ।

लयमा फर्कन संघर्ष

रोनाल्डोले सन् २०१८ मा रियल म्याड्रिड छाडेपछि र मेस्सीले सन् २०२० मा बार्सिलोना छाडेपछि यी दुवै खेलाडीले स्वभाविक लय गुमाएका छन् । रोनाल्डो त पछिल्लो समय सुरुवाती–११ मा समावेश नै हुन छाडेका छन् । मेस्सीको भने गोल गर्ने गति कम भएपनि प्ले मेकरको छवीलाई भने‍ कायमै राखेका छन् ।

सिनियर राष्ट्रिय टोलीबाट भने यी दुवै खेलाडीको प्रदर्शन राम्रो नै छ । राष्ट्रिय टोलीबाट रोनाल्डोले पछिल्ला चार वर्षमा ३२ खेलमा ३२ गोल गरेका छन् । यही अवधिमा मेस्सीले २९ खेलमा २५ गोल गरेका छन् ।

क्लबबाट मेस्सीले सन् २०१९/२० सिजन ४४ खेलमा ३१ गोल, २०२०/२१ सिजन ४८ खेलमा ३८ गोल, २०२१/२२ सिजन ३४ खेलमा ११ गोल र यो सिजन १७ खेलमा १२ गोल गरेका छन् । रोनाल्डोले सन् २०१९/२० सिजन ४६ खेलमा ३७ गोल, २०२०/२१ सिजन ४४ खेलमा ३६ गोल, २०२१/२२ सिजन ३९ खेलमा १४ गोल र यो सिजन १३ खेलमा ३ गोल गरेका छन् ।

मेस्सीले यो सिजन घरेलु लिगमा १० असिस्ट गरेका छन् । गत सिजन पनि उनले घरेलु लिगमा १४ असिस्ट गरेका थिए । रोनाल्डोले यो सिजन घरेलु लिगमा असिस्ट गरेका छैनन् । गत सिजन उनले ३ असिस्ट गरेका थिए । रोनाल्डो आबद्ध म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागले रोनाल्डोको फिटनेसमाथि प्रश्न उठाइरहेका छन् ।

रोनाल्डोले वैकल्पिक खेलाडीका रुपमा समेत अवसर नपाएपछि गत साता खेल सकिन लाग्दा प्लेयर बक्स छाडेर बाहिरिएका थिए । लगत्तैको अर्को खेलमा प्रशिक्षक हागले रोनाल्डोलाई वैकल्पिक खेलाडीको सूचीमा समेत राखेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर