टी-२० क्रिकेटमा पाकिस्तानविरुद्ध कोहलीको सधैँ निर्णायक प्रदर्शन – Nepal Press

टी-२० क्रिकेटमा पाकिस्तानविरुद्ध कोहलीको सधैँ निर्णायक प्रदर्शन

काठमाडौं । अस्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा आइतबार भारत र पाकिस्तानबीचको खेल रोमान्चक रह्यो ।

अन्तिम तीन ओभरमा ४८ र अन्तिम एक ओभरमा १५ रन आवश्यक रहेका बेला भारतले अन्तिम बलमा विजयी रन प्रहार गर्दै ४ विकेटको जित हात पार्‍यो । भारतका पूर्वकप्तान विराट कोहलीले अविजित ८२ रन बनाए । उनले ५३ बलमा चार छक्का र ६ चौका प्रहार गरे । हार्दिक पान्ड्याले पनि ४० रन जोडे । उनले ३७ बलमा २ छक्का र १ चौका प्रहार गरेका थिए । पाकिस्तानका बलर मोहम्मद नवाजले तनाव पूर्ण खेलको अन्तिम ओभरमा एउटा नोबल र एउटा वाइड फ्याँकेका थिए ।

उत्कृष्ट सुरुवात दिलाएका नवाज नै पछि एकाएक भिलेन बने । उनले २० औँ ओभरको पहिलो बलमा हार्दिक पान्ड्यालाई आउट गरेकाा थिए । त्यसपछि भारतले दोस्रो बलमा एक र तेस्रो बलमा दुई रन जोडेको थियो । तर, चौथो बलमा कोहलीले छक्का प्रहार गर्दा अम्पायरले नोबल पनि दिए । सोही नोबलले भारतको भाग्य चम्किएको थियो । त्यसपछि दबाबमा आएका नवाजले अन्तिम बलमा २ रन आवश्यक रहेका बेला पुन वाइड फ्याँकेका थिए ।

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष रमिज राजाले दुई चिरप्रतिद्वन्द्वीबीच क्लासिक खेल भएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘ क्लासिक खेल। कहिले जितिन्छ छ त कहिले हारिन्छ। हामीलाई थाहा छ यो खेल निर्दयी र भेदभावपूर्ण हुन्छ। पाकिस्तानले बल र ब्याटबाट त्यहाँभन्दा बढी गर्न सक्ने थिएन। टिमको प्रयाशप्रति गर्व छ।’ ३१ रनमा ४ विकेट गुमाएको अवस्थामा कोहली र पान्ड्याले सुझबुझपूर्ण ब्याटिङ गरेका थिए ।

पाकिस्तानले गत वर्ष आयोजित पछिल्लो संस्करणमा भारतलाई हराएको थियो । दुई महिनाअघि भएको एसिया कपको पहिलो चरणमा भारतले पाकिस्तानलाई हराएको थियो भने सुपर-४ मा पाकिस्तानले भारतलाई । यी दुईबीचको भिडन्तमा पाकिस्तानका कप्तान बाबर आजम जमेको देखिँदैन । पछिल्ला केही वर्षयता उच्च लयमा रहेका आजमको प्रदर्शन भारतविरुद्ध पनि जहिल्यै खस्किएको देखिन्छ। यता भारतका पूर्व कप्तान कोहली भने पाकिस्तानविरुद्ध भने निर्णायक प्रदर्शन गरिरहेको पाइन्छ ।

कोहलीले पाकिस्तानसँग हालसम्म खेलेको १० टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा ४ सय ८८ खेलेका छन् । उनले यी खेलमा ५ अर्धसतक बनाएका छन् भने ४ खेलमा प्लेयर अफ दी म्याच भएका छन् ।

पछिल्लो प्रदर्शनले कोहली टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी रन जोड्ने ब्याट्सम्यान बनेका छन् । उनले तीन हजार ७ सय ९४ रन बनाएका छन् । कोहलीले तीन हजार ७ सय ४१ रन रहेका रोहित शर्माको ठाउँ लिएका हुन् । कोहलीले विश्वकपमा मात्र ९ सय २७ रन जोडेका छन् । टी-२० विश्वकपमा भारतले लक्ष्य पूरा गरेका ९ खेलमा कोहलीले ७ अर्धसतक बनाएका छन् भने एकपटक मात्र आउट भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर