भारतबाट प्रहरीकै मिलेमतोमा भित्रिन्छ अर्बौंको पटका – Nepal Press

भारतबाट प्रहरीकै मिलेमतोमा भित्रिन्छ अर्बौंको पटका

प्रहरीलाई २० प्रतिशतसम्म कमिसन, खरिदको दोब्बर मूल्यमा बिक्री

जनकपुरधाम । चाडपर्वमा मनोरञ्जनका लागि पड्काइने पटकाको तस्करी मधेसमा मौलाएको छ । नेपालमा पटका आयात र खरिद-बिक्रीमा पूर्ण प्रतिबन्ध छ । नेपाल प्रहरीले चाडपर्वका बेला हरेक वर्ष मातहतका अधिकारीलाई पटका तस्करी रोक्न निर्देशन जारी गर्छ । तर, सीमा क्षेत्रका सुरक्षा निकाय यसको नियन्त्रणमा नाकाम देखिन्छन् ।

विशेषगरी दिपावली, तिहार र छठमा पटका पड्काउने गरिन्छ । अहिले हरेक सीमावर्ती भारतीय बजारबाट दैनिक करोडौंको पटका अवैधरूपमा नेपाल भित्रिने गरेको छ । सर्वसाधारणले विभिन्न समानमा पटका लुकाएर भित्र्याउँछन् । तर, व्यापारी र बलेकिया (तस्कर) ले प्रहरीकै मिलोमतोमा पटका नेपाल भित्र्याउने गरेको स्रोतको दाबी छ । भारतीय बजारबाट भित्रिने पटका काठमाडौंसम्म पुग्छ ।

धनुषा, नगराइनका एक व्यापारी भन्छन्, ‘पटका भित्र्याउन प्रहरीले १० देखि २० प्रतिशत कमिसन लिन्छन् । हामीले पटका जनकपुरका व्यापारीलाई दिन्छौं । त्यहाँबाट काठमाडौं र अन्य ठूला शहर पुग्छ ।’ पटका जनकपुर लगिदिँदा खरिद मूल्यको दोब्बरमा बिक्री हुने गरेको उनी सुनाउँछन् ।

बलेकियाले भने प्रहरीको आँखा छलेर पटका तस्करी गर्छन् । उनीहरूले प्रहरी नबस्ने स्थानहरूबाट पटका साइकल, मोटरसाइकल वा पैदलै हिँडेर तस्करी गर्ने पाइएको छ । प्रहरीले समातेपछि घुस माग्छन् भनेर बलेकियाहरू रातिको समयमा खुरपेया (गोरेटो) बाटो हुँदै पटका तस्करी गर्ने गरेको नगराइनकै एक युवकले सुनाए ।

ती युवकका अनुसार कहिलेकाहीँ प्रहरी गस्ती टोलीले मात्र पटका समात्छन् । जटही नाकाबाट मात्रै दिनहुँ लाखौंको पटका तस्करी हुन्छ । धेरै प्रहरीले त देखेर पनि नदेखे झैँ गर्छन् । बढी फाइदा हुने भएकाले महिला पनि झोलामै राखेर पटका तस्करी गर्ने गरेको उनको भनाइ छ ।

खुल्ला सिमाना पटका नियन्त्रणका लागि चुनौती बनेको छ । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले खुल्ला सिमानाका कारण पटका तस्करी नियन्त्रण गर्न नसकिएको स्वीकार्छन् ।

उनले भने, ‘सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सुरक्षा युनिट भएको ठाउँबाहेक साना गोरेटो बाटोहरूले नेपाललाई जोडेको छ । त्यसैले पटका तस्करी नियन्त्रण गर्न गार्‍हो भएको छ ।’

प्रदेश प्रहरी प्रवक्ता तिम्सिनाले पटका नियन्त्रण गर्न प्रहरीको प्रगति त्यति राम्रो छैन तर नियन्त्रण गर्न असम्भव पनि नभएको बताउँछन् । पटका पड्काउँदा आगलगीजस्ता घटना हुँदा विगतमा ठूलो जनधनको क्षति भए पनि यो पटक त्यतिधेरै घटना नभएको उनको भनाइ छ ।

पटकामा अर्बौं बर्बाद

सिरहा प्रहरीले मंगलबारमात्रै करिब १५ लाख बराबरको बरामद गरिएको पटका नष्ट पार्‍यो । तीन दिनअगाडि लहान प्रहरीले पनि करिब ३ लाखको पटका खाल्डोमा जमेको पानीमा फालेर नष्ट गर्‍यो । सप्तरी, धनुषा, महोत्तरी, सर्लाहीलगायतका जिल्लामा पनि प्रहरीले नियन्त्रणमा लिएको पटका नष्ट गरेको छ ।

दिपावलीअघि मात्रै मधेसका आठ जिल्लामा प्रहरीले करोडौं मूल्य बराबरको पटका नियन्त्रणमा लिएर नष्ट पारेका छन् । तर, प्रहरीले जति पटका नियन्त्रणमा लिएको छ, त्योभन्दा कैयौं गुणा बढी पटका अवैधरूपमा भित्र्याएर दीपावलीमा पड्काइयो । बरामद, बजारमा पड्काइएका पटका हेर्दा मधेसमा मात्र अर्बौँ रूपैयाँको पटका भित्रिएको पाइएको छ ।

पटका स्वास्थ्य र पर्यावरणका लागि घातक

नेपालमा छुरछुरे, फूलझरी, नागिन् छाप, मुर्गा छाप, आलुबम, आस्मानी, चक्कर, रकेट गरी विभिन्न प्रकारका पटका पड्काइने गरिन्छ । यी पटकाहरूमा चाडपर्वमै अर्बौं रूपैयाँ त बर्बाद हुन्छ नै, यसबाहेक मानिसको स्वास्थ्य र पर्यावरणमा पनि गम्भीर असर पार्छ ।

पटका पड्काउने वा बाल्ने क्रममा निस्कने खतरनाक रसायनहरूले ध्वनी एवं वायू प्रदूषणलगायत पर्यावरणीय समस्यासँगै मानव स्वास्थ्यमा पनि दूरगामी असर पार्ने गरेको विज्ञहरू बताउँछन् । पटकाको धुवाँ र ध्वनीले सबभन्दा बढी ज्येष्ठ नागरिक एवं दीर्घ रोगीहरूको स्वास्थ्यका लागि अत्यन्त घातक हुन्छन् ।

प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत डा. कृष्णकुमार यादव भन्छन्, पटकाबाट निस्कने कपर, सल्फर, फस्फेट, अमोनिया, नाइट्रोजन, जिंक, म्याग्नेसियम, केडियम र नाइट्रेट लगायत हानिकारक रसायनहरूले स्वास्थ्यमा अपूरणीय क्षति पुर्‍याउँछ । यसबाहेक विस्फोटको चर्को आवाज वा ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास आउन सक्छ ।’

उनका अनुसार पड्किने क्रममा निस्कने रसायनहरूबाट पर्यावरण एवं भूमिगत पानीमा क्षतिसँगै आँखा पोल्ने, स्वास लिन कठिनाइ, दम बढ्ने, फोक्सोमा संक्रमण, मिर्गौला खराब हुने, रगतको कमी, स्नायू प्रणालीमा क्षति, ज्वरो, छालामा नोक्सानी, वान्ता आउने, मानसिक रोग जस्ता समस्या निम्त्याउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *