‘थर्ड वेभ’ कुरिरहेको ब्राजिल, कतार विश्वकपमा चल्ला त नेमारको जादू ? – Nepal Press
विश्वकप २०२२

‘थर्ड वेभ’ कुरिरहेको ब्राजिल, कतार विश्वकपमा चल्ला त नेमारको जादू ?

रियो दि जेनेरियो । ब्राजिल फुटबलको हरेक पुस्ताबाट निस्कने खेलाडीहरु विश्व फुटबलमा चम्किरहेकै हुन्छन् । त्यसैले त भनिन्छ, ब्राजिलियनहरुको रगतमै फुटबल हुन्छ । विश्व फुटबलको महोत्सव मानिने विश्वकप सर्वाधिक पाँचपटक जितेकाले पनि ब्राजिलको शान बेग्लै छ ।

जितेका यी उपाधिको क्रम हेर्ने हो भने जब ब्राजिल उपाधि जित्न थाल्छ, त्यसपछि लहर नै सुरु हुन्छ । यस्तो लहर अर्थात वेभ ब्राजिल फुटबलले दुईपटक सृजना गरेको छ । सन् १९५८ देखि १९७० सम्मको पहिलो वेभ र सन् १९९४ देखि २००२ सम्मको दोस्रो वेभ । पहिलो वेभमा फाइनल तीनैपटक ब्राजिल विश्व च्याम्पियन बनेको थियो ।

पेले, गारिन्चा, गिल्मार, जैरजिन्होलगायत त्यो वेभका सृजनाकार थिए । पेलेले तीनपटक, गारिन्चाले दुईपटक र जैरजिन्होले एकपटक विश्वकप उपाधि जिते । सन् १९७० को विश्वकप जितेपछि ब्राजिललाई फेरि फाइनल पुग्न २४ वर्ष लाग्यो । सन् १९९४ को विश्वकप फाइनलमा पुगेको ब्राजिलले इटालीलाई टाइब्रेकरमा हराएर चौथोपटक विश्व च्याम्पियन बन्यो ।

सन् १९९८ को विश्वकपमा फेरि फाइनल पुगे पनि ब्राजिल यसपटक भने फ्रान्ससँग ३-० गोलले निराश भएर उपविजेतामा सीमित भयो । सन् २००२ को विश्वकपमा पनि फाइनल पुगेको ब्राजिलले यसपटक भने जर्मनीलाई २-० गोलले हराएर उपाधि जित्यो ।

त्यसयता ब्राजिल विश्व च्याम्पियन हुन सकेको छैन । ब्राजिलले विश्वकप नजितेको २० वर्ष भइसकेको छ । यसबीचमा फाइनलसम्म पनि पुग्न सकेको छैन । सन् २०१४ मा ब्राजिलमै आयोजना भएको संस्करणमा सेमिफाइनलमा जर्मनीसँग व्यहोरेको ७-१ गोलको हार विश्व फुटबलमा ब्राजिलले व्यहोरेको लज्जास्पद नतिजा थियो ।

अघिल्ला दुईवटा वेभलाई हेर्ने हो भने ब्राजिल फुटबलमा एउटै पुस्ताबाट एकैपटक धेरै खेलाडी चम्किएको देखिन्छ । पहिलो वेभमा गारिन्चा, पेले, जैरजिन्होलगायत चम्किएका थिए । दोस्रो वेभमा जम्ने खेलाडीको सूची लामै थियो । रोबर्टो कार्लोस, रिभाल्डो, रोनाल्डो, रोनाल्डिन्होजस्ता होनाहार खेलाडी त्यो पुस्तामा थिए ।

तेस्रो वेभ सुरु गर्नसक्ने खेलाडीका रुपमा नेमारलाई हेरिए पनि उनी लगातार चोटसँग जुधिरहेका छन् । पेलेकै हैसियत बनाउनसक्ने खेलाडी भनेर करियरकै सुरुमा चर्चा गरिएका नेमारले व्यक्तिगत ठूला अवार्डहरु समेत जित्न सकेका छैनन् ।
नेमार सन् २०१० देखि सिनियर राष्ट्रिय टोलीमा छन् ।

यसबीचमा उनले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा १२१ खेल खेल्दै ७५ गोल गरेका छन् । उनी ब्राजिलका सर्वकालीन सर्वाधिक गोलकर्ता पेलेको कीर्तिमान बराबरी गर्नबाट दुई गोलले मात्र पछाडि छन् । उनी सन् २०११ र २०१२ मा दक्षिण अमेरिकी वर्ष फुटबलर भएका थिए ।

सन् २०१५ र २०१७ मा उनी बालोन डीअर अवार्डका लागि मनोनयनको तेस्रो नम्बरमा थिए । नेमारको सबैभन्दा बढी चर्चा भएको सन् २०१४ को विश्वकपमा हो । घरेलु मैदानमा भएको त्यस विश्वकपमा उच्च लयमा रहेका नेमार क्वार्टरफाइनलमा गम्भीर घाइते भए । कोलम्बियासँग भएको खेलमा उनलाई प्रतिद्वन्द्वी खेलाडीले ढाडको हड्डी भाँच्चिने गरी घाइते बनाएका थिए । सोही कारण उनले प्रतियोगिताका बाँकी खेलहरु खेल्न सकेनन् ।

पछिल्लो समय टोलीमा आएका भिनिसियस जुनियर, रिचार्लिसन जस्ता खेलाडीले ब्राजिलको मनोबल थप उच्च बनेको छ । तर, यी कोही पनि नेमारको स्तरमा देखिएका छैनन् । ब्राजिलका लागि नेमारले हालसम्म महादेशीय प्रतियोगितासमेत जित्न सकेका छैनन् ।

गत वर्ष कोपा अमेरिकाको फाइनलमा पुगे पनि ब्राजिल उपाधि भिडन्तमा अर्जेन्टिनासँग पराजित भएको थियो । ब्राजिलले सन् २०१३ मा फिफा कन्फेडेरेसन कपको उपाधि जित्दा भने नेमार टोलीमै थिए । सन् २०१६ को ओलम्पिकमा नेमारले ब्राजिलका लागि स्वर्ण पदक जित्ने अवसर प्राप्त गरेका थिए । कतार विश्व फुटबलमा ब्राजिलले थर्ड वेभ सुरु गरे त्यसको नेतृत्व नेमारबाटै हुनसक्ने विश्लेषण हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर