पाल्पा २ मा सदाबहार सोमप्रसादलाई ठाकुरले देलान् त टक्कर ? – Nepal Press

पाल्पा २ मा सदाबहार सोमप्रसादलाई ठाकुरले देलान् त टक्कर ?

रुपन्देही । पाल्पा क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेसँग नेकपा एमालेका युवा नेता ठाकुर गैरे पहिलोपटक चुनावी मैदानमा होमिएका छन् ।

पाण्डे २०५१ सालदेखिका सदाबहार उम्मेदवार हुन् । पाल्पा २ मा पाण्डेको पार्टीको संगठन कमजोर मानिन्छ । तर, सत्ता गठबन्धनको बलियो साथ छ । पाण्डे छैटौं पटक चुनावी मैदानमा छन् । सांगठनिक रुपमा यहाँ एमाले बलियो छ । एमालेबाट पहिलोपटक प्रत्यक्ष निर्वाचनमा होमिएका छन् युवा नेता गैरे ।

स्थानीय तह निर्वाचनमा एमालेले जिल्लाका १० मध्ये ६ वटा पालिका आफ्नो पक्षमा पारेको थियो । त्यसैले संसदीय यात्रामा सहज जीत निकाल्ने गैरे दावी गर्छन् ।

पाल्पाबाट २०५१ सालयता निरन्तर चुनाव जित्दै आएका पाण्डेले २०६४ सालमा मात्रै चुनाव हारेका छन् । नेकपा एसको लुम्बिनी प्रदेश अध्यक्ष रहेका पाण्डे पार्टी अध्यक्ष माधव नेपालका सम्धी हुन् । गठबन्धन दलमा उनको क्षेत्र सुरक्षित रहेको सबैको आंकलन थियो र भयो पनि त्यस्तै । उनले माधव नेपालकै कारण अवसर पाएको भन्नेहरुको कमी छैन । तर पाण्डेले नेपालसँग नाता जोड्नुअघि पनि पार्टीमा अवसर पाएका थिए ।

लामो समय पाण्डेकै समूहमा रहेकाले गैरेले अवसर नपाएको चर्चा पनि छ । एमालेमा गैरेले अवसर पाउन पाण्डेले मैदान खाली गर्नुपर्ने बताउनेहरु पनि कम थिएनन् । अहिले पाण्डेले एमाले छोडेपछि साँच्चिकै गैरेले सांसदको टिकट पाएका छन् ।

एमाले फुटेर एस नबनेको भए सायदै ठाकुरले पाल्पाबाट एमालेको टिकट पाउँथे । निरन्तर पार्टीमा पहुँच बनाउँदै गएका पाण्डेका कारण युवा–विद्यार्थीमा चर्चित गैरे ओझेलमा पर्दै आएका थिए ।

गैरे कांग्रेस महामन्त्री गगन थापासँगै राजनीतिमा उदाएका युवा नेता हुन् । थापा दुईपटक सांसद, मन्त्री हुँदै पार्टीको शक्तिशाली महामन्त्री भइसके । तर, एमालेमा उनीपछिका धेरैले अवसर पाए पनि गैरेले अवसर पाएका छैनन् । गैरेपछि अनेरास्ववियुको अध्यक्ष भएकी झाँक्रीसमेत सांसद र मन्त्री भइसकिन् । उनी पार्टीको आन्तरिक गुटबन्दीको शिकार बनिरहेका थिए । पाल्पामा पाण्डेले सधैं चुनावमा अवसर पाउँदा गैरेको पालो आएन । यसपटक उनै पाण्डेविरुद्धको चुनावी मैदानमा खडा भएका छन् गैरे ।

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष हुँदै पार्टीको केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्य बनेका गैरेले पार्टीबाट संसदीय यात्रामा पहिलो पटक अवसर पाएको विषय अधिकांश मतदातालाई जानकारी भएको र पार्टीले सुरु गरेका एजेण्डामा आम नागरिकको सरोकार जोडिएकाले आफ्नो जीतमा कुनै समस्या नभएको बताउँछन् ।

‘सत्ता गठबन्धन केका लागि भन्ने विषय पछिल्लो एक वर्ष देशको अवस्था, आर्थिक सूचक, सरकारका कार्यशैली सबैले प्रस्ट पारेको छ’, उनले भने, ‘स्थानीय तह निर्वाचनमा गठबन्धनविरुद्ध आएको जनमतले पनि आउने चुनावको चित्रण गरिसकेको छ । हाम्रो जीतमा कुनै समस्या छैन ।’

२०७० सम्म पाल्पामा ३ वटा निर्वाचन क्षेत्र थिए । २०५१, २०५६, २०६४, २०७० सालमा पाण्डे पाल्पा २ बाट उम्मेदवार हुँदै उद्योगमन्त्रीसमेत भइसकेका छन् । अहिले यहाँ २ वटामात्रै निर्वाचन क्षेत्र छन् ।

आफूले विगतमा चुनाव जितेर पाल्पाको विकासका लागि धेरै काम गरेकाले पाल्पालीले फेरि जिताउने नेता पाण्डे को दावी छ । गठबन्धनको बलियो जनमत नै आफ्नो जीतको आधार भएको उनको तर्क छ ।

‘मैले निर्वाचित भएपछि जिल्लामा के-के गरें भन्ने पाल्पाली जनतालाई सबै थाहा छ । म मन्त्री हुँदा युरेनियम अन्वेषण र पाल्पालाई प्राविधिक शिक्षाको हबदेखि लुम्बिनी र पाल्पालाई पर्यटनसँग जोड्दैछु’, पाण्डेले भने ।

तर एमाले पाल्पाका अध्यक्ष धनेन्द्र घिमिरे भने यस पटक जसरी पनि पाण्डेबाट जीत खोस्ने आफूहरुको तयारी रहेको बताउँछन् । उनी भन्छन्, ‘पाण्डेले यहाँका मतदातालाई धोका दिनुभयो । पटक-पटक एमाले भनेर जिताएका मतदाताको सहमतिविपरीत एमालेविरुद्ध विपक्षीलाई भोट हाल्ने, पार्टी विभाजन गर्ने काम गर्नुभयो । त्यसैले यसपटक पाण्डेसँग बदला लिने बताइसकेका छन् ।’

२०७४ सालमा चुनाव जित्दा पाण्डेले ३४ हजार ८९९ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरि नेपालले २४ हजार ५५४ मत पाएका थिए । पाण्डेलाई प्रतिनिधिसभामा उठाएर कांग्रेसले प्रदेशसभा १ मा मात्र उम्मेदवारी दिएको छ । प्रदेशसभा २ मा माओवादी केन्द्रका उम्मेदवार छन् ।

स्थानीय तह निर्वाचनमा पार्टीका वडा अध्यक्षले पाएको मतअनुसार यहाँ एमालेको ३० हजार ५३६ मत छ । कांग्रेसको २९ हजार ३९, माओवादीको ४ हजार ३१३, राष्ट्रिय जनमोर्चाको ८८४ र एकीकृत समाजवादीको ४३३ मत रहेको छ ।

एकीकृत समाजवादी पाल्पाका अध्यक्ष कमल पाण्डे भने स्थानीय तह निर्वाचनको मत मूल्यांकनको आधार नहुने बताउँछन् ।

कांग्रेस सभापति हिमालदत्त श्रेष्ठले स्थानीय तह निर्वाचनमा कांग्रेस महाधिवेशन र टिकट वितरणमा केही असन्तुष्टि भएकाले केही पालिकामा सोचेजस्तो नतिजा नआएको तर अहिले एक ढिक्का भएर अघि बढेको बताए ।

यो क्षेत्रमा पर्ने ४४ वडामध्ये तानसेन नगरपालिकाका १०, रिब्दीकोटका आठमध्ये ६, रैनादेवी छहराका आठमध्ये ६ वटामा गठबन्धनले जितेको छ । तिनाउका ५ मध्ये दुई वटामा गठबन्धनले जितेको छ  । तानसेनमा नगर प्रमुख, उपप्रमुख, रिब्दीकोटमा अध्यक्ष, उपाध्यक्ष, रैनादेवी छहरामा अध्यक्ष, उपाध्यक्ष र तिनाउमा उपाध्यक्ष गठबन्धनले जितेको छ  । एमालेले तिनाउमा प्रमुख जितेको छ  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर