विनोद चौधरीको चुनावी चटक ! – Nepal Press

विनोद चौधरीको चुनावी चटक !

काठमाडौं । नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीलाई सामान्यतया आममान्छेले भेट्नै पाउँदैन । एप्वाइन्टमेन्ट लिएर भेट्न जानेहरुले पनि थुप्रै चरणको सेक्युरिटी पार गरेर जानुपर्छ । तर, अहिले उनै चौधरी सर्वसाधारण जनताको घर–दैलोमा आफैं उपलब्ध छन् ।

केही दिनयता सामाजिक सञ्जालमा भाइरल भइरहेका उनका तस्बिरहरु तपाईंले पनि हेर्नुभएको होला । उनी कतै मोटरसाइकलको पछाडि बसेर यात्रा गरिरहेका हुन्छन् । कतै गाउँबासीहरुसँगै बसेर टपरीमा भात खाइरहेका भेटिन्छन् । अनि कतै बुढापाकाहरुलाई धनुष्टंकार नमस्कार गर्दै बातचित गरिरहेको देखिन्छ ।

ओहो ! देशकै सबैभन्दा धनाढ्य व्यक्ति भएर पनि कति सरल ? कति मिजासिला ? नेताहरुले उनीबाट सिकुन् ? यस्ता कमेन्टहरु पनि सामाजिक सञ्जालमा देख्न पाइएको छ । तर, जसले नेताहरुको चुनावी फन्डाहरु बुझेका छन्, उनीहरुका लागि चाहीँ चौधरीको यो शैली मतदाता प्रभावित पार्ने ‘कलात्मक नाटक’ सिवाय केही होइन ।

चौधरीलाई आगामी प्रतिनिधिसभा चुनावमा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले नवलपरासीको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको छ । सत्तारुढ गठबन्धनका दलहरुको समर्थन उनले पाउने छन् । निजी क्षेत्रको सबैभन्दा ठूलो व्यापारिक साम्राज्यका मालिक यसरी राजनीतिमा उत्रिनु र चुनाव लडेर सांसद बन्न लालायित हुनु आफैंमा प्रश्नयोग्य विषय हो । आफ्नै खर्बौंको उद्योग-व्यवसायलाई समय दिन छोडेर संसदभित्र पस्ने रहर र जाँगर किन पलायो ? उनका लागि के आकर्षण छ राजनीतिमा ? यी प्रश्नहरु जोकोहीको मनमा उठ्छन् नै ।

चौधरी यसअघि नै दुईपटक सांसद बनिसकेका छन्, त्यो पनि पार्टी फेरि–फेरि । सक्रिय राजनीतिमा पछि आए पनि विगतदेखि नै उनी शक्तिशाली पार्टी र नेताहरुको ओत लाग्दै आएका थिए । नेताहरुका आर्थिक मनोकामना सिद्द गरिदिएर आफ्ना व्यापारिक स्वार्थको पूर्ति गर्दै आएको आरोप चौधरीमाथि लाग्ने गर्छ । राजनीतिमा लागेर जेलनेल भोगेका, अनि संघर्षको लामो पृष्ठभूमि भएका नेताहरुलाई पन्छाउँदै पार्टीको टिकट हत्याउने उनलाई ‘राजनीतिका तरमारा’ को संज्ञा पनि दिने गरिएको छ ।

आफ्नो राजनीतिक पहुँच प्रयोग गरेर चौधरीले कसरी व्यवसायिक स्वार्थ सिद्दी गर्दै आइरहेका छन् भन्ने पछिल्लो दृष्टान्त अहिलेको सरकारले ल्याएको बजेट नै हो । चालु आवको बजेटमा विद्युतीय गाडीको कर ह्वात्तै बढाइयो, तर चौधरीले आयात गर्ने गाडीलाई जोगाएर । विद्युतीय गाडीमा १० प्रतिशत मात्रै कर लाग्दै आएकोमा अर्थमन्त्री जनार्दन शर्माले १ सय देखि २ सय किलोवाटभन्दा बढी इन्जिन क्षमता भएका गाडीमा भन्सार र अन्तःशुल्क ६० प्रतिशतसम्म पुर्याए । यस्तै, सयदेखि २० सय किलोवाटसम्मका सवारीमा पनि १५ प्रतिशतबाट बढाएर ३० प्रतिशत भन्सार तोकियो । तर, चौधरी ग्रुपले आयात गर्ने १ सय किलोवाट भन्दा कमका विद्युतीय गाडीलाई अन्तशुल्क र भन्सार मिनाहा गरिएको छ । चौधरी समूहले नेपालमा १ सय वाटभन्दा कम क्षमताको नेटा भी गाडी नेपालमा ल्याएर बिक्री-वितरण गर्छ ।

बजेट भाषणको अघिल्लो रात अर्थ मन्त्रालयमा घुसपैठ गराएर करका दरहरु हेरफेर गराइएको घटनामा पनि चौधरीको नाम मुछिएको थियो । उक्त घुसपैठका मुख्य आरोपी नासु रघुनाथ घिमिरे चौधरी ग्रुपका कर्मचारी भएको समाचारहरु आएका थिए । तर, संसदीय समितिले सुनपानी छर्किएर उक्त प्रकरण राफसाफ गरिसकेको छ ।

पार्टीको भूगोलमा योगदान दिएका नेताहरुलाई पन्छाएर चौधरीलाई नवलपरासीको १ र २ नम्बरबाट सिफारिस गर्दा स्थानीय कांग्रेसमा तीव्र असन्तुष्टि छाएको थियो । तर, बालुवाटारको ‘कोर एरिया’ बाटै हुकुम प्रमांगी आइसकेपछि जिल्ला नेतृत्वको के जोर चल्थ्यो । त्यसमाथि उनी फस्र्ट लेडीकै आर्थिक साझेदारका रुपमा चिनिन्छन् । नवलपरासी-१ बाट पाँचौं नम्बरमा सिफारिस भएका चौधरीलाई बालुवाटारले १ नम्बरमा राखेर टिकट थमाएको छ ।

पछाडि फर्केर हेर्ने हो भने चौधरीलाई राजनीतिमा स्पेस दिने काम नेकपा एमालेले गरेको हो । २०४६ सालको जनआन्दोलनपछि चौधरी एमालेका केही नेताहरुसँग नजिक भएका थिए । २०५० सालमा उनलाई एमालेले आर्थिक नीतिको मस्यौदा बनाउने टिममा राख्यो । २०६४ सालमा आइपुग्दा उनी एमालेबाट समानुपातिक कोटामा संविधानसभा सदस्यमा मनोनित भए ।

एमालेले २०७० सालको चुनावमा उनलाई नवलपुरबाट उठाउन खोजेको थियो । तर, उनले प्रत्यक्ष चुनाव लड्न चाहेनन् । २०७४ सालको संसदीय चुनाव अगाडि उनी एमालेलाई कुहिनाले हान्दै कांग्रेस प्रवेश गरे । कांग्रेसले तत्काल उनलाई समानुपातिक सांसद पुरस्कार दियो । कांग्रेसको चौंधौं महाधिवेशनमा चौधरी मधेसी कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भए । कमजोर वर्गको उत्थानका लागि ल्याइएको समावेशी कोटाको अवधारणाकै विद्रुपीकरण भएको भन्दै चौधरीको उम्मेदवारीलाई लिएर निकै आलोचना भएको थियो । यद्यपी, उनी केन्द्रीय सदस्य भएरै छाडे ।

दुईपटक समानुपातिक सांसदको अनुभव चाखिसकेपछि चौधरीलाई प्रत्यक्ष चुनाव लड्ने रहर पलाइदियो । उनले रहर गरेपछि कांग्रेसले नपुर्याउने कुरै भएन । टिकट त सजिलै पाइहाले । तर, जित्न चाहीँ बाँकी नै छ । चुनावी दौडाहामा रहेका चौधरी यतिबेला मतदाता रिझाउन अनेक उपाय गरिरहेका छन् । जुम्लाहात गर्दै मतदाताको घर-घर चहार्नु त नर्मल नै भइगयो, स्थानीयवासीसँग घुलमिल हुँदै आफूलाई बहुतै ‘दरियादिल’ को आदमीका रुपमा पेस गरिरहेका छन् । र, आफ्नो यो प्रपोगाण्डालाई मिडिया र सोसल मिडियामार्फत व्यापक हल्लाखल्ला गराउन पनि सफल भएका छन् ।

के भोलि चुनाव जितेर सांसद भएपछि फेरि जनताप्रति उनको रुझान यस्तै रहला ? उनी फेरि जनताको घरदैलोमा भेटिएलान् ? के उनलाई भेट्न भोलिका दिनमा सेक्युरिटी क्लीयरेन्सका कैयौं चरणहरु पार गर्नु नपर्ला ?

अनि, सांसदका रुपमा चौधरीबाट के आशा गर्न सकिएला ? संसद भनेको देशको नीति निर्माण गर्ने थलो हो । चौधरी भनेका व्यापारी हुन् । नीति निर्माण गर्ने थलोमै प्रदेश पाउने ठूला व्यापारीहरुले आफ्नै उद्योग प्रतिष्ठानलाई पोस्ने खालका कानून बनाउने बाहेक अरु के ध्याउन्न राख्लान् ? चौधरीको हकमा यही प्रश्न उब्जिन्छ ।

त्यसो त चौधरीलाई यस क्षेत्रबाट चुनाव जित्न सजिलो भने छैन । नवलपरासीका हस्ति नेता हृदयश त्रिपाठी उनका बलिया प्रतिस्पर्धी हुन् । त्रिपाठीले २०७० सालमा बाहेक हरेक चुनावमा यो क्षेत्रबाट जित्दै आएका छन् । तर, आफूलाई चार दलीय गठवन्धनको समर्थन रहेकाले चौधरी निकै आशावादी देखिन्छन् ।

 

प्रतिक्रिया

One thought on “विनोद चौधरीको चुनावी चटक !

  1. नेपालमा पाच दिन चुनाव अघी जनताको घर दैलो धाउने बाँकी पाच वर्ष हराउने राजनीति गर्ने बाटै यो देश आज सम्म गरीब माथी गरीब हुदै गयको हो ।

    विनोद चौधरी आज जौई ठुलो धनाढ्य व्यपारी भने पनी यो देशको ठुलो ठुलो बैङ्क को सबै भन्दा धेरै ऋण लिने ऋणी हरु मध्य उनी पनी ऐक हुन । पछिल्लो समय राजनीति मा उनी आउनु भनेको उनी अब जौई घपला गरेको छन ति बाट बच्नु नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *