नवौँ राष्ट्रिय खेलकुद : भारोत्तोलनमा पुलिसलाई चौथो स्वर्ण – Nepal Press

नवौँ राष्ट्रिय खेलकुद : भारोत्तोलनमा पुलिसलाई चौथो स्वर्ण

पोखरा । नेपाल पुलिस क्लबले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा चौथो स्वर्ण थपेको छ । सोमबार भएको पहिलो खेलमा महिला ५५ केजी तौल समूहतर्फ पुलिसकी टीकामाया गुरुङले स्वर्ण जितेकी हुन् । यसअघि आइतबारको खेलमा पुलिसले ३ स्वर्ण र नेपाल आर्मीले १ स्वर्ण जितेका थिए ।

टीकामायाले स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४० केजी भार बहन गर्दै स्वर्ण जित्न सफल भएको नेपाल भारत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए ।

यस्तै, नेपाल आर्मीकी प्रभा थारुले न्याचमा ५८ र क्लीन एण्ड जर्कमा ७१ गरी कुल १२९ केजी भार उठाउँदै रजत जितिन् भने लुम्बिनी प्रदेशकी कृष्णकला विष्टले कांस्य जितिन् । उनले स्न्याचतर्फ ५६ र क्लीन एण्ड जर्कमा ७२ गरी कुल १२८ केजी तौल उठाउन सकिन् ।

उनी प्रभाको तुलनामा १ केजीमात्र भार कम उठाउँदा कांस्यमा सीमित भएकी हुन् । प्रतियोगितामा १२ जना खेलाडीले भाग लिएका थिए ।

पोखरा उद्योग वाणिज्य संघमा भएको प्रतियोगितामा दोस्रो दिन ४ स्वर्णको छिनोफानो हुनेछ । सोमबार नै महिला ५९, पुरुष ६७ र ७३ केजी तौल समूहमा खेल हुनेछ ।

कात्तिक २ सम्म चल्ने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०÷१० इभेन्टमा खेल हुनेछ ।

उद्घाटनको दिन पुलिसका मुई लामाले भारोत्तोलनमा राष्ट्रिय रेकर्ड कायम गरे । उनले ६१ केजी तौल समूहमा भएको स्पर्धामा स्न्याचमा ९६ केजी भार बहन गरी उनले आर्मीका तुलाराम महताको रेकर्ड तोडेका हुन् । लामाले क्लीन एण्ड जर्कमा ११६ सहित कुल २१२ तौल उठाउँदै स्वर्ण जितेका हुन् ।

रजत जितेका नेपाल आर्मीका राजु चौधरीले क्लीन एण्ड जर्कमा आफ्नै रेकर्ड तोडे । उनको नाममा १२० केजी रहेकोमा आइतबारको स्पर्धामा १२१ केजी तौल भार बहन गर्दै रेकर्ड ब्रेक भएको हो । उनले स्न्याचतर्फ ८७ केजीसहित कुल २०८ भार बहन गरेका थिए ।

यसअघि, महिला ४९ केजी तौल समूहमा नेपाल पुलिसकी संगीता राई, पुरुष ५५ केजी तौल समूहमा आर्मीका तुलाराम महतो र महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरा मोती थारुले स्वर्ण जितिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर