अपूर्वको लागि आर्थिक सहयोग संकलन सुरु – Nepal Press

अपूर्वको लागि आर्थिक सहयोग संकलन सुरु

यदि यो देशमा बसेर बोलेको मूल्य चुकाउनुपर्छ भने हामी मूल्य चुकाउन तयार छौं- कमेडियन विशाल गौतम

काठमाडौं । नेपालभाषी समुदायमाथि ठेस पुग्ने गरी कमेडी गरेको आरोपमा स्ट्यान्डअप कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले हिरासतमा लिएदेखि सामाजिक सञ्जाल अपूर्वमय भएको थियो । बिहीबार अदालतले थुनछेकको बहसपछि उनलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । यसपछि अहिले माहोल झन तातेको छ ।

सार्वजनिक रूपमा माफी माग्दासमेत कमेडी गरकै आरोपमा एक कमेडियनलाई थुनामा राख्नु र यति ठूलो रकम घरौटी तिराउनु अन्याय भएको भन्दै अन्य कमेडियनहरुले अपूर्वको पक्षमा आवाज उठाएका छन् ।

यसै सिलसिलामा अर्का स्ट्यान्डअप कमेडियन विशाल गौतमले सबै कमेडियनहरु एकजुट भएर लाग्ने बताउँदै अपूर्वका लागि आर्थिक सहयोग संकलन सुरु गरेका छन् । अपूर्वको बुवाको नाम र खाता नम्बरसहित आफ्नो सामाजिक सञ्जालमार्फत उनले उक्त जानकारी दिएका हुन् ।

उनी भन्छन्, ‘अपूर्वमा के बित्यो होला त्यो उसलाई नै थाहा छ । भर्खरमात्र ऊ त्यति ठूलो रकम तिरेर धरौटीमा निस्केको छ । उसले त्यो रकम कसरी जुटायो त्यो उसको परिवार र उसलाई थाहा छ । हामीले उसले पैसा जुटाउन सकेन होला भनेर उसको लागि रकम उठाउन आटेका होइनौं । होला अपूर्वले तिर्न सक्ला, उसको बुवा मास्टर होलान् । कुरा पैसाको होइन । कुरा सर्पोटको हो । कुरा हामीले बोल्दा तिर्नपर्ने मूल्यको हो । यदि यो देशमा बसेर बोलेको मूल्य चुकाउनुपर्छ भने हामी मूल्य चुकाउन तयार छौं । हामी सबैजना कमेडियन मिलेर अपूर्वलाई सघाउनेछौं ।’

आफूले घोषणा गरेको आर्थिक सहयोग उठाउने कार्यमा आफूमात्र नभई आयुष श्रेष्ठ, आदर्श मिश्रा, पूजन अधिकारीलगायतका कमेडियनहरु पनि संलग्न रहेको उनले नेपाल प्रेसलाई जानकारी गराए ।

केही समयअगाडि अपूर्वमाथि नेपालभाषी समुदायको भावनामा चोट पुर्‍याउने गरी कमेडी गरेको आरोपमा उजुरी परेको थियो । उक्त उजुरीपश्चात अपूर्व पक्राउ परेका थिए । उनलाई अभद्र व्यवहारको कसुरमा म्याद थप गर्दै थुनामा राखिएको थियो ।

लामो म्याद थपाई र सामाजिक सञ्जालमा अपूर्वलाई तत्काल रिहा गर्नुपर्ने माग बढेपछि थुनछेकको बहस भएको थियो । अदालतले थुनछेकको बहसपछि साढे दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनी उक्त रकम बुझाएर छुटेका हुन् ।

प्रतिक्रिया

One thought on “अपूर्वको लागि आर्थिक सहयोग संकलन सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *