नवौं राष्ट्रिय खेलकुद : कस्तो रह्यो गण्डकीको प्रदर्शन ? – Nepal Press

नवौं राष्ट्रिय खेलकुद : कस्तो रह्यो गण्डकीको प्रदर्शन ?

पोखरा । २८ असोजबाट पोखरामा सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिएको छ । ३९ वर्षपछि गण्डकीमा आयोजित प्रतियोगितामा घरेलु टोली गण्डकीले ऐतिहासिक प्रदर्शन गरेको छ । नवौं राष्ट्रिय खेलकुदमा गण्डकीले ३२ स्वर्णसहित १२० पदक जितेको छ । राष्ट्रिय खेलकुदको नवौं संस्करणसम्म गण्डकीले पहिलो पटक ३२ स्वर्ण जित्न सकेको हो ।

नवौंमा विभागीय टोलीपछि सबैभन्दा बढी स्वर्ण जित्ने टोली गण्डकी प्रदेश बनेको छ । प्रादेशिक हिसाबमा सबैभन्दा बढी स्वर्ण जितेको गण्डकीको प्रदर्शन ऐतिहासिक हो । यसअघिका संस्करणमा गण्डकी बागमती प्रदेशसँग पछि पर्ने गरेको थियो ।

२०३८ मा आयोजित पहिलो संस्करणको राष्ट्रिय खेलकुदमा गण्डकीले ८ स्वर्ण सहित २४ पदक जितेको थियो । दोस्रोमा २१ स्वर्ण, तेस्रोमा ७ स्वर्ण, चौंथोमा १३, पाँचौंमा २०, छैटौंमा २७, सातौंमा ८, आठौंमा १२ स्वर्ण जितेको गण्डकीले नवौंमा ऐतिहासिक ३२ स्वर्ण जितेको हो ।

नवौंमा गण्डकीले सबैभन्दा बढी स्वर्ण आर्चरीमा जितेको छ । आर्चरीमा ७ स्वर्ण जितेको गण्डकीले आइटिएफ तेक्वान्दोमा ५, फुल कन्ट्याक्ट कराँतेमा ४ स्वर्ण जितेको छ । शारीरिकक सुगठन, लङ टेनिस र प्याराग्लाइडिङमा ३/३ स्वर्ण जितेको गण्डकीले स्क्वासमा २ र एथ्लेटिक्स, बास्केटबल, बक्सिङ, साइक्लिङ, ह्यान्डबलमा १/१ स्वर्ण जित्न सक्यो ।

नवौं राष्ट्रिय खेलकुद सकिएपछि प्रदेश खेलकुद परिषद् गण्डकीका निवर्तमान सदस्य सचिव तेज गुरुङले गण्डकीले ऐतिहासिक स्वर्ण जित्नु प्रदेशका लागि गौरव भएको बताए । ‘ऐतिहासिक स्वर्ण जितेका छौं, खुशी त छौं नै । यो अब अर्को पटकका लागि चुनौती हो, अर्कोमा थप राम्रो गर्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर