किङ्स लाउञ्जमा मूर्ख बने दर्शक, प्रितम आचार्य भन्दै अर्कै बालकले गाए गीत (भिडिओ) – Nepal Press

किङ्स लाउञ्जमा मूर्ख बने दर्शक, प्रितम आचार्य भन्दै अर्कै बालकले गाए गीत (भिडिओ)

काठमाडौं । दरबारमार्गस्थित किङ्स लाउञ्जले बाल गायक प्रितम आचार्यको नाममा अर्कै बालक स्टेजमा खडा गरेर दर्शकलाई मूर्ख बनाएको छ । घटना गत मङ्गलवारको हो ।

सामाजिक सञ्जालमा राखिएको भिडियोमा प्रितम आचार्य भन्दै एक अपरिचित बालकले बेसुरा ढंगले गीत गाएका छन् । उद्घोषकले बोल्दै गर्दा पृष्ठभूमिमा रहेको स्क्रिनमा समेत प्रितम आचार्यको ठूलो पोस्टर देखिन्छ । उक्त पोस्टरमा लेखिएको छ– वेलकम टु किङ्स लाउञ्ज प्रितम आचार्य ।

त्यसपछि किङ्स लजका कर्मचारी (?) ले एक मोटा घाटा बालकलाई हात समातेर स्टेजमा ल्याउँछन् । उद्घोषक भन्छन्– वेलकम टु स्टेज लज भेरी ट्यालेन्टेड एन्ड क्यूट व्वाइ प्रितम आचार्य । उनी हात मिलाएर नक्कली प्रितमलाई भन्छन्, ‘बाबु ठूलो भएछ है, झण्डै चिन्न सकिनँ । सारेगामपमा त सानै देखेको ।’

डुब्लीकेट प्रितमले सेलिब्रिटी शैलीमा दर्शकतिर फर्केर हात हल्लाउँछन् । एकजनाले उनलाई खादा ओढाइदिन्छन् । सामूहिक रूपमा सेल्फी पनि खिचिन्छ । त्यसपछि डुब्लीकेट प्रितमलाई माइक दिइन्छ ।

‘सबैलाई नमस्ते’ भन्दै उनले आफू भर्खरै भारत भ्रमणबाट फर्केको र स्वास्थ्य ठिक नरहेकाले गाउन नसक्ने बताउँछन् । स्टेजमा रहेका किङ्स लजका कर्मचारीसँग केही बेर साउती चल्छ । त्यसपछि उनी अलिकति गाउन तयार हुन्छन् ।

उनले हिन्दी गीत ‘सन्देशे आते है…’ का केही पंति गाउँछन् तर एकदमै बेसुरा ढंगले । त्यसपछि गला खराब भएको भन्दै स्टेजबाट हिँड्छन् । उनले गाएको गीतलाई अर्का कलाकारले निरन्तरता दिन्छन् । स्टेजपछाडिको स्क्रिनमा भने निरन्तर प्रितमकै तस्बिरहरू प्रदर्शन जारी रहन्छ ।

उनलाई बाहिर ल्याउँदै किङ्स लाउञ्जका कर्मचारीले कागती पानी पिलाउँछन् । पानी पिउँदै डुब्लीकेट प्रितम आफू दुई–तीन दिनपछि फेरि आएर गीत गाउने आश्वासन दिन्छन् । अनि आफू फेरि इन्डिया जान लागेको गफ पनि दिन्छन् ।

किङ्स लजको दाबी : हामी झुक्कियौँ

सबै दृश्यहरू हेर्दा योजनाबद्ध तवरले दर्शकलाई मूर्ख बनाइएको स्पष्ट हुन्छ । तर, किङ्स लाउञ्जले भने यस घटनामा आफूहरू झुक्किएको दाबी गरेको छ ।

किङ्स लाउञ्जका म्यानेजर महेश थापाले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै यस्तो दाबी गरेका हुन् ।

उनका अनुसार ग्राहक भएर आएका एक व्यक्तिले आफू प्रितम आचार्य भएको भन्दै गीत गाउन दिन अनुरोध गरेका थिए । आवश्यक परेमा प्रितम आचार्य भनेर आउने अञ्जान ग्राहकलाई भेटाइदिन सक्ने पनि उनको भनाइ छ ।

थापाले दिएको प्रष्टीकरण यस्तो छ :

हिजो ग्राहक भएर आउनु भएको एक व्यक्तिले म प्रितम आचार्य हुँ भनेर हाम्रो किङ्स लाउन्ज को स्टेजमा १, २ वटा गीत गाउन अनुरोध गर्नुभएको थियो, हामीले गाउने प्रतिभा भएका ग्राहकको अनुरोध अनुसार अवस्था हेरेर १, २ वटा गीत गाउन दिने र उहाँहरूको स्क्रिनमा फोटो भिडियो राखेर स्वागत गर्ने हाम्रो सुरु देखी कै चलन हो । हामीले उक्त म प्रितम भनेर आउने अन्जान ग्राहकको विज्ञापन गरेर व्यापारिक कार्यक्रम गरेको पनि होइन हामीसँग सधैँ नै आफ्नै हाउस ब्यान्ड छ, एक अन्जान ग्राहकले म प्रितम आचार्य हो भनेर स्क्रिनमा स्वागत गर्न र १, २ वटा गीत गाउन दिनु पर्‍यो भनेर अनुरोध गरेपछि हामीले दिएका हौ र हामी यस्तो सुविधा सबै ग्राहक लाई दिने गरेका पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छौ । हजुरहरु कोही पनि अन्योल मा नपर्न हुन अनुरोध छ । आवश्यक परेमा हामी उक्त प्रितम आचार्य भनेर आउने अन्जान ग्राहकलाई हजुरहरू सँग भेटाउने प्रयास गर्ने छौ ।

प्रितम आचार्यको आपत्ति

यस घटनाले आफ्नो ख्यातिमा असर गरेको भन्दै वास्तविक प्रितमले आपत्ति जनाएका छन् । सो कार्यक्रममा प्रितम आचार्य भनेर गीत गाउने व्यक्ति आफू नभएको उनको प्रस्टोक्ति छ ।

सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै प्रितमले न्यायको माग गरेका छन् ।

‘त्यो कार्यक्रम भएको समयमा म घरमै थिएँ,’ बुवा र आमासहित भिडियोमा देखिएका प्रितमले भनेका छन्, ‘गीत गाउने व्यक्तिको नाम प्रितम नभएको र थर पनि आचार्य नभएको जानकारी मलाई आइसकेको छ । यसरी एउटा कलाकारको नाम लिएर अर्कोलाई गाउन लगाउनु ठगी हो ।’

इटहरी घर भएका प्रितम भारतीय टेलिभिजनको रियालिटी शो सारेगामपको बाल संस्करणमा भाग लिएर चर्चामा आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *