पूर्वअर्थमन्त्री पौडेल भन्छन्ः निजी क्षेत्रको घाँटी निमोठेर इतिहासको डरलाग्दो आर्थिक संकट – Nepal Press

पूर्वअर्थमन्त्री पौडेल भन्छन्ः निजी क्षेत्रको घाँटी निमोठेर इतिहासको डरलाग्दो आर्थिक संकट

रुपन्देही ।नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारबाट निजी क्षेत्रको घाँटी निमोठेर नै देश इतिहासकै डरलाग्दो आर्थिक संकटमा पुगेको बताएका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघले शनिबार बुटवलमा आयोजना गरेको उद्योगी तथा व्यवसायी भेलामा बोल्दै पौडेलले नाकाबन्दी, भूकम्प तथा कोरोना महामारीको अवस्थामा समेत नदेखिएको आर्थिक संकट अहिले देखिएको बताएका हुन् ।

‘सरकारको गलत आर्थिक नीतिका कारण नीजि क्षेत्र पलायन हुने तथा श्रमिकको घरमा आगो नबल्ने अवस्थामा आइपुगेको छ, नागरिक चरम मूल्यवृद्धिको चपेटामा परेका छन्, यसको सबै जिम्मेवारी सरकारको हो’ पौडेलले भने ।

उनले आफू अर्थमन्त्री हुँदा ४ दशमलव २ प्रतिशतमा रहेको मूल्यवृद्धि दर अहिले ८ दशमलव १ प्रतिशमा पुगेर दोब्बर वृद्धि भएको बताए । ‘अस्वभाविक रुपमा करको दर हेरफेर, बैंक ऋणको ब्याजदरमा उच्च वृद्धि लगायत कारणले नीजि क्षेत्रलाई सरकारबाटै आतंकित बनाउने काम भएको छ, यसको वास्तविकता सबै उद्योगीले थाहा पाउनुपर्ने हुन्छ’ नेता पौडेलले भने ।

रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका पौडेलले वर्तमान सरकारको असफलताका कारण मुलुक यो अवस्थामा पुगेको टिप्पणी गरे ।

विगतमा नेकपाको केपी शर्मा ओली नेतृत्वको सरकार ढलाएर अध्यादेशको सरकार बनाउने खेलले मुलुकमा अस्थिर राजनीतिको सुरुवात गर्नु नै आर्थिक संकटको पहिलो कारण भएको उनले बताए । गठबन्धनको नाममा सत्ता स्वार्थ र केही निहित व्यक्तिको स्वार्थपूर्तिका लागि अपनाइएको आर्थिक नीतिले मुलुकको उद्योग व्यवसाय ध्वस्त हुने अवस्थामा पुगेको उनले टिप्पणी गरे ।

बैंकको ब्याजदरमा उच्च वृद्धि गरेपछि आन्दोलनरत उद्योगी व्यवसायीहरुको मागप्रति ऐक्यवद्धता जनाउँदै उनले उनीहरुको माग पूरा गराउनका लागि आफ्नो साथ रहेको उल्लेख गरे । कोरोना महामारीले धरासायी भएका नीजि क्षेत्र तथा उद्योगी व्यवसायीलाई सरकारबाटै ढाडमा हान्ने काम भएको भन्दै पौडेलले मूल्यवृद्धि नियन्त्रण गर्न नसक्नु तथा ब्याजदर वृद्धिको कडा आलोचना गरे ।

एमाले पोलिटव्युरो सदस्य तथा रुन्देही क्षेत्र नम्बर २ ‘१’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार लिला गिरीले नीजि क्षेत्रको मागप्रति ऐक्यवद्धता जनाउँदै आर्थिक समृद्धिका लागि एमालेको नै सरकार बन्न आश्यक रहेको औंल्याए । सुरु गरेका पूर्वाधार तथा विकास निर्माणका योजनाहरु पूरा गर्नका लागि फेरी पनि एमाले सरकार आवश्यक रहेको बताउँदै उनले मतदानका लागि सबैलाई आह्वान गरे ।

यसैगरी रुपन्देही–२ ‘२’ का एमाले उम्मेदवार भोजप्रसाद श्रेष्ठले यहाँका उद्योगी व्यवसायीहरुको माग सम्बोधनका लागि एमाले सकारात्मक भएको बताए । वर्तमान सरकारबाट नीजि क्षेत्र तथा उद्योगी व्यवसायीले ठूलो अपेक्षा गर्नु बेकार भएको बताउँदै सरकार गठनका लागि आगामी मंसिर ४ मा एमालेको बहुमत आवश्यक रहेको उल्लेख गरे ।

उद्योगी व्यवसायीहरुको तर्फबाट नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष माधव नेपालले आगामी मंसिर ४ को निर्वाचनमा आफूहरुको एमालेलाई साथ रहेको बताए । सरकारले बैंक ब्याजदरमा उच्च वृद्धि गरी आतंक मच्चाएको गुनासो गर्दै उनले गठबन्धनको नेतृत्वमा बन्ने सरकारले उद्योगी व्यवसायीलाई फाइदा गर्दैन भन्ने प्रमाणित भैसकेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *