निर्वाचन आयोगको स्पष्टीकरणपछि बन्द हुने भयो लघु बीमाको लाइसेन्स वितरण – Nepal Press

निर्वाचन आयोगको स्पष्टीकरणपछि बन्द हुने भयो लघु बीमाको लाइसेन्स वितरण

काठमाडौं । बीमा समितिले लघु बीमाको लाइसेन्स प्रक्रियाका सबै काम रोक्ने भन्दै निर्वाचन आयोगलाई जवाफ पठाएको छ ।

निर्वाचन आचारसंहिताको कारण लघु बीमाको लाइसेन्स वितरण कार्य र प्रस्ताव मूल्याङ्कनसम्बन्धी कार्य रोक्ने निर्णय गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

केही दिनअघि आयोगले बीमा समितिसँग चुनावका वेला कुन उद्देश्यले लघु बीमाको लाइसेन्स वितरण गर्न लागिएको हो भन्दै स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरण मागेसँगै समितिले लाइसेन्सको सबै प्रक्रिया अहिलेलाई रोक्ने निर्णय गरी आयोगमा पत्र पठाएको हो । समितिले आयोगमा बुझाएको स्पष्टीकरणपत्रमा सरकारको बजेटमै लघु बीमाको लाइसेन्स वितरणसम्बन्धी व्यवस्था भएको र सोहीअनुसार लाइसेन्सका लागि आवेदन माग गरिएको बताएको छ ।

निर्वाचन आचारसंहिता लागु हुनुअघि नै प्रक्रिया सुरु गरिएको र निर्वाचन आचारसंहिता सुरु भएपछि भने प्रस्ताव र मूल्यांकनको प्रक्रिया रोकिएको व्यहोरा उल्लेख गरिएको समितिका कार्यकारी निर्देशक पौडेलले बताए । बीमा समितिले गत भदौ १० गते सातै प्रदेशमा लघु बीमा खोल्ने उद्देश्यका साथ आवेदन माग गरेको थियो । करिब ३ दर्जन लघु बीमा कम्पनीले अनुमतिका लागि आवेदन दिएका छन् ।

लघु बीमा कम्पनीको लाइसेन्स दिँदा समितिले एउटा कम्पनी बराबर ५० हजार शुल्क असुल्छ । निर्वाचनको वेला रकम उठाउन सरकारले लाइसेन्सको फण्डा ल्याएको भन्दै आलोचना भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *