निजी उद्योगले सिमेन्ट निर्यात गर्दैगर्दा सरकारी उद्योग किन बन्द हुँदैछ ? – Nepal Press

निजी उद्योगले सिमेन्ट निर्यात गर्दैगर्दा सरकारी उद्योग किन बन्द हुँदैछ ?

काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको हेटौंडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योग अहिले बन्द छन् । दुइटै उद्योगको प्रमुख सरकारले नियुक्त गर्छ । उद्योगलाई कुनै समस्या पर्यो भने सरकारले समाधान गर्ने हो । तर, अहिले सिमेन्ट उद्योग बन्द हुँदा पनि सरकारले चासो दिएको देखिँदैन ।

निजी क्षेत्रको सिमेन्ट उद्योगले विदेशमा सिमेन्ट निर्यात गरिरहँदा सरकारी सिमेन्ट उद्योग भने बन्द भएको सूचना सार्वजनिक भइरहेको छ । सिमेन्ट उद्योगअघि अन्य सरकारी उद्योग घाटामा गएको भन्दै बन्द भइसकेका छन् । अब सिमेन्ट उद्योग पनि विस्तारै सधैंका लागि बन्द गर्ने बाटोमा छ ।

हेटौंडा सिमेन्ट उद्योग असोजबाटै बन्द छ । अब उद्योग कहिलेबाट सञ्चालनमा आउँछ भन्न सकिने अवस्था छैन । हेटौंडा सिमेन्ट उद्योगका महाप्रवन्धक बसन्तकुमार पाण्डे कच्चापदार्थ अभाव भएकाले उद्योग बन्द रहेको बताउँछन् ।

उनले भने, ‘हामीले उद्योग मन्त्रालयसँग लोन मागेका छौं । योजनासहित ३ वर्षमा लोन तिरेर फाइदामा जाने फाइल बढाएका छौं । १ अर्ब २५ करोड लोन लिन मन्त्रालयमा फाइल गएको छ । त्यो लोन पास भएर आएमा उद्योगले आफ्नो योजनाअनुसार उत्पादन वृद्धि गरेर नाफामा जानेछ ।’

निजी क्षेत्रले सिमेन्ट निर्यात गरिरहेका वेला सरकारी उद्योग भने किन धराशायी हुँदै गएको छ भन्ने नेपालप्रेसको प्रश्नमा पाण्डे उद्योगको मेसिन पुरानो र उत्पादन लागत धेरै भएकाले निजी सिमेन्टसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको जवाफ दिए ।

सरकारी लगानीकै उदयपुर सिमेन्ट पनि कहिले बन्दा त कहिले सञ्चालन हुने सिलसिला चलिरहेको छ । दसैं अघि मेसिन मर्मत र कच्चापदार्थ अभाव भएको भन्दै केही दिन बन्द भएको उद्योग तिहारमा फेरि बन्द हुने भएको छ । कार्तिक ७ देखि १२ गतेसम्म उद्योग पसनः बन्द हुँदैछ ।

उदयपुर सिमेन्ट उद्योगका महाप्रवन्धक गोपी न्यौपानेले दसैंअघि केही दिन मर्मत र केही दिन कच्चापदार्थ अभावले उद्योग बन्द भएको बताए ।

उनले भने, ‘हामीले उद्योगलाई कसरी फाइदामा लाने भनेर योजना बनाएर मन्त्रालयमा लोनको लागि माग गरेका छौं । ६५ करोड लोन माग भएको छ । त्यो पैसा आयो भने हामी ३ वर्षमा लोन तिरेर फाइदामा जान्छौं । अहिले हामीले दैनिक ८ सय टन क्षमतामा ४ सय टनमात्रै उत्पादन गरेका छौं । अब लगानी थप्न सकियो भने फाइदा हुन्छ ।’

अहिले दैनिक ८ सय बोरा सिमेन्ट उत्पादन भइरहेको र यसलाई वृद्धि गरेर १ हजार बोरामा पुर्‍याउन सकियो भने पनि घाटा हटेर बराबरमा जाने न्यौपाने बताउँछन् । लगानी थपेर उद्योगको २२ हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य रहेको छ ।

उदयपुर सिमेन्ट उद्योगका पूर्वमहाप्रवन्धक सुरेन्द्र पौडेलले सरकारी सिमेन्ट उद्योगमा पुराना मेसिन भएकाले पनि उत्पादन लागत धेरै भएर निजी क्षेत्रको सिमेन्टसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको बताए ।

उनले भने, ‘निजी क्षेत्रको भन्दा सरकारी सिमेन्ट उद्योगमा काम गर्ने कर्मचारी सबै हिसाब गर्दा महंगो पर्छ । मेसिन पुरानो भएर घाटामा गएको हो । अहिले आएका नयाँ सिमेन्ट उद्योगको तुलनामा पहिलेका सरकारी सिमेन्ट उद्योगले २० प्रतिशत धेरै विद्युत खपत गर्छन् । सरकारी उद्योगको धेरै विद्युत खपत घाटामा जानुको मुख्य कारण हो ।’

पाल्पा सिमेन्ट इन्डस्ट्रिजले पहिलोपटक सिमेन्ट भारत निर्यात सुरु गरेको थियो । त्यसपछि केही दिनअघि मात्रै अर्घाखाँची सिमेन्टले आफ्नो उत्पादन भारत निर्यात गरेको थियो ।

प्रतिक्रिया

One thought on “निजी उद्योगले सिमेन्ट निर्यात गर्दैगर्दा सरकारी उद्योग किन बन्द हुँदैछ ?

  1. किनभने गठबन्धनले दलाललाई प्रमुख बनायो । उसको काम भ्रष्टाचार गर्ने, निजीसँग कमिशन खाएर उद्योग बन्द गर्ने हो । अब एनटिसीलाई पनि डुबाउँदैछ ठगबन्धनले नियुक्त गरेको अर्क‍ दलालले । गोकुलले थर्काएर सुधारेर राम्रो अवस्थामा ल्याएका थिए । फोर जि सुरू गर्नै नदिने, गर्दै नगर्ने निजी एनसेलेक‍ो कमिशनमा । त्य‍ो बास्कोटाले त‍ोडिदिए र यति समयभित्र फोर जि सम्पन्न नगरे कारवाही गर्छु भनेपछि फटाफट काम भयो । तत्कालिन एमडि अधिकारी पनि राम्रो मान्छे ।ठगबन्धन फेरि आएमा देश २० वर्ष पछि धकेलिन्छ । यो आरोप लगाउन भनेको होईन । उनीहरूको मानसिकता अपराधिक छ । जे पनि गर्ने । त्यसैले भनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *