मन्त्रीबाट हटेको चार महिना लाग्दा पनि दुई सरकारी गाडी रेणु यादवकै कब्जामा – Nepal Press

मन्त्रीबाट हटेको चार महिना लाग्दा पनि दुई सरकारी गाडी रेणु यादवकै कब्जामा

काठमाडौं । केही नेता चुनावका बेला भन्छन्- म राज्यबाट पाइने कुनै सेवा सुविधा लिन्नँ, बरु तलब भत्ता समेत जनतालाई बाँड्छु । तर तीनै नेता पदमा हुँदा पाएको सुविधासमेत फिर्ता नगरी लाजै पचाउँछन् ।

जनता समाजवादी पार्टी (जसपा) की नेता तथा पूर्व भौतिक पुर्वाधार तथा यातायातमन्त्री रेणु यादवले मन्त्री पदबाट हटेको तीन महिना पुगिसक्दा समेत मन्त्रालयबाट लगेका दुईवटा सवारी साधान फिर्ता गरेकी छैनन् ।

यादवले मन्त्री हुँदा झण्डावाल गाडीबाहेक अरु दुईवटा सरकारी गाडी लिएकी थिइन् । मन्त्री हुँदा लिएको २ वटा गाडी मन्त्रीबाट हटेको लामो समय हुँदासमेत यादवले २ वटै सरकारी गाडी प्रयोग गरिरहेको मन्त्रालय स्रोतले जनाएको छ ।

पूर्वमन्त्रीले सरकारी गाडीलाई सरकारी कार्यालयमा नै पार्किङ गरेर राख्ने गरेकी छन् । पूर्वमन्त्री यादवले एमजीको प्रदेश ३-०१ ००२ झ ५२३४ नम्बरको गाडी अहिले पनि आफूले नै प्रयोग गरिरहेकी छिन् । यो गाडी नयाँ बानेश्वरको यातायात व्यवस्था कार्यालयको पार्किङमा नै राख्ने गरिएको छ ।

यादव यातायात कार्यालय नजिकै घरमा बस्ने गरेकाले पार्किङ अपुग हुँदा सोही कार्यालयमा गर्ने गरिएको छ । उनले अर्काे एउटा सरकारी गाडी पनि प्रयोग गरिरहेकी छन् ।
उनी २०७८ असोज २२ गते नियुक्त भएकी थिइन् । यादवपछि २०७९ असार २० गते नियुक्त भएका मोहम्मद इस्तियाक राई पनि हटिसकेका छन् । केही दिन अघि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका मन्त्री हटाएका थिए ।

अहिले प्रधानमन्त्रीले नै भौतिक पूर्वाधार मन्त्रालय पनि सम्हालेका छन् । पूर्वमन्त्री यादवले भने आफूले सरकारी गाडी छाडिसकेको दाबी गरिन् । उनले भनिन्, ‘मन्त्रीबाट हटेपछि सरकारी गाडी प्रयोग गर्ने कुरा हुँदैन गरेको पनि पनि छैन् । यस विषयमा अहिले धेरै बोल्ने समय छैन । चुनाव लागेकाले म जिल्लामा आएको छु ।’

मन्त्रालयका एक अधिकारीका अनुसार यादवले सरकारी गाडीमा ड्राइभर पनि राखेकी छन् । यातायात व्यवस्था विभागमा गाडी ल्याएर राखिने गरेको छ । यसबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपाल पूर्वमन्त्रीले गाडी फिर्ता नगरेको कुरा मन्त्रालयमा पनि उठेको बताए ।

उनले भने, ‘हामीले पनि पूर्व मन्त्री रेणुकारी यादवले गाडी फिर्ता नगरेको भन्ने कुरा सुनेका छौं । तर यस विषयमा मैले के हो भन्ने राम्रोसँग बुझेको छैन् । गाडी फिर्ता नगरेको भन्ने कुरा नै छ । यस विषयमा के रहेछ म बुझ्नेछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *