चुनाव खर्चका लागि विदेशबाट पैसा ल्याउने व्यवस्था मिलाइदिनू भन्दै राष्ट्र बैंकमा फोन – Nepal Press

चुनाव खर्चका लागि विदेशबाट पैसा ल्याउने व्यवस्था मिलाइदिनू भन्दै राष्ट्र बैंकमा फोन

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा चुनाव आउन अब ३० दिन बाँकी छ । उम्मेदवारहरूले यही बेला अधिक खर्च गर्ने गरेका छन् । उम्मेदवारहरूको खर्चको एउटा स्रोत चन्दा र सहयोग पनि हो । अहिले विदेशमा रहेका नेपालीहरूले आफू निकट वा आफू अनुकूलका उम्मेदवारलाई सहयोग गर्न चाहिरहेका छन् ।

विदेशमा बसेका नेपालीले पैसा उठाएर मोटो रकम पठाउन चाहेको तर कसरी पठाउने भन्ने अन्योलमा देखिएको राष्ट्र बैंकका उच्च अधिकारीले बताए । ती अधिकारीले त्यस्तो रकम ल्याउने व्यवस्था गरिदिन राष्ट्र बैंकमा पटक पटक फोन समेत आउने गरेको बताए ।

यद्यपि, ठुलो रकम नेपाल भित्र्याउँदा स्रोत खुलाउनु पर्ने भएकाले चन्दा भनेर ल्याउन नमिल्ने ती अधिकारीको भनाइ छ ।

सहयोग गर्न चाहनेले आफ्नो परिवारलाई रेमिट्यान्सको रूपमा पठाउन मिल्ने र यतैबाट उम्मेदवरले उसको परिवारसँग लिन सक्ने भए पनि उम्मेदवारकै लागि अर्थात् चुनावमै लागि भनेर मोटो रकम ल्याउन नपाइने उनको भनाइ छ ।

राष्ट्र बैंकबाट ल्याउन नपाइने भएपछि त्यस्ता रकम गैरकानूनी तरिकाले भित्रिएको आशंका पनि राष्ट्र बैंकले गरेको छ । व्यापारी पृथ्वी शाहका नाममा विदेशबाट शंकास्पद रूपमा आएको ४० करोड रुपैयाँ राष्ट्र बैंकले छुटाएपछि हंगामा भएको थियो । यहीबाट राष्ट्र बैंक हच्किएको छ, ती अधिकारीले भने ।

निर्वाचन आयोगले उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकिएको छ । तर त्यो भन्दा कैयौँ गुणा बढी खर्च हुने गरेको उम्मेदवारहरू आफै भन्ने गरेका छन् ।

एउटा चुनाव लड्न करोड भन्दा कमले नपुग्ने भन्दै सार्वजनिक स्थानमा नेताहरूले भन्दै हिँडिरहेका पनि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *