गायिका बुनु उप्रेतीमाथि छिमेकी महिलाको समूहद्वारा निर्घात कुटपिट – Nepal Press

गायिका बुनु उप्रेतीमाथि छिमेकी महिलाको समूहद्वारा निर्घात कुटपिट

काठमाडौं । ललितपुरको लुभुमा गायिका बुनु उप्रेतीमाथि छिमेकी महिलाहरु मिलेर निर्घात कुटपिट गरेका छन् । लछारपछार गर्दै कुटपिट गरेको भिडियो सामाजिक सन्जालमा भाइरल छ।

भिडियोमा उप्रेतीबाहेक एक किशोरीमाथि पनि लछारपछार भइरहेको देखिन्छ। समूहको आक्रमणमा पिटाई खाने ती किशोरी उप्रेतीकी छोरी भएको बुझिएको छ।

आफ्नै घरमा बसिरहेको अवस्थामा शनिबार छिमेकी आएर आफूमाथि कुटपिट भएको भन्दै उप्रेतीले प्रहरी समक्ष बताएकी छिन् । महानगरीय प्रहरी वृत्त सातदोबाटोमा सोमबार दुवै पक्षलाई राखेर छलफल गराएको थियो ।

ललितपुर प्रहरी कार्यालयका प्रवक्ता सुधिर शाहीले दुवै पक्षलाई राखेर छलफल गराइएको बताए । प्रहरीका अनुसार उप्रेती आफूमाथि आक्रमण गर्नेलाई कारबाही हुुनुपर्ने पक्षमा अडिग रहेकी थिइन् । एसपी शाहीले छलफलमा सहमती नभएको र उप्रेती भोलि आएर निर्णय दिन्छु भन्दै उठेर हिँडेको बताए ।

प्रहरीका अनुसार कुटपिट उप्रेतीमाथि भएपनि प्रहरीमा निवेदन भने आक्रमण गर्ने छिमेकी महिलाहरुको समूहले दिएका थिए । आइतबार उप्रेतीलाई छलफलका लागि बोलाइएपनि नआएपछि सोमबार प्रहरी पठाएर उनलाई ल्याएको बुझिएको छ ।

छलफलमा छिमेकी महिलाहरु ठूलो समूहमा आएका थिए भने पिटाई खाने उप्रेतीको पक्षमा उनीसहित दुई जना थिए । प्रहरीले कुटपिटमा उप्रेतीले जाहेरी दिए आवश्यक कारवाही अगाडि बढाइने जनाएको छ ।

सातदोबाटो प्रहरी वृत्त प्रमुख मदन केसीले भिडियोमा पिटाई खाएको देखिएपनि उप्रेती निवेदन दिन नआएको बताए । उनका अनुसार घर अगाडिको बाटो र फोहोर फाल्ने विषयमा उप्रेती र छिमेकी महिलाहरुको समूहबीच लामो समयदेखि विवाद रहेको प्रारम्भिकरुपमा देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *