प्रदर्शनअगावै ‘महापुरुष’ को प्रिमियर – Nepal Press

प्रदर्शनअगावै ‘महापुरुष’ को प्रिमियर

काठमाडौं । भाइटीकाको भोलिपल्ट कात्तिक ११ गतेबाट प्रदर्शन हुने सिनेमा ‘महापुरूष’ पाँच दिनअगावै आइतबार राजधानीमा प्रिमियर आयोजना गरिएको छ । नाम चलेका निर्देशक, निर्माता तथा कलाकारलाई सिनेमा देखाएपछि ढुक्क हुन सकिने भन्दै निर्माताले पाँच दिनअगावै प्रिमियर राखेका हुन् । प्रिमियरमा सिनेमाले उपस्थित पाहुनाबाट प्रशंसा कमाएको छ ।

एकल पिताको बुढ्यौली उमेरमा अंकुराएको प्रेम र विवाह गर्न खोज्दा परिवार र समाज कसरी बाधक बन्छ भन्ने कुरालाई मनछुने ढुंगबाट प्रस्तुत गरिएको सिनेमाले प्रिमियरमा उपस्थित हरेक पाहुनालाई भावुक बनाएको थियो । सञ्चारकर्मीसँग प्रतिक्रिया दिने क्रममा धेरै सेलिब्रेटीका आँखा ओभाएका थिए । कति आँशु पुस्दै बाहिरिएका थिए भने कोही निःशब्द थिए ।

कलाकार किरण केसीले ‘महापुरूष’ उत्कृष्ट सिनेमा बनेको भन्दै तारिफ गरे । सिनेमा हेरेका निर्देशक निश्चल बस्नेतले पनि सिनेमाको प्रशंसा गरे । निर्देशक प्रदीप भट्टराईको अर्को ब्लकबस्टर सिनेमा भन्दै उनले हरेक कलाकारको अभिनय सशक्त रहेको बताए ।

धेरैपछि कलाकार हरिवंश आचार्यको अब्बल अभिनय हेर्न पाएकोमा उनले खुशी प्रकट गरे ।

अभिनेत्री स्वस्तिमा खड्काले सिनेमा हेर्दा मज्जा आएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘सिनेमामा जुन कुरा देखाइएको छ, त्यो धेरै राम्रोसँग पस्किएको छ । कलाकार छनोट एकदमै राम्रो छ । डेब्यु अभिनेता अरुण क्षेत्रीले त फाडिदिएका छन् । प्रदीप भट्टराई दाइले अब डबल ह्याट्रिक गर्नुहुनेछ ।’

अर्की अभिनेत्री बेनिशा हमालले सिनेमा राम्रोमात्र नभई धेरै राम्रो बनेको प्रतिक्रिया दिइन् ।

त्यस्तै अभिनेत्री केकी अधिकारी ‘महापुरूष’लाई सिनेमामात्र भन्न चाहँदिनन् । यो सिनेमाले हरेक मानिसको दिमागमा प्रश्न उठाउने उनी बताउँछिन् ।

उनी भन्छिन्, ‘यो सिनेमामात्र होइन, बलियो सन्देश बोकेको सिनेमा हो । सिनेमाले प्रश्न खडा गर्छ । बुबाआमाको सम्बन्ध हामी स्वीकार गर्दैनौं । हामीले यो सही गरेका छौं कि गलत भनेर सिनेमाले प्रश्न उठाउँछ । कलाकारको काम उत्कृष्ट छ ।’

कलाकार खगेन्द्र लामिछाने ‘महापुरूष’लाई बाको कथामा बनेको उत्कृष्ट सिनेमा भन्न चाहन्छन् । ‘नेपालमा बाहरुको कथामा सिनेमा नै बनेका थिएनन् । ‘महापुरूष’ले बाको कथा उठाएको छ । सिनेमा अत्यन्त बलियो छ’, उनले भने, ‘सिनेमामा इमोसन, कमेडी, सन्देश सबै छ । यो सिनेमा बच्चादेखि बुढासम्मलाई हेराउनु पर्छ । परिवारमा बाको भूमिका के हुन्छ भन्ने कुरा यो सिनेमाले देखाएको छ ।’

प्रिमियरमा पाहुनाहरुबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले उत्साहित देखिएका कलाकार हरिवंश आचार्यले ‘महापुरूष’ थ्रि इडियट्स (निर्देशक प्रदीप भट्टराई, निर्माताद्वय रवीन्द्रसिंह बानियाँ र म्यास दीपेश खत्री)ले बनाएको बताए । नेपालमा सिनेमा निर्माण गर्नु आफैंमा रिक्स रहेको अवस्थामा यस्तो गम्भीर कथामा सिनेमा निर्माण गर्ने मेकर इडियट नै रहेको कलाकार आचार्यको भनाइ थियो ।

आचार्य भन्छन्, ‘सिनेमामा मैले पाएको भूमिका निर्वाह गर्न सकें जस्तो लागेको छ । यो टीमप्रति म आभारी छु ।’

त्यस्तै सिनेमाका कलाकार मदनकृष्ण श्रेष्ठले प्रिमियरमा प्राप्त प्रतिक्रियाले मन खुशी भएको बताए । उनले सिनेमा राम्रो बनेको बताउँदै भोलिका दिनमा पनि सिनेमामा अभिनय गर्ने बाचा गरे ।

अभिनेत्री गौरी मल्लले मह जोडीसँग काम गर्ने सपना साकार भएकोमा खुशी व्यक्त गरिन् ।

प्रिमियरमा सबैभन्दा बढी प्रशंसा कमाएका डेब्यु अभिनेता अरुण क्षेत्रीले पर्दामा देखिएको आफ्नो काम अग्रजहरुको आशीर्वाद र छत्रछायाँका कारण सम्भव भएको बताए । यही सिनेमाबाट डेब्यु गरेकी अभिनेत्री अन्जना बराइलीले ‘महापुरूष’बाट आफूले धेरै सिक्न पाएकोमा खुशी व्यक्त गरिन् ।

मह सञ्चारबाट सिनेमा करियर सुरु गरेका निर्देशक भट्टराईले ‘महापुरूष’ आफ्ना गुरुहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई गुरु दक्षिणा रहेको बताए । उनले भने, ‘यो सिनेमा मेरा गुरुहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई गुरु दक्षिणा दिने सिनेमा हो भनेर धेरैचोटि भनेको छु । सिनेमाले कति व्यापार गर्छ त्यो अलग कुरा हो । तर, मेरो मनमा चाहिँ सुपरडुपर हिट भइसकेको थियो ।’

स्क्रिप्ट लेखनको क्रममा आफूहरु कैयौं आश्रम र बुबाआमासँग भेट गरेको स्मरण गर्दै निर्देशक भट्टराईले भने, ‘हामी स्क्रिप्ट लेखनको क्रममा कैयौं आश्रम गएर बुबाआमालाई भेट्यौं । उहाँहरुको मुखबाट निस्किएका संवाद धेरै छ सिनेमामा ।’

उनले पहिलो पटक आफ्नो सिनेमा देखाउन प्रिमियरमा आमाबुबालाई लिएर गएका थिए । प्रिमियरमा बोल्ने क्रममा उनी भावुक पनि भए ।

सिनेमामा रवीन्द्रसिंह बानियाँ, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्यलगायतको अभिनय छ । षट्कोण आर्टसको व्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता म्याक्स दीपेश खत्री रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *