भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव हुने – Nepal Press

भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव हुने

रुपन्देही । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ गरिने भएको छ । महोत्सव सम्पादन समितिको बैठकले मंसिर २३ देखि पुस ४ गतेसम्म महोत्सव गर्ने निर्णय गरेको हो ।

संघका महासचिव विजय पाण्डेले भैरहवाको अञ्चलपुरस्थित संघका सल्लाहकार तथा उद्योगी सीताराम उप्रेतीको निजी जग्गामा महोत्सव आयोजना गरिने बताए । उक्त स्थानमा यसअघि पनि मेला महोत्सव गरिएको थियो ।

भैरहवामा मेला महोत्सवका निम्ति स्थानको अभाव छ । यसमा राज्यको ध्यान पुग्न नसकेकाले मेला महोत्सवको आयोजनामा धरै कठिनाइ भएको संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले बताए ।

संघले आयोजना गरेको यो महोत्सव आठौं संस्करण हो । सम्पादन समितिको बैठकले पारिवारिक प्रवेश टिकटको व्यवस्था गर्ने निर्णय गरेको छ । पारिवारिक प्रवेश टिकट सामान्य प्रवेश टिकटभन्दा कम मूल्यको हुनेछ । सामान्य टिकट ५० रुपैयाँ कायम गरिएको छ । तिहारलगत्तै पत्रकार सम्मेलन गरी प्रचारप्रसारलाइ तीव्र बनाउने निर्णय भएको प्रचारप्रसार समितिका संयोजक कृष्णप्रसाद घिमिरेले बताए ।

मेला सञ्चालन गर्न ३२ वटा विभिन्न समितिलाई सक्रिय बनाउने साथै संघका सम्पूर्ण शुभेच्छुक, सहयोगी तथा सदस्यहरुलाई महोत्सव सफल बनाउनका निम्ति तिहारपश्चात भेलाको आयोजना गरी सुझाव संकलन गर्नेसमेत निर्णय भएको महासचिव पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *