पोखरामा माधव नेपालले प्रचण्डको पार्टीको नाम बिर्सिएपछि… – Nepal Press

पोखरामा माधव नेपालले प्रचण्डको पार्टीको नाम बिर्सिएपछि…

पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पोखरामा जारी सत्तारुढ गठबन्धनको प्रादेशिक भेलामा सम्बोधनको सुरूमा माओवादी केन्द्रको नाम भन्दा गलत उच्चारण गरे ।

‘एकीकृत माओवादीका अध्यक्ष’ भन्दै प्रचण्डलाई सम्बोधन गरेका नेपालले पछि आफूलाई सच्याए । आफैँलाई सच्याउने क्रममा उनले गठबन्धनमा धेरै पार्टी भएकाले पार्टीहरूको नाम नै बिर्सने गरेको प्रष्टीकरण दिए ।

‘नाम नै बिर्सने रहेछ, यति धेरै पार्टी छौं । कुन एकीकृत, कुन केन्द्रीय नै बिर्सिने,’ नेपालले भने ।

पाँचदलीय गठबन्धन नेकपा एमालेले भनेजस्तो ‘अप्राकृतिक’ नभएको भन्दै संविधान रक्षार्थ बनेको गठबन्धन प्राकृतिक र पवित्र भएको उनको दाबी थियो । गठबन्धनको ध्यान सत्तामा पुग्ने मात्र नभई जनतालाई न्याय दिने, सुखी जीवनको प्रत्याभूति, रोजगारी, उत्पादकत्व बढाउन लाग्ने उनले बताए ।

रोजगारी दिन नसके लुटेर विदेश पठाउने नेताहरू भएको भन्दै उनीहरूलाई कारबाही गर्नुपर्ने नेपालको भनाइ छ ।

‘देशभित्र रोजगारी दिँदा पनि घुस खाने, बाहिर पठाउन पनि घुस खाने प्रवृत्ति छ,’ नेपालले भने ।

नेकपा एमाले र जनता समाजवादी पार्टीलगायतको गठबन्धन प्रतिगामी गठबन्धन भएको उनको आरोप छ । विकासका नाममा विनाश गर्न उनीहरू एकजुट भएको भन्दै नेपालले भने, ‘त्यो भ्रष्टाचारमा चुर्लुम्म डुब्ने, प्रतिगमनकारी गठबन्धन हो,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर